Comments Add Comment

एकाघरका साहित्यकर्मी

२० मंसिर, काठमाडौं । व्यापार व्यवसायबाहेक सामाजिक क्षेत्रमा सामान्यतः श्रीमान–श्रीमती एउटै क्षेत्रमा काम गरेको पाइँदैन । गरिहाले पनि उनीहरूको कार्यालय, पद र कामको प्रकृति फरक–फरक हुन्छ ।

पश्चिमा समाजमा लेखक दम्पतीको चलन धेरै पुरानो हो । चिन्तक कार्ल मार्क्स र जेनी, जाँ पाल सात्र र सिमोन बुआ, एलेन गिन्सवर्ग र पिटर ओर्लोभस्की, पिबी सेली र माली सेली विश्वका उदाहरणीय साहित्यिक दम्पती हुन् । पश्चिमका कतिपय जोडीले विवाह नगरे पनि दशकौंसम्म सँगै बसेको पाइन्छ ।

विश्वका साहित्यिक दम्पतीबीच व्यक्तिगत तथा पारिवारिक खटपट जस्तो आए पनि उनीहरूको सृजनाशक्ति अब्बल देखिएको छ । उनीहरूले आफूसँगै परिवारलाई नै  सृजनशील कर्ममा जोडेको उदाहरण पनि छ । अंग्रेजीसँगै फ्रेन्च, स्पेनिस, पोलिस, रुसी भाषाका साहित्यमा श्रीमान्–श्रीमती नै साहित्यकार भएको प्रशस्तै उदाहरण छन् ।

नोबेल पुरस्कार अस्विकार गरेका जाँ पाल सात्र र सिमोनको जोडी त वैचारिक रुपमा तीव्र कटाक्ष गर्थे । अमेरिकी कवि सिल्भिया प्लाथ र बेलायति कवि टेड ह्युजको सम्बन्धमा कविता लेखनकै कारण जोडियो । केही वर्षपछि कविता लेखनकै मामिलाले गर्दा उनीहरूको सम्बन्धमा दरार आयो ।

नेपालका दम्पती साहित्यकार

प्राध्यापक गोविन्दराज भट्टराई पश्चिमा समाजमा लेखकहरूबीच दाम्पत्य सम्बन्ध बन्ने चलन पुरानो रहेको बताउँछन् । उनका अनुसार विश्वका उदाहरणीय साहित्यि दम्पतीबाट बहुपक्षीय सृजनात्मक योगदान पाएको छ । यता लेखक विप्लव ढकाल पनि विश्व साहित्यमा साहित्यिक जोडी भएकै कारण उनीहरूको यात्रा सफल भएको धेरै घटना  स्मरण गर्छन् ।

प्राध्यापक एवं साहित्यकार गोविन्दराज भट्टराई र अञ्जना वस्ती भट्टराई यस्तै एक जोडी हुन्, जो साहित्यमात्र होइन, प्राध्यापनसमेत एउटै विश्वविद्यायलयको एकै विभागमा गर्छन् । गोविन्द–अञ्जनाको अंग्रेजी प्राध्यापक जोडीले अहिले अवकाश जीवन बिताइरहेको छ ।

गोविन्दराज भट्टराई र अञ्जना वस्ती भट्टराई

भट्टराईको पारिवारिक पृष्ठभूमि नै साहित्यिक थियो । त्यसमाथि श्रीमान–श्रीमती नै साहित्य कर्ममा जोडिँदा गौरव महसुस हुने डा.गोविन्दराज बताउँछन् । उनी भन्छन्, ‘श्रीमती पनि साहित्य लेख्ने भएकाले जीवनभरि यही काममा तल्लीन हुन पाएँ । हामी एक–अर्काले लेखेको सुनाउने गर्छौं । केही छुटेको छ कि भनेर कमेन्ट गर्छौं ।’

डा. अञ्जना पनि भट्टराईको कुरामा सहमत छिन् । उनी भन्छिन्, ‘विषयविज्ञ श्रीमान् भएकाले मलाई सधैंभरि आफ्नो काममा सारथी पाएको महसुस भयो ।’

नयाँ पुस्ताका कवि सुरज राना र निशा रुम्बा साहित्यको नयाँ जोडी हो । उनीहरूले विवाह गरेको एक वर्ष मात्रै भएको छ । दुवैजना कविता विधामा चिनिएका छन् । इटहरीका सुरज अहिले वैदेशिक रोजगारीमा छन् भने निशा श्रम मन्त्रालयको सचिवालय काठमाडौंमा काम गर्छिन्  । पहिलो भेटबारे निशा भन्छिन्, ‘साहित्य लेख्ने मान्छे भनेर नै चिनेको थिएँ । यसैले सम्बन्ध झन् छिटो अघि बढ्यो ।’

सुरजका अनुसार अहिले उनीहरू भर्चुअल रुपबाटै एकअर्काका रचना पढिरहेका हुन्छन् । मनमा लागेको कुरा एकले अर्कोलाई सुझाइरहन्छन् । उनी भन्छन्,  ‘नेपाल आएको बेला सँगै कविता सुनाउन जान्छौं । पुस्तक किन्न जान्छौं ।’

चर्चित लेखक एवं अंग्रेजीका प्राध्यापक सञ्जीव उप्रेती र अर्चना थापाको जोडीमा पनि धेरै समानता छ । उनीहरू दुवैले विद्यावारिधि गरेका छन् ।  आख्यान, सञ्जीव–अर्चनाको साझा विधा हो । अर्चनाको निबन्ध र कथासंग्रह प्रकाशित छन् भने सञ्जीवका दुई उपन्यास, नाटक र गैरआख्यान ‘सिद्धान्तका कुरा’ प्रकाशित छ ।

उप्रेती भन्छन्, ‘हामीले वास्तविक जीवन, एकेडेमिक विषय र साहित्यमा सधैं सँगै यात्रा गरेका छौं । एकले अर्कोलाई सिकाउने, समीक्षा गर्ने काम निरन्तर चलिरहेको छ ।’

सञ्जीव उप्रेती र अर्चना थापा

कवितामै विद्यावारिधि गरेका विप्लव ढकाल र पद्मा अर्यालको जोडी पनि साहित्यिक हो । श्रीमान विप्लवभन्दा पद्माले अगाडि पीएचडी गरेकी हुन् । दुवैले नेपाली विभागबाट पीएचडी गरेका हुन् । दुवैको मूल विधा कविता हो ।

बिन्दु शर्मा र नेत्र एटम दम्पती नेपाली भाषा–साहित्यका अर्का जोडी हुन् । उनीहरू दुवैजना नेपाली विषय प्राध्यापन गर्छन्, समालोचना विधामा कलम चलाउँछन् । एटमको नेपाली व्याकरण, समालोचना, कविताका दुई दर्जन पुस्तक प्रकाशित छन् भने बिन्दुका पनि तीनै विधामा एक दर्जन पुस्तक प्रकाशित छ ।

बिन्दु भन्छिन्, ‘विवाह गर्नेबेला साहित्यमा मभन्दा बढी उहाँ सक्रिय हुनुहन्थ्यो । यसैले श्रीमानबाटै भाषा–साहित्यका धेरै कुरा सिक्न सहज पाएँ ।’

खरो मार्क्सवादी साहित्यकारको परिचय बनाएका स्नेह सायमी र लक्ष्मी माली पनि चार दशकदेखि सृजनामा सँगसँगै छन् । दुवैको मूल विधा कविता बनेको छ । नेपाल भाषामा दखल राख्ने ‘स्नेह–लक्ष्मी’ जोडी जनवादी सांस्कृतिक आन्दोलनमा समेत सँगै छ । लक्ष्मी अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य छिन् भने स्नेह स्वतन्त्र लेखनमा क्रियाशील छन् ।

अग्रज पुस्तामात्र होइन, नयाँ पुस्ताका कवि–लेखक पनि श्रीमान् श्रीमतीको सम्बन्धमा छन् । उनीहरूको भेट र सम्बन्ध विस्तार साहित्यबाटै भएको हो ।

प्रगतिशील विचारमा आस्था राख्ने संगीत श्रोता र बन्दना ढकाल दाम्पत्य जीवनलाई पारिवारिक नाताभन्दा बढी वैचारिक सहयात्रा मान्छन् । संगीत भन्छन्, ‘हामी हरेक दिन साहित्य, समालोचना र वैचारिक मुद्दामा कुराकानी गर्छौं । यसलाई दैनिकी नै बनाएका छौं ।’

‘संगीत–बन्दना’ जोडी बिहे गरेपछि साहित्यकार भएका होइनन् । बरु, साहित्यको रुची र वैचारिक समानताले गर्दा नै दाम्पत्य जीवनमा जोडिएका हुन् । संगीत कविता विधामा सक्रिय छन् भने बन्दना समालोचना र अनुवादमा ।

युवा निबन्धकार रमेश सायन र दीपा दाहाल नयाँ साहित्यिक जोडी हो । इटहरी निवासी यो जोडीले विवाह गरेको तीन वर्ष भयो । रमेशले गत वर्ष आफ्नो निबन्धसंग्रह ‘छुटेका अनुहार’का लागि पद्मश्री साहित्य पुरस्कार पाए ।

श्रीमान्–श्रीमती नै साहित्य कर्म रहँदा सहजता महसुस गरेको बताउँछिन् दीपा दाहाल । उनका अनुसार श्रीमानले संस्मरणमा लेखेको कुरा पढेर धेरैले आपत्ति जनाए । तर, लेखन व्यक्तिगत स्वतन्त्रतामा निहीत हुने कुरा बुझेकी दाहालले श्रीमानको लेखनलाई साथ दिइन् । दाहालको पुस्तक प्रकाशित नभए पनि अखबारी लेखनमा निरन्तर सक्रिय छिन् ।

यसबाहेक प्राध्यापक खगेन्द्र लुँइटेल र लीला लुँइटेल, गजलकार कपिल अञ्जान र भावना पाठक, सुधा त्रिपाठी र रमेशप्रसाद भट्टराई, रसिक राज र अंशु खनाल, सुवास खनाल र भावना सापकोटाको जोडी नेपाली साहित्यमा चर्चित छ ।

केही समयअघि अलग–अलग बस्ने निर्णय गरेका आख्यानकार राजन मुकारुङ र लेखिका प्रगति राई पनि साहित्यक दम्पती हुन् । अहिले पनि उनीहरू पूर्णकालीन साहित्य लेखनमै व्यस्त छन् ।

दाम्पत्य जीवनमा रहँदा साहित्यिक सहयात्रा सहज भएको राजन र प्रगतिले बारम्बार उल्लेख गरेका छन् ।

साहित्य नै पहिलो भेट

अधिकांश साहित्यिक व्यक्तिहरूको भेट साहित्यिक कार्यक्रमहरूमै हुने गर्छ । यसबाहेक पत्र–मित्रताबाट पनि लेखकहरूको सम्बन्ध बन्ने गर्छ । श्रीमान–श्रीमतीको मामिलामा पनि उनीहरूको पहिलो भेट साहित्यिक कार्यक्रमहरूमै भएको देखिन्छ ।

विप्लव ढकालले त्रिभुवन विश्वविद्यालय पढ्दा पद्मा अर्याललाई भटेका थिए ।  उनीहरू केन्द्रीय क्याम्पसमा सँगै एमए पढ्थे, साहित्यिक कार्यक्रममा जान्थे । त्यही मित्रतालाई उनीहरूले दाम्पत्य जीवनमा रुपान्तरण गरे ।

पद्मा भन्छिन्, ‘सँगै पढ्ने काम एमएममात्र होइन पिएचडीसम्म पनि कायम रह्यो । मेरो औपचारिक अध्ययनका लागि उहाँबाट धेरै साथ  मिलेको छ ।’

ढकालभन्दा अगाडि नै श्रीमती पद्माले पिएचडी सकेकी थिइन् । यसपछि अनुसन्धानमा जुटेका विप्लवले श्रीमतीबाट निकै साथ पाए । दम्पतीबीच पढाइ सक्ने कुरामा प्रतिस्पर्धा पनि थियो । अध्ययनमा दुवै दिलो ज्यानले लागे ।

यस्तै संगीत श्रोता र बन्दना ढकाल पनि सुरुवाती दिनमा साहित्यिक जमघट र सांस्कृतिक कार्यक्रममा भेटेको स्मरण गर्छन् । उनीहरूले धेरै ठाउँमा सँगै कविता वाचन गरेका छन्, वक्ता बनेका छन् ।

बिन्दु शर्मा र नेत्र एटम

नेत्र–बिन्दुको जोडी पनि साहित्यिक कार्यक्रममा सँगै हुन्छन् । एकअर्काको पुस्तक सार्वजनिक हुनेबेला दुबै खटिएर काममा लाग्छन् । सुरज राना र निशा रुम्बाको भेट कविताकै कार्यक्रममै भएको थियो ।

साहित्यिक सहकार्य

साहित्यकार दम्पतीहरुले लामो यात्राका क्रममा निकै सावधानी अपनाउनुपर्ने बताउँछन् विप्लव ढकाल । उनी सुझाउँछन्,  ‘दम्पतीबीच त्यागको भावना भयो भनेमात्र निर्धारित लक्ष प्राप्त हुन्छ ।

अर्चना थापा पनि दम्पतीको सहयात्रामा धेरै कुराले प्रभाव पार्ने बताउँछिन् । साहित्यिक, समाजिक व्यक्तित्व भएका श्रीमान–श्रीमती परिवारप्रति मात्रै उत्तरदायित्व भएर नहुने उनको अनुभव छ ।

साहित्यिक दम्पतीबीच सहयात्राका लागि त्यागको भावना र सृजनशीलताप्रति अगाध सम्मान दुवैमा हुनुपर्ने सुझाउँछन्, गोविन्दराज भट्टराई । गोविन्दराज–अञ्जनाले विवाह गरेकै चार दशक कटिसकेको छ । उनीहरूका छोराछोरीको समेत विवाह भएर समाजमा साहित्यिक जोडीको परिचय बनाइसकेका छन् । भट्टराई दम्पतीकी छोरी ऋचा भट्टराईले फाइन प्रिन्टका अजित बरालसँग जोडी बाँधेकी छिन् ।

ऋचा अंग्रेजी साहित्यमा बढी लगाव राख्छिन् भने बरालले नेपाली प्रकाशन गृहमा  फाइन प्रिन्टलाई अग्रणी बनाएका छन् । आफैं पनि कथा, निबन्ध लेखिरहेका छन् ।

स्वस्थ आलोचना, स्वच्छ प्रतिस्पर्धा

निबन्धकार रमेश सायन साहित्यकार दम्पत्तिबीच नजाँनिदो प्रतिष्पर्धा हुने बताउँछन् । सायनका अनुसार त्यस्तो सृजनशील प्रतिष्पर्धा स्वच्छ र सूक्ष्म किसिमको हुन्छ । उनी भन्छन्, ‘सृजना व्यक्तिको उपज हुने भएकाले नदेखिने प्रतिष्पर्धा त हुन्छ नै । अनि सृजनात्मक उन्नयनका लागि एक–अर्काको लेखनमा स्वस्थ टिप्पणी हुनै पर्छ ।’

संगीत स्रोता र बन्दना ढकाल साहित्यिक दम्पतीबीच झनै बढी आलोचना हुने स्वीकार्छन् । आफूले आस्था राख्ने विचारले आलोचनात्मक हुन प्रेरित गर्ने भएकाले श्रीमान–श्रीमती भनेर विमर्श नै नगर्नु झन् घातक हुने उनीहरू बताउँछन् ।

समीक्षक एवं कवि बिन्दु शर्मा श्रीमान श्रीमतीको सम्बन्ध भए पनि सृजनाको मामिलामा आलोचना हुने स्वीकार्छन् । उनका अनुसार साथीहरूलाई रचना सुनाउँदा सधैं सही सुझाव आउँदैन । यस्तोबेला घरकै सदस्यले सही–सत्य आलोचना गर्दा सृजना बलियो बन्छ । शर्मा भन्छिन्, ‘साहित्य लेखेपछि पहिलो पाठक पाउन मुश्किल हुन्छ, तर घरकै श्रीमान् वा श्रीमती पहिलो पाठक पाउँदा त्यो रचना झनै स्तरीय बन्न सक्छ ।’

कवि विप्लव ढकाल भन्छन्, ‘२०५० सालभन्दा अघिका मेरा सबै कविताको निर्मम पाठक श्रमती नै थिइन् । अहिले कवितासँगै विषय विज्ञतामा हाम्रो छलफल हुन्छ  ।’

एक–अर्काको रचनामा आलोचना गर्नेमात्र होइन, दम्पतीहरू मिलेर पुस्तक सहलेखन समेत गर्ने चलन छ । समान विषयमा औपचारिक अध्ययन गरेका दम्पत्तिले पुस्तक लेखक, प्रतिवेदन, पाठ्यपुस्तक र समालोचनाजस्ता विधामा सहलेखन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment