Comments Add Comment

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता हुने

तीन टिमले प्रतिस्पर्धा गर्ने

२० मंसिर, काठमाडौं । राष्ट्रिय टिमका खेलाडीहरु समेतले खेल्ने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता यही मंसिर अन्तिम साता चितवनमा हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजना, तथा बागमती प्रदेश खेलकुद परिषद र भरतपुर महानगरपालिकाको प्रायोजनमा आगामी मंसिर २७ गतेबाट चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताका हुन लागेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी लगभग पूरा भएको छ ।

आयोजक बागमती प्रदेश क्रिकेट संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरस महामारीका बेला स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

हाल राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । ‘अहिले क्याम्पमा भएका खेलाडीहरु सबै खेल्छन् । त्यसमा राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू१९ का पोटेन्सियल भएका खेलाडीहरु थप गरिनेछ,’ बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बसन्यातले भने, ‘राष्ट्रिय टिमको प्रशिक्षक र कप्तानलाई बाँकी खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ ।’

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुदेखि स्थानीय खेलाडीहरु सम्मिलित तीन टिमले प्रतिस्पर्धा गर्नेछन् । मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल चार खेल हुने आयोजकले जनाएको छ । तीन टिमले एक आपसमा प्रतिस्पर्धा गरेपछि उत्कृष्ट दुईले उपाधिका लागि फाइनल खेल्नेछन् ।

प्रतियोगताका खेलहरु सकेसम्म ५० ओभरकै गर्ने योजना आयोजकको छ । तर चितवनको मौसम अहिले दिनभर क्रिकेट खेल्न सुहाउँदो नभएकोले कति ओभरको खेल गर्ने मौसमको अवस्था हेरेर पछि निर्णय हुने बस्न्यातले जानकारी दिए । उनले टी२० फर्म्याटमा भने नहुने बताए ।

गौतमबुद्ध कप क्रिकेट कोरोना महामारीपछि नेपालमा आयोजना हुन लागेको ठूलो क्रिकेट प्रतियोगिता हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि क्रिकेट प्रमोट गर्न र क्रिकेटिङ गतिविधिहरुलाई फेरि जगाउनु प्रतियोगिताको उदेश्य रहेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि अनुमानित २५ लाख बजेट रहेको र भरतपुर महानगरपालिका र बागमती प्रदेश खेलकुद परिषदबाट आर्थिक सहयोग हुने आयोजकले जनाएको छ । बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातका अनुसार भरतपुर महानगरपालिकाले १० लाख र बागमती प्रदेश खेलकुद परिषदले ५ लाख रकम दिने कमिटमेन्ट गरेका छन् । बाँकी रकम भने आयोजक र सहआयोजक चितवन जिल्ला क्रिकेट संघले व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

चितवन जिल्ला क्रिकेट संघ सहआयोजक रहेको प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्टले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment