Comments Add Comment

मापदण्ड विपरीत सञ्चालित ६ वटा औषधी पसल बन्द

फाइल फोटो

१९ मंसिर, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा सञ्चालित ६ वटा औषधी पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको छ ।

औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयका निमित्त प्रमुख भाग्य नारायण सिंहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगञ्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले बिहीबार बरियारपुर बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती औषधी पसल तथा क्लिनिकहरुमध्ये कतिपयले नेपालमा प्रतिबन्धित औषधी राखेर बिक्री गर्ने गरेको, औषधी व्यवस्था दर्ता नभएको, सिएमए, एचएहरुले औषधी पसल सञ्चालन गरेको र म्याद गुज्रेका औषधी फेला परेको औषधी निरीक्षक दिपेन्द्र कुमार साहले बताए ।

‘औषधी पसल सञ्चालनका लागि फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यवसायिक तालिम गरेको व्यक्ति गर्नुपर्छ । दर्ता गर्ने, प्रतिबन्धित औषधी बिक्री नगर्ने लगायत अन्य नियमहरुको पनि पालना गर्नुपर्छ । तर बरियारपुरमा त्यस्तो पाइएन,’ उनले भने, ‘६ वटा पसल खोल्नमा रोक लगाएका छौं, पसल खोले नखोलेको निगरानी गर्न प्रहरीलाई भनिएको छ ।’

निरीक्षक साहले भने, ‘उनीहरुलाई किन कारबाही नगर्ने भनेर कागजात प्रमाणहरु लिएर वीरगञ्ज कार्यालयमा आउन भनेका छौं । उनीहरुले कसरी कागजपत्र पेश गर्छन्, त्यसैअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment