Comments Add Comment

दुलेसँगै बस्यो दिल (फोटो फिचर)

१९ मंसिर, दाङ । नेपालको पर्यटकीय क्षेत्र भनेर चर्चामा नआएको तर सम्भावनायुक्त नयाँ–नयाँ ठाउँमा घुम्न मन पराउँछु म । यही रहरका कारण गएको तिहारछेक म पूर्वीरुकुमको मैकोट पुगेँ । किनभने पुथा हिमालसँग साक्षात्कार हुने रहर थियो मेरो ।

नेपालका अरु जिल्लाका हिमाल त प्राय चर्चामा आइरहन्छन् तर रुकुमको हिमाललाई नजिकबाट नियाल्नु थियो मलाई । संयोग कस्तो भने हामी बास बसेको दुले भन्ने स्थानमा हिउँ पर्यो । त्यो स्थानमा हिमपात अप्रत्याशित थियो । यो वषकै पहिलो हिमपातमात्र थिएन, हिउँ वर्षीरहेको प्रत्यक्ष दृष्य मेरो जीवनकै पहिलो अनुभव थियो ।

यो यात्रा वर्णनको सार यत्ति हो । अब म पुथा खोज्दै मैकोटसम्म पुगेको यात्रा संस्मरण विस्तारमा उल्लेख गर्छु ।

सडक सञ्जाल पुगेको हुँदो हो त पूर्वीरुकुमको मैकोट म उहिल्यै पुगिसकेको हुन्थें । यसपालि घरमा तिहार पनि नभएकाले हामी पारिवारिक भ्रमणका लागि मैकोट जाने निधो गर्यौं । मैकोट दुर्गम पहाडी क्षेत्र, त्यसमा पनि चिसो बढ्दै थियो । अर्को कुरा तकसेराभन्दा अगाडिको बारेमा कुनै जानकारी थिएन । केही वर्ष अघिदेखि फेसबुकमा जोडिनुभएका पुथा माविका प्रधानाध्यापक हस्तिमान पुन सरसँग त्यहाँ पुग्नेबारे सम्पूर्ण जानकारी लिएँ ।

हामी दुई दाजुभाइको आठ जनाको परिवार पुथा जाने निश्चित गर्यौं । हामी औषधि व्यवसायी पनि भएकाले दुर्गममा ठाउँमा जाँदा केही औषधि पनि लगेर आफ्नो सीप र योग्यताअनुसार त्यस ठाउँका जनतालाई स्वास्थ्य सेवा दिने विचार गरेर वडा कार्यालयको समन्वयमा औषधि पनि तयार गर्यौं । सबै तयारी पूरा गरेर कात्तिक २७ गते विहान ९ बजेबाट हाम्रो यात्रा सुरु भयो । दाङको सदरमुकाम घोराहीबाट रुकुमको मैकोटका लागि प्रस्थान गर्यौं ।

सहिदमार्ग भएर होलेरी, तिला, घर्तीगाउँ, दुईखोली हुँदै रोल्पाको थबाङ पुग्दा झिसमिसे साँझ परिसकेको थियो । पहिलो दिन थबाङमै बास बस्ने हाम्रो पूर्वयोजना थियो । थबाङ ठूलो गाउँ पुग्दा मित्र अमित र उदय सडकमा हामीलाई लिन आइपुग्नु भएको थियो । उहाँहरुकै सहयोगमा हामी थबाङकै एसपी होटलमा बास बस्यौं ।

अर्कोदिन बिहानै थबाङबाट पूर्वी रुकुमको यात्रा सुरु भयो । बिहानको आठ नबज्दै हामी महत हुँदै भुमे गाउँपालिकाको केन्द्र खाबाङ बगर पुग्यौं ।  तिहारको समय भएकाले प्रायः सबै घरका आँगनमा फूलहरु फूलेका थिए । कतै बारीमा तोरी फूलेर पहेँलपुर थियो, कतै कोदो काटेर बाँझो खेतबारी । यस्तै रमणीय दृश्य हेर्दै गाडी अघि बढिरह्यो ।

खाबाङदेखि मध्यपहाडी लोकमार्ग भेटिन्छ । मध्यपहाडी सडक पक्रेको १० मिनेटमै काँक्री पुग्यौं । काँक्रीदेखि मध्यपहाडी सडक छाडेर पुनः सहिदमार्ग हुँदै जानुपर्छ । काँक्रीमा स्वास्थ्यकर्मी तिलक रोकालाई भेटेपछि हामी तकसेरातर्फ जानको लागि उकालो लाग्यौं ।

काँक्रीबाट हिँडेको एक घण्टामै हामी रिकाको लेकमा पुग्यौं । यहीँबाट शुुरु हुन्छ हामी पुग्न खोजेको पुथा उत्तरगंगा गाउँपालिका । यो नेपालकै सबैभन्दा धेरै वडा भएको गाउँपालिका हो, जहाँ १४ वडा छन् । पूर्वी रुकुमका धेरै परिचय छन्, जस्तो नगरपालिकाविहीन जिल्ला, सबैभन्दा कम स्थानीय तह भएको जिल्ला, पूर्ण अर्गानिक जिल्ला, लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला आदि । अग्लो स्थानमा रहेको रिकामा अबका केही दिनमा हिउँ पर्न शुरु गर्छ । यहाँदेखि हिमाली भेग प्रष्ट देख्न सकिन्छ तर यस वर्ष अझै हिउँ नपरेकाले डाँडाहरु नांगै देखिन्थे ।

रिकाको लेक भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकाको सिमाना हो । काँक्रीदेखि रिकासम्म पुरै उकालो बाटो छ । यहाँबाट ओरालो झरेर तकसेरा पुगिन्छ । रिकाभन्दा केही तल क्यूबाङ भन्ने गाउँ छ । यहाँबाट कोल, राङ्सी, गोलखाडा जाने सडक छुटिन्छ भने सहिदमार्ग तकसेरा तर्फ मोडिन्छ । हामी तकसेरातर्फ लाग्यौं । वायाँतर्फ सिस्ने हिमाल आँखै अगाडि देखिन्छ ।

कान्जिरोवा हिमश्रृंखलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ८ सय ४९ मिटर अग्लो छ । १० वर्षे जनयुद्धकालसँग सिस्नेको कहिल्यै नबिर्सिने साइनो छ । शीर्ष नेतादेखि तल्ला तहका कार्यकर्तासम्मलाई यसले आश्रय दिएको थियो । त्यसवाफत् राज्यपक्षबाट गोली र बमका प्रहार पनि सहेको छ ।

हामी सेरा गाउँ पुग्यौ । सेरा नजिकै उत्तरगंगा नदी बगेको छ, जुन नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनदेखि बगेर आएको हो । यही उत्तरगंगा नदी र मैकोटको माथि रहेको पुथा हिमालको नामबाट पुथाउत्तरगंगा गाउँपालिकाको नाम जुरेको छ । ठूलो उत्तर गंगा नदी हेर्दै डरलाग्दो । हामीले साबधा हुँदै तर्यौं । नदी तर्नासाथ तकसेरा पुग्यौं । त्यतिबेला बिहानको करिब १० बजेको थियो । यसअघि ०७२ को आदिवासी जनजाति महोत्सवमा पुगेकाले तकसेरा मेरा लागि पुरानो नै थियो ।

तकसेरामा एनटिभीकर्मी मैत्या घर्तीसँग भेट भयो । नन्द भाउजू होटलमा खाना खाँदै गर्दा प्रहरीले हामीलाई बोलाएर कोभिडको कारण मैकोटमा स्वास्थ्य सेवा दिन नमिल्ने जानकारी गरायो । हाम्रो मुख्य उद्देश्य आन्तरिक पर्यटन थियो । घुम्न निस्किएको बेला स्वास्थ्य सेवा नपाएका समुदायलाई सहयोग पनि गर्न सकिन्छ कि भन्ने मात्रै हाम्रो मनसाय भएकाले हामीले सेवा दिन पाउनैपर्ने जिद्दी गरेनौं । मैकोटका लागि भनेर दाङबाट बोकेका औषधि इलाका प्रहरी कार्यालय तकसेरामै छाडिदियौं ।

तकसेरामा केहीबेरको अलमलपछि हामी बिर्गुम, पदमी, पिपलतुङ गाउँ हुँदै अघि बढ्यौं । अलि पर देखिने कोल गोलखाडा अनि माथि देखिने सिस्ने हिमालको दृश्यावलोकन गर्दै तीन बजे नयाँबजार पुग्यौं । घोराहीदेखि १९५ किलोमिटर टाढा रहेको नयाँबजार सहिदमार्गको अहिलेसम्म गाडी पुग्ने अन्तिम बिन्दु हो ।

पहिलेदेखि नै हाम्रो सम्पर्कमा रहनुभएका हस्तिमान पुन सरले आफ्नै विद्यालयका शिक्षक बिसंग पुनलाई रुटगाइडको रुपमा नयाँ बजारसम्म पठाउनुभएको थियो । पर्यटन गाइडमा दख्खल बिसंग सर स्कुलको बिदा हुनासाथ नयाँ ठाउँँ घुम्न निस्कनु हुँदोरहेछ । नयाँ बजार सानो ठाउँं हो, दिनमा एक–दुईवटा जीप मात्रै चल्ने, उहाँसँग सजिलै भेट भयो । गाडीबाट सबै सामान ओरालेर पहिले गाडी पार्किङ गरेर राख्यौं किनकि पाँच–छ दिन हाम्रो गाडी अब यही ठाउँमा रहनेछ ।

हलुका झोला आफैंले बोक्यौं र अलि गह्रुंगा सामान खच्चडमा बोकाएर नयाँबजारबाट हाम्रो पैदल यात्रा शुरु भयो । नयाँ बजारदेखि खैरेसम्म ट्र्याक खोलेको सडकबाट नै गयौं । खैरेदेखि गोरेटो बाटो शुरु भयो । खैरेदेखि हामी मग्मा खोला तरेर अघि लाग्यौं । बायाँतर्फ तल सानी भेरी सुसाएको प्रस्ट सुनिन्थ्यो तर देखिँदैन्थ्यो ।

बिर्गुमदेखि हामी भेरी नदीको छेउँ तर धेरै माथि थियौं । भेरी नदीको तिरैतिर गएर, भेरी नदी तरेर उकालो लागेपछि मात्रै मैकोट पुगिदो रहेछ । बाटोमा घोडा, खच्चड र मानिसहरु प्रशस्तै ओहोरदोहोर गरिरहेका थिए । खैरेसम्म सामान्य उकालो उक्लेपछि तेर्सो बाटो भेटियो । घामले डाँडा काटिसकेको थियो । साँझको ६ बजेतिर हामी डिम्मुरगैरा पुग्यौं । आज हामी यहीँ बास बस्ने योजना छ ।

गाउँका सामान्य साना होटल तर मीठो आथित्य यहाँको विशेषता रहेछ । भएको कुरा पकाएर दिन गाह्रो नमान्ने, सौहार्दता पनि उत्तिकै मीठो । निःस्वार्थ गाउँले जीवन । यही निःस्वार्थी स्वभावलाई कसैले व्यक्तिगत स्वार्थमा उपयोग गरे होलान् तर यहाँका बासिन्दाको निःस्वार्थीपनको घडा रित्तिएको छैन ।

बत्ती नभएकाले सोलार र टुकीकै भर रहेछ यहाँ । जंगल नजिक भएकाले दाउरा प्रशस्त पाइने । दाउराको आगोमा एकैछिनमा खाना पाकिहाल्यो । तरकारीमा आलु नभएपछि थाहा भयो त्यहाँ सलहले निकै नोक्सान गरेछ । मकै र आलुबाली त सखाप नै बनाइदिएको होटल सञ्चालकले बताउनुभयो ।

यहाँदेखि तल भेरी नदी किनारमा तातोपानीको मुहान छ । तातोपानीमा बाथ, छाला रोग आदि सन्चो हुने भन्दै नजिकका जिल्ला रुकुमपश्चिम, सल्यान, रोल्पादेखि विरामीलाई डोकोमा बोकाएरै ल्याइँदो रहेछ । सायद त्यसैले होला डिम्मुरगैरामा झन्डै आधा दर्जन होटल छन् । बिजुलीको सुविधा नभए पनि कुनै–कुनै होटेल सन्चालकले वाइफाईको समेत व्यवस्था मिलाएका रहेछन् ।

घर छाडेको तेस्रो दिन विहानै पुनः डिम्मुरगैराबाट पैदल यात्रा शुरु भयो । पल्लोतर्फ  खारबाङ, अर्जल, कुकुरगाडे गाउँ चिनाउँदै हुनुहुन्हुन्थ्यो बिसंग सरले । डिम्मुरगैराबाट ३० मिनेटमै अँधेरीखोला पुगियो । बजारबाट गाउँ जाने मानिसको सामान देख्दा गाउँमा कृत्रिमता भित्रिरहेको प्रष्ट हुन्थ्यो । अर्गानिक जिल्लाका प्रायजसोले दुर्गम वस्तीमा प्लास्टिकका सामान भित्र्याइरहेका थिए । यस्ता वस्तुले मौलिकता हराउँछ कि भन्ने चिन्ता लाग्यो ।

नयाँ बजारदेखि निरन्तर उचाइमा नै हिँडिरहेका थियौं हामी । पहाडमा चिसो बढिसकेकाले पशुचौपाया भेरी नदीको तिरभन्दा अलि तल (औल) भएकाले त्यतै राख्ने चलन रहेछ यो सिजनमा । यहाँ नेपाल टेलिकमको नमस्ते सिमले काम गर्दो रहेछ । अँधेरीखोलामा २÷४ वटा घर देखिन्थे । त्यहाँबाट एक घण्टा हिँडेपछि मयाङ गाउँ देखिन थाल्यो ।

अब भने नयाँबजारदेखि नदेखिएका बिजुलीका पोल र तार देखिन थाले । नदी सभ्यताको हिसाबले उत्तरगंगा प्रशस्तै नदीनाला भएको गाउँपालिका हो । यहाँ लघु जलविद्युत् आयोजनाहरु सञ्चालनमा छन् । जसले गर्दा गाउँहरु रातिमा झिलिमिली देखिन्छन् । कुटानी–पिसानी गर्ने घट्टहरु पनि प्रशस्तै छन् ।

घुम्दै रमाउँदै हिँडेकाले मलाई कुनै थकान महसुस भएन । गोरेटो बाटो पनि पहाडमा कति मिलाएर बनाइएको रहेछ भने हिँड्दा सहज त छ नै हेर्दा पनि मनमोहक लाग्छ । केहीबेरमा मायाङ गाउँ पुग्यौं, जुन वडा नम्बर ६ रहेछ । विहानको पारिलो घामले अझ सुन्दर देखाएको थियो मायाङ गाउँ । गाउँलेहरु घरका छत–छतमा घाम तापिरहेका देखिन्थे । पहाडी गाउँमा, अझ यी वस्तीमा झन् आँगन भनेकै माटोले छाएका घरका छत हुन् । केटाकेटी खेल्ने, बिस्कुनपात सुकाउने जस्ता सबै काम घरका छतमा हुन्छन् ।

मायाङदेखि मैकोट जाने सोझो बाटो र हुकामतर्फ जाने उकालो बाटो छुटिदोरहेछ तर हुकामबाट पनि मैकोट पुग्न सकिन्छ । हामी हुकाम घुमेर मैकोट जाने निर्णयका साथ हुकामतर्फ उकालो लाग्यौं । विहान ११ः३० मा हामी देउराली मावि हुकाम पुग्यौं । छेउमा सल्लाघारी जङ्गल र बीचमा बिशाल घाँसे मैदान काटेर माथि डाँडामा पुगेपछि हुकाम देखिन थाल्यो । १२ नबज्दै हामी हुकाम पुग्यौं । बिहानको खानाको व्यवस्था हुकाममा थियो ।

हुकाममा होमस्टे प्रकारका होटलहरु मात्रै रहेछन् । हामी खानाको लागि पुथा उत्तरगंगा वडानम्बर ५ का वडाध्यक्षको घरमा पुग्यौं । हुकाम पनि ठूलो गुजुप्पको गाउँ छ । पहिले बेग्लै गाविस रहेछन् हुकाम र मैकोट । बिचमा भेरी नदीले छुट्याएको वल्लो डाँडामा हुकाम र पल्लो डाँडामा मैकोट छ । दुवै गाउँबाट एक अर्को गाउँ प्रस्ट देख्न सकिन्छ तर पुग्न कम्तिमा तीन घण्टा पैदल यात्रा गर्नु पर्दछ ।

दिउँसो ३ बजेतिर हामी लाग्यौं हुकामबाट मैकोटतर्फ । हुकाम गाउँको तल तिहारको अवसरमा भैलो खेलिदै थियो । टीका लगाएर तिहार मान्ने चलन नभए पनि नाचगान गर्ने, खानपिन गरेर रमाउने चलन भने रहेछ । भैलोमा मयूर, पैसेरी जस्ता नाच नाचिदो रहेछ । केहीबेर नाच हेरेर हामी ओरालो लग्यौं ।

झोलुङे पुलबाट भेरी नदी तरेपछि उकालो शुरु भयो । करिब ६ बजेतिर हामी आजको गन्तब्य मात्रै नभइ मैकोट यात्राकै अन्तिम बिन्दुमा पुग्यौं । मैकोट पूर्वीरुकुमको रुकुमकोट पछिकै ठूलो बजार रहेछ । यति दुर्गम क्षेत्रमा पनि वाइफाइको सुबिधा रहेछ । होटलमा खानासँगै आजको काम यहीँ सकियो ।

चौथो दिन बिहान ८ बजे हस्तिमान सर होटलमै भेट्न आउनुभयो । अन्य माध्यमबाट सम्पर्क भए पनि भौतिक भेट हाम्रो पहिलो थियो । केहीबेर गफ गरेपछि हामी प्रहरी चौकीमा गयौं । बजार क्षेत्र सानो भएकाले हरेक मानिस पुगेको थाहा हुँदो रहेछ प्रहरीलाई । हामी नयाँ मान्छे कहाँबाट आएको, किन आएको भनेर बुझ्न प्रहरीले बोलाएको थियो । प्रहरी चौकीका प्रमुख केही महिना पहिला जिप्रका दाङदेखि सरुवा भयर गएका परिचित हुनुहुँदो रहेछ । प्रहरीसँगको भेटपछि हामी मैकोट गाउँ भनौं या बजार घुम्न निस्कियौं । हस्तिमान सरले सबै गाउँ घुमाउनुभयो ।

अचम्मको कुरा त गाउँ घुम्दा बाटोबाट हिँड्नुभन्दा घरका छतमा चढेर हेर्दा सबै अवलोकन गर्न पाइने । एक घरबाट अर्को घरको छतमा जान पनि कुनै गाह्रो छैन । छतमा कसैले मकै सुकाउँदै थिए भने कसैले कोदो । यो भेगमा फर्सी र ओखर निकै फल्दोरहेछ । हरेक घरका छतमा फर्सी देखिन्थे । यहाँ फर्सीको बियाँ, ओखरकोे घाँजी पेलेर तेल पनि निकालिदो रहेछ । यो कुरा थाहा पाउँदा मलाई अचम्म लाग्यो । कतै–कतै भेँडाका उन पनि सुकाएको देखिन्थ्यो तर भेँडा पाल्ने चलन पनि हराउँदै गएको छ । अचेल यहाँ भेँडाका उनबाट बनेका राडीभन्दा कपासका सिरक पुग्न थालेका छन् ।

गाउँका रमणीय दृश्य हेरेपछि खाना खाएर पुथातिर नजर दौडाउन थाल्यौं । रोल्पा होलेरीबाट देखिने पुथा हिमालको हामी काखमै पुगिसकेका छौं, तर मैकोटबाट देखिदैन पुथा हिमाल । पुथा हिमाल हेर्न यहाँबाट केही घण्टाको उकालो बाटो हिंडेर लेकमा जानु पर्दोरहेछ  । करिब १ बजेतिर हामी त्यसतर्फ लाग्यौं । मैकोटको सिरानमा रहेको उक्त डाँडाको नाम हन्पा रहेछ ।

२०७३ सालमा त्यही स्थानमा यार्सा महोत्सव पनि भएको थियो । दिउँसो एक बजेतिर हिँडेका हामी डाँडा उक्लदाउक्लदै साँझ पर्यो । हामी हन्पा पुग्दा साँझको करिब साढे सात बजेको थियो । फर्केर आउन नसक्ने भएकाले हामीलाई मैकोटका कार्यवाहक अध्यक्ष अधिकारले दुले भन्ने ठाउँमा बस्ने व्यवस्था मिलाइदिनुभएको थियो ।

दुलेमा ढोरपाटन सिकार आरक्षको बेस क्याम्प रहेछ । दुले डोल्पा र ढोरपाटन जानेहरुको जक्सन पनि रहेछ । त्यसैले दुलेमा खान बस्नको लागि होटलको राम्रो ब्यवस्था रहेछ । त्यसदिन साँझ हाम्रो खाना त्यहाँको लोकल आलु भयो । अर्को दिन बिहान ६ बजे नै उठेर त्यहाँको भूगोल अनि ठाउँ हेरेर कोठामा बसेको बेला हिमपात शुरु भयो ।

हिउँ परिरहेको दृष्य देख्ने अवसर पहिलोपटक जुट्यो । यो जीवनकै पहिलो हिमपात अनुभव थियो मेरो । हिउँ परेको केहीबेरमै जताततै सेताम्मे देखिन थाल्यो । करिब दुई घण्टाको हिमपात बिस्तारै कम हुँदै गयो ।

यो हिमपात यो वर्षकै पहिलो थियो । हिउँमा खेल्दा मन रमाए पनि अब बाटो पहिल्याउने चिन्ता थपिँदै थियो । तर, त्यस्तो भएन केहीबेरमै घाम लाग्न सुरु भयो । बाटाहरु देखिन थाले ।

सेताम्मे भएको हिमाल, वन जंगलको मनोरम दृश्य, चराचुरुंगीको चिरबिर, खोला नालाको कलकल आवाजको आनन्द लिँदै फर्केर हामी पुनः हान्पा डाँडा पुग्यौँ ।

हान्पा हामी गएकोमध्ये सबैभन्दा अग्लो डाँडा भएकाले स्वर्गानुभूति नै भयो । बिहानको हिउँले अझ सुन्दर देखिएको थियो प्रकृति । दुले र हान्पा डाँडासँगै दिल बस्यो मेरो ।

पुथा उत्तरगंगा गाउँपालिकाको वार्ड नम्बर १ मा अवस्थित हान्पा डाँडाबाट मनोरम हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । समुद्री सहतदेखि करिब तीन हजार पाँच सय मिटरको उचाइमा समथर भूभागमा अवस्थित हान्पा डाँडाबाट पुथा हिमाल आमने–सामने देखिने हुँदा नजिकबाट अवलोकन गर्न सकिन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको जैविक विविधतायुक्त हान्पा डाँडाको प्रचारप्रसार नहुँदा पर्यटक खासै भित्राउन सकेको छैन ।

केही घण्टा त्यस स्थानमा रमाएर साँझ पुनः हामी मैकोट पुग्यौं । अर्को दिन करिबब १० बजेतिर हिँडेका हामी साँझ ५ बजे नयाँ बजारमा जीप राखेको ठाउँ पुग्यौ । नयाँ मित्रहरु हस्तिमान र बिसंग सरको न्यानो स्वागत र सहयोगसँगै हाम्रो पाँचदिने पारिवारिक हिमाली ट्रेकिङ सकियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment