Comments Add Comment

पहिलो टी२० मा भारतले अस्ट्रेलियालाई हरायो

१९ मंसिर, काठमाडौं । अस्ट्रेलिया विरुद्धको पहिलो टी२० मा भारत विजयी भएको छ । रवीन्द्र जडेजाको आक्रमक ब्याटिङपछि टि नटराजन र युजभेन्द्र चाहालले उत्कृष्ट बलिङ गरेपछि भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । जितपछि भारतले तीन खेलको सिरिजमा १-० को अग्रता समेत बनाएको छ । पहिलो इनिङ्समा घाइते भएका जडेजाको स्थानमा चाहाल दोस्रो इनिङ्समा कन्कसनका रिप्लेसमेन्टका रुपमा खेलेका थिए र उनले आफ्नो फुल कोटा बलिङ गर्दै भारतलाई जित दिलाउन मद्दत गरे ।

क्यानबेरास्थित मानुका ओभलमा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि आरोन फिन्चले सर्वाधिक ३५, डी आर्ची सर्टले ३४ र मोएसिस अनरिकेजले ३० रन जोडे । सिन एबोट र मिच स्वेप्सन समान १२ रनमा अविजित रहे ।

भारतका लागि चाहालले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै टि नटराजनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । वासिङ्गटन सुन्दरले विकेट नलिएपनि किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुलको अर्धशतक र जडेजाको उत्कृष्ट ब्याटिङमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । ओपनर राहुलले ४० बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५१ रन बनाए । जडेजाले २३ बल खेल्दै अविजित ४४ रन जोडे । जहाँ उनले ५ चौका र १ छक्का प्रहार गरे । यस्तै सन्जु सामसनले २३ र हार्दिक पाण्ड्याले १६ रन योगदान गरे ।

अस्ट्रेलियाका लागि बलिङमा अनरिकेजले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै मिचेल स्टार्कले २ विकेट लिए ।

अस्ट्रेलिया र भारतबीच दोस्रो टी२० आइतबार सिड्नीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment