Comments Add Comment

अंग्रेजी भाषाको प्रयोगमा सांसदले उठाए प्रश्न

१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका सांसद बेदुराम भुसालले विधेयकमा अंग्रेजी भाषाको प्रयोग बढेको भन्दै प्रश्न उठाएका छन् ।

‘कानुनमार्फत नेपाली भाषालाई विस्थापित गराउने काम भइरहेको छ’, स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयकमाथि बिहीबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको छलफलमा उनी कड्किए, ‘छिमेकमा चीन छ चाइनिज भाषा किन प्रयोग नगर्ने ? हिन्दी भाषा प्रयोग किन नगर्ने ? खाली अंग्रेजी भाषा नै प्रयोग गर्नुपर्ने ?’

उनले कानुनमा नेपाली भाषा नै प्रयोग गर्नुपर्नेमा जोड दिए । नापतौल विधेयकमा परेका चार शब्द किलोग्राम, एम्पिएर, क्याण्डेला र केलभिनमा उनको खास विरोध थियो । यी अंग्रेजी शब्दका नेपाली उल्था पनि विधेयकमा राखिनुपर्ने भुसालको मागमा अन्य सांसदहरुले पनि समर्थन जनाए ।

त्यसपछि समिति सभापति परशुराम मेघी गुरुङले सम्बन्धित मन्त्रालयलाई यी चार शब्दसहित विधेयकमा प्रयोग भएका अन्य अंग्रेजी शब्दहरूको नेपाली उल्था गरेर छलफलमा प्रस्ताव ल्याउन निर्देशन गरे ।

‘भाषाको प्रश्न निष्कर्षमा पुर्‍याउनु पर्‍यो’

‘नेपाली कसरी लेख्ने’ र ‘हाम्रो भाषा’ पुस्तकका लेखक शरदचन्द्र वस्ती अंग्रेजी भाषाको प्रयोग बढेको विषयमा संसदमा प्रश्न उठ्नुलाई सकारात्मक मान्छन् । तर, लहडमा प्रश्न उठाएर बिर्सन चाहिं नहुने उनको सुझाव छ ।

‘संसदमा प्रश्न उठ्छ तर, त्यो कति गम्भीरतापूवर्क उठेको छ भन्ने कुराले अर्थ राख्छ’, उनी भन्छन्, ‘नेपाली भाषामाथिको क्षयीकरण राजनीतिक मुद्वा बन्नुपर्छ ।’
वस्तीको बाँकी बिचार उनकै शब्दमा :

नेपाली भाषालाई क्षयिकरण गर्ने, नेपाली भाषाप्रति गम्भीरता उत्पन्न हुन नदिने, नेपाली भाषाप्रति श्रद्धाको भावना उत्पन्न हुन नदिने गलत कार्यहरु भएका छन् । यस्तो कार्य स्वंम ‘म भाषाको पारखी हुँ, भाषा शास्त्री हुँ, भाषाको विद्धान हुँ’ भन्नेहरुबाटै भइरहेको छ ।

नेपालीमा कुनै शब्द उच्चारण गर्न अप्ठ्यारो हुने जस्तो भयो भने त्यो नभए पनि हुन्छ भनेर भन्ने काम विद्धान हुँ भन्नेहरुबाटै भइरहेको छ । जस्तो मोटो ‘श’ को ठाउँमा पातलो ‘स’ प्रयोग गरे पनि हुन्छ भन्ने गरिएको छ । यी दुईटाका अर्थ एउटै होइनन् । यसरी नेपाली भाषाप्रतिको गौरवलाई विस्तारै धमिलो बनाउने काममा भाषासंग सम्बन्धित निकायहरु नै लागेका छन् ।

यो विषयलाई राज्यले गम्भीरतापूवर्क लिनुपर्ने हो । कानुनमा, ब्युरोकेसीमा, अन्य प्रावधिक विषयमा नेपाली भाषाप्रति लत्तो छोड्ने काम भएको छ । कानुन ड्राफ्ट गर्नेहरुमा एउटा प्रवृति छ- कुनै अंग्रेजी शब्द आयो भने त्यसको नेपाली शब्द थाहा भए ठिकै छ नभए नेपाली शब्द खोज्ने प्रयास नै नगर्ने, अल्छि गरेर जस्ताको तस्तै राख्ने । अंग्रेजी शब्द राख्दा सबैलाई सजिलो हुने उनीहरुको तर्क हुन्छ । उनीहरुलाई सजिलो होला तर, त्यो राम्रो होइन । यो राज्यको पहिचानको विषय पनि हो । यसमा विश्वविद्यालय र शिक्षा मन्त्रालय बढ्ता जिम्मेवार छ र हुन्छ ।

संसदमा सांसदहरुले कानुनमा अंग्रेजी भाषाको प्रयोग बढ्ता भयो भनेर प्रश्न उठाउनु राम्रो हो । तर, यसमा मलाई आशंका छ- संसदमा प्रश्न त उठ्छ तर, त्यो प्रश्न कति गम्भीरतापूवर्क उठेको छ भन्नेले अर्थ राख्छ ।

लहडमा प्रश्न उठाउने र चुप बस्ने प्रवृतिका रुपमा यो नरहोस् । संसदमा उठ्ने प्रश्न प्रक्रियागत रुपमा उठ्न पर्यो, दलीय मुद्वा बन्नुपर्यो, उठेको प्रश्नले सार्थकता प्राप्त गर्नुपर्यो । यो प्रश्नलाई निष्कर्षमा पुर्‍याउन ति सांसद, उनी संलग्न दलले कति काम गर्ला ? यसले अर्थ राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment