Comments Add Comment

पानी ल्याउन आफ्नै बाबुको शिर काटेको किंवदन्ती रहेको नारायणहिटी

१९ मंसिर, काठमाडौं । शासकीय मरण/मारणको लामो शृङ्खला चलेको नारायणहिटी दरबार यतिबेला संग्रहालयको रूपमा सर्वसाधारणका लागि खुला छ । परिसरमै चतुर्व्यूह नारायणको मन्दिर स्थापना गरिए पनि यसको इतिहास नै हत्याकाण्डको सिलसिलासँग जोडिएको छ ।

एकीकरण कालपछि मात्र हेर्ने हो भने पनि यही दरबारमा दुई ठूला हत्याकाण्डहरू भए । यसबाहेक शक्ति संघर्षको लागि चलेका अनेक षड्यन्त्र पनि दरबारले लामो समयसम्म भोग्यो ।

तर, सांस्कृतिक सम्पदाहरूप्रति कमैले वास्ता गर्ने गरेका कारण नारायणहिटी भन्ने बित्तिकै न त नारायणको मन्दिरलाई कसैले चिन्ने गर्छन् न त सँगै रहेको हिटीलाई नै । यिनै दुईको संयोजनबाट बनेको नारायणहिटी दरबार मन्दिर र हिटीभन्दा चर्चित हुन थालेको छ । अहिले नारायणहिटी भनेर जुन हिटीलाई चिनाइन्छ, यससँग जोडिएको इतिहास झनै रोचक र कहालीलाग्दो छ ।

सात्विक सम्प्रदायको रूपमा मानिने वैष्णवहरूको मूल देवता नारायणलाई साक्षी राखे पनि दरबार भित्र र बाहिर भने षड्यन्त्र र फोहोरी खेलको शिलशिला लामै समय चलेको देखिन्छ ।

नारायण हिटीको मानदेवसँग जोडिएको इतिहास किंवदन्तीको रूपमा रहेको भए पनि लिच्छविकालीन अभिलेख भने हिटी र नारायण मन्दिर दुवै ठाउँमा पाइँदैन ।

तर, हिटीमा रहेको तीन अभिलेखमध्ये एउटा अभिलेख भने मल्लकालीन समयको हो । यो समयमा हालको नारायणहिटी दरबार क्षेत्रमा रहेको संरचनाको बारेमा इतिहास मौन छ । तर, शाहकालमा आएर भने यो महत्वपूर्ण दरबार क्षेत्रको रूपमा यसको विकास भयो ।

प्रा.डा. सुदर्शनराज तिवारीका अनुसार तत्कालीन श्री ३ जंगबहादुर राणाले शासनसत्ताको कार्यकारी अधिकार आफूले लिएपछि आफू थापाथली दरबारमा बस्न थाले । त्यसपछि आफ्ना भाइहरुलाई छुट्टाछुट्टै दरबार दिने क्रममा भाइ रणोद्दीपको भागमा यो दरबार परेको थियो । पछि उनी यही दरबारमा मारिए ।

षड्यन्त्रपूर्वक मारिएका रणोद्दीपको दरबारलाई पछि वीर शमशेर शासनमा आएपछि पूरै भत्काएर नयाँ शैलीको दरबार बनाए । यो षड्यन्त्रको सिलसिला चलेको दरबारलाई अहिले संग्रहालयको रुपमा विकास गरिएको छ ।

यद्यपि अहिलेसम्म पनि रणोद्दीप सिंहलाई मारिएको ठाउँ सुरक्षित रहेको मानिन्छ । तर सर्वसाधारणलाई भने सो क्षेत्रमा जान दिने गरिएको छैन । नारायणहिटीमा २०५८ सालमा भएको दरबार हत्याकाण्डभन्दा पहिलेको ठूलो हत्याकाण्ड तिनै रणोद्दीपको हत्यासँग सम्बन्धित रहेको इतिहासकारहरू बताउँछन् ।

नारायणहिटीमा नयाँ दरबार बनाएर वीरशमशेर भने सेतो दरबारमा बस्न थाले । त्यतिबेलासम्म राजालाई हनुमानढोका दरबारमा राख्ने गरिएको थियो । तर, तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहको पालादेखि नारायणहिटी दरबार राजाको लागि खुला गरिएको हो ।

धारोको नामबाट राखिएको नारायणहिटीको नाम

‘हिटी’ भन्ने शब्दको अर्थ नेपालीमा धारो हुन्छ । लिच्छविकालमा धारोलाई ‘प्रणाली’ भन्ने गरिन्थ्यो । विभिन्न अभिलेखमा धारोलाई ‘प्रणाली’को रूपमा उल्लेख गरिएको छ ।

नारायणहिटी दरबार परिसरको अगाडिपट्टि रहेको सो धारोमा नारायणलाई नित्य नुहाउने गरिएकोले सो धारोको नाम नै नारायणहिटी हुन गएको नारायणहिटी संग्रहालयका प्रमुख एवं पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल बताउँछन् । तर, यो हिटीको इतिहास भने निकै रोचक छ ।

मानदेवसँग जोडिएको नारायण हिटीको किंवदन्ती

मानदेवले आफू शासनमा आएपछि राखेको चाँगुनारायणको अभिलेखमा आफ्नौ तीन पुस्ता उल्लेख गरेसँगै मानदेवका बाबुको नाम धर्मदेव रहेको स्पष्ट भएको हो । तिनै धर्मदेवसँग जोडिएको छ नारायणहिटी दरबार अघि रहेको नारायण हिटीको इतिहास । भाषा वंशावलीमा भने धर्मागत देवले आफ्ना दरबार नजिकै चतुर्वाहु नारायण स्थापना गरी युग्म जोडी धारा बनाई राखेको वर्णन गरेको छ ।

आफूले ठूलो मेहनतले बनाएको ढुंगेधारामा पानी नआएपछि राजा धर्मदेव अत्यन्त दुःखी भएका थिए । सबै संरचना बनाइसकेपछि धारामा पानी नआउनुले एकातर्फ आफू लगायत प्रजालाई परेको समस्या समाधान हुनेवाला थिएन भने अर्काेतिर लोकाचारको लागि पनि सो धारामा पानी ल्याउनु आवश्यक नै थियो । त्यसपछि उनी परामर्शको लागि ज्योतिषकोमा पुगे ।

ज्योतिषले ३२ लक्षणले युक्त व्यक्तिको बली चढाएपछि मात्रै धाराबाट पानी आउने उल्लेख गरे । ३२ लक्षणले युक्त व्यक्ति राजाबाहेक अरू हुन त्यतिबेला दुर्लभ थियो । त्यसैले या त राजा धर्मदेव आफैं बली चढ्नुपर्ने थियो या त छोरालाई बली चढाउनुपर्ने थियो ।

उत्तराधिकारीको समस्याले गर्दा धर्मदेवले आफैँ बली चढ्ने निर्णय गरे । त्यसपछि उनले छोरालाई मध्यरातमा धारामा सेतो कपडाले मुख छोपेर बसेको मान्छेलाई केही नहेरी काट्न निर्देशन दिए । आफ्ना बाबुको निर्देशन अनुसार मानदेवले धारामा गएर मान्छे काट्दा आफ्नै बाबु परेको भन्ने किंवदन्तीमा उल्लेख छ ।

यसरी बली दिएपछि धाराबाट पानी आउन लाग्यो । त्यही पानीले तरबार पखाल्न जाँदा ‘पितृहत्या गर्नेको मुख पनि हेर्दिनँ’ भनेर धाराले समेत उल्टो मुख लगाएको भन्ने उल्लेख पाइन्छ । अहिले पनि नारायणहिटीको दुईवटा ढुंगेधारा पछाडिपट्टि फर्किएका छन् ।

चतुर्व्यूह नारायणको मन्दिर

चतुर्व्यूह भन्नेबित्तिकै त्यो स्वतः नारायणको स्वरूपलाई चिन्ने गरिन्छ । भगवान् नारायणको ५ स्वरुप पर, व्यूह, विभव, अन्तर्यामी र अर्चामध्येको दोस्रो व्यूह स्वरूप नारायणले विभिन्न स्थितिमा लिने स्वरूप हो । वैष्णव मतअनुसार परमपद वैकुण्ठमा निवास गर्दा देखिने नारायणको स्वरुप पर स्वरुप हो । यो भगवान श्रीहरिको सर्वाेच्च स्वरूप पनि मानिन्छ ।

चतुर्व्यूह मन्दिर ।

त्यस्तै, क्षीरसागरमा बस्दा देखिने भगवान् विष्णुको स्वरूप व्यूह स्वरुप हो । यो स्वरुप पनि वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्ध गरी ४ किसिमको हुने गर्छ । यिनै श्रीहरिको स्वरुपले सृष्टि, स्थिति र संहारको भार बहन गर्ने गर्छन् ।

नारायणको तेस्रोस्वरुप विभव स्वरुप हो । श्रीरामकृष्णादि अवतारहरू नारायणको विभव स्वरुप हो । चौथो स्वरुप अन्तर्यामी स्वरुप हो भने पाँचौं स्वरुप अर्चा स्वरुप हो । जसमध्ये अन्तर्यामी स्वरुपमा सबै जीवात्माहरुको आत्मामा निवास गर्ने गर्छन् भने अर्चावतारमा मठ मन्दिर दिव्यदेश एवं श्रीवैष्णवहरुको घरमा उपस्थित हुन्छन् भन्ने मान्यता छ ।

यसैमध्येको व्यूह स्वरुप नारायणहिटी दरबारपरिसरमा रहेको चतुव्र्युह नारायण मन्दिरमा पाउने गरिएको नारायणहिटी र चतुर्व्यूह नारायणको मन्दिरको बारेमा पुस्तक प्रकाशन गरेकी डा. शोभा ढुंगानाले आफ्नो पुस्तक नारायणहिटी नारायणस्थानमा उल्लेख गरेकी छन् ।

कालखण्डको हिसाबले यो मन्दिर र यो धाराको सम्बन्ध पहिलेदेखि नै थियो । नारायणलाई नुहाउनको लागि यही धारामा लैजाने गरिएको ढुंगानाले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् ।

चतुर्व्यूहको अर्थ के हो ?

चतुर्व्यूह नारायणलाई एउटै शिलाको चार दिशामा कृष्ण र उनका भाइ बलराम, छोरा प्रद्युम्न र नाति अनिरुद्धको स्वरुपमा पाइन्छ । नारायणको व्यूह रूपमा पूर्वमा वासुदेव, दक्षिणमा सङ्कर्षण (बलराम), पश्चिममा प्रद्युम्न र उत्तरमा अनिरुद्धको मूर्ति स्थापना गरिएको हुन्छ ।

भारतमा व्यूह रूप प्रतिमाको निर्माण कुषाणकालीन कला भएपनि नेपालमा ईशाको सातौं शताब्दीमा बासुदेव गोष्ठीको अधिक प्रचलन रहेकोबाट यही कालखण्डमा धेरै प्रचलनमा आएको थियो कि ? भन्ने अनुमान गर्न सकिन्छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment