Comments Add Comment

ऊ… ऊ… सगरमाथा !

२० मंसिर, काठमाडौं । शनिबार बिहान ७ बजे त्रिभुवन विमानस्थलबाट सगरमाथालाई गन्तब्य बनाएर उडेको बुद्ध एयरको एटीआर जहाजलाई पच्छ्यायो यती एयरको एटीआरले । काठमाडौं शहरलाई एक फन्कोमै पार गरेको जहाज धादिङको आकास नपुग्दै झुल्के घामका कारण टलक्कै टल्किएका हिमालको अगाडि पुग्यो ।

बोर्डिङ पाससँगै टिकट काउन्टरमा दिएको नक्सा पल्टाउँदै एयरहोस्टेसले उदघोष गरिन्, ‘यात्रु महानुभावहरु अहिले हामी लाङटाङ रेन्जमा छौं ।’ यसरी शुरु भयो सगरमाथालाई नजिकबाट नियाल्न सकिने हिमाली रेन्जको हवाई यात्रा ‘माउन्टेन फ्लाइट’ ।

लाङटाङ रेन्जबाट अगाडि बढ्दै गर्दा जहाज हिमालको अझ नजिक पुग्यो । सेताम्य बादलको घुम्टोले प्रकृतिलाई छपक्क छोप्दा पनि हिम चुचुरा भने हिउँदमासको झुल्के घाम ताप्न मस्त रहेजस्तै भान हुन्थ्यो । हुस्सु हिमचुचुराको निकै तल च्यादरसरी देखिन्थ्यो । जहाजले गोसाइथान चुचुरो पार गरी दोर्जेलाक्पा चुचुरो पुग्दा भने हिमाल र जहाजको दूरी निकै कम भइसकेको थियो । त्यसपछि स्पष्ट देखियो गौरी–शंकर ।

भगवान शिव र पार्वतीको रुप मानिने गौरी–शंकरबाट नुम्बर, चोयु, पुमोरी हिमाल अवलोकन गर्दागर्दै एयरहोस्टेसको उदघोष आयो, ‘यात्रु महानुभावहरु हामी यो यात्राको सबैभन्दा आकर्षक क्षणमा छौं, माउन्ट एभरेष्ट तपाईंको सामुन्नेमा छ ।’

एयरहोस्टेससँगै जहाज उडाइरहेका क्याप्टेनले समेत यो जानकारी यात्रुलाई गराउन भ्याए । यससँगै बढेको यात्रुको उत्सुकता हेर्नलायक थियो । ‘ऊ…ऊ…. माउन्ट एभरेष्ट’, त्यसपछि धेरै यात्रुबाट सुनिएको शब्द थियो यो ।

संसारभरका मानिसका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकन एक सपना हो । त्यही सगरमाथालाई नजिकबाट निकाल्न पाएका अधिकांश यात्रुले यो अवसरलाई आफ्नो डिभाइसमा कैद गर्न थाले । कतिपय यात्रु भने उत्सुकतापूर्वक हिमाली रेन्जलाई अवलोकन गरिरहेका देखिन्थे ।

नुप्त्से, सगरमाथा, ल्होत्से, आमादब्लदम हुँदै मकालु हिमालसम्म पुगेपछि भने जहाज मोडियो । त्यसपछि सोही रुटबाट जहाज लाङटाङ रेन्जतर्फ अगाडि बढ्यो । मकालुको आसपास हुँदै मोडिएको जहाजले लाङटाङदेखि मकालु हिमालबीचको उडान ५३ औं मिनेटमा पूरा गरी त्रिभुवन विमानस्थलमा अवतरण गर्‍यो ।

९ महिनापछि शुरु भयो माउन्टेन फ्लाइट

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न २०७६ चैत ११ मा देशव्यापी लकडाउन शुरु गर्‍यो । त्यसपछि सबै प्रकारका पर्यटकीय गतिविधि बन्द भए । त्यसपछि बन्द भएको माउन्टेन फ्लाइट आजबाट व्यवसायिक रुपमा पुनः सुरु भएको छ ।

बुद्ध एयरले आज तीन वटा जहाजबाट माउन्टेन फ्लाइट गर्‍यो । यति एयरलाइन्सले दुई जहाजबाट उडान गर्‍यो । शनिबारका लागि निर्धारित सबै टिकट बिक्री भई थप एक जहाजको टिकट अर्को शनिबारका लागि सार्नु परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णका अनुसार आज तीन वटा जहाजमा फुल अक्कुपेन्सीमा उडान भएको छ ।

एयरलाइन्सका आकर्षक प्याकेज

निजी क्षेत्रका दुई एयरलाइन्स कम्पनी बुद्ध र यतीले माउन्टेन फ्लाइटमा नेपाली यात्रुलाई लक्षित गरी आकर्षक मूल्यमा प्याकेज ल्याएका छन् । अहिले दुबै कम्पनीले ८ हजार ९९९ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने गरी प्याकेज ल्याएका छन् ।

यसअघि जहाजको झ्यालको सीट मात्र माउन्टेन फ्लाइटका लागि बेच्ने गरिएको थियो । साविकमा एउटा सिटका लागि ११ देखि १३ हजार रुपैयाँसम्म मूल्य राखिएको थियो । अहिले भने झ्यालतर्फको एउटा सीटका लागि टिकट काट्दा सँगैको अर्को सिटसमेत लिन सकिने गरी प्याकेज बनाइएको छ । आकर्षक प्याकेजका कारण नेपालीहरुको चाप बढेको कम्पनीहरुले जानकारी दिएका छन् ।

बुद्ध एयरका कम्युनिकेशन म्यानेजर कर्णका अनुसार अहिले माउन्टेन फ्लाइटका लागि शनिबार मात्र तोकिएको छ । तर, यात्रुको चाप बढ्दै गएमा अन्य बार समेत उडान तोक्न सकिने गरी गृहकार्य भइरहेको छ ।

यती एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार आम नेपाली यात्रुले समेत सहजै माउन्टेन फ्लाइटको अनुभव गर्न सकुन् भनेर निकै कम मूल्यमा टिकट बिक्री थालिएको हो । यसले समग्रमा पर्यटन पुनरुत्थानमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

अहिले विवाहको सिजन चलिरहेको छ । सस्तो मूल्यमा नवविवाहित जोडीले जहाजबाट हिमाली दृष्यावलोकनको अनुभव लिन सक्ने अपेक्षा एयरलाइन्सले गरेका छन् । अर्कोतर्फ पहिलो पटक जहाज चढ्ने अनुभव लिनसमेत हिमाली क्षेत्रको उडान रोमान्चक हुन्छ । पहिलो चरणमा हरेक शनिबार अन्य गन्तब्यको उडान शुरु नहुँदै माउण्टेन फ्लाइट गराउने कम्पनीहरुको योजना छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment