Comments Add Comment

नेपाली महिलाभन्दा पुरुष खुसी !

२२ मंसिर, काठमाडौं । नेपालमा महिलाभन्दा पुरुष बढी खुसी रहेको एक अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण–२०७५/७६ अनुसार १५–२४ वर्ष र १५–४९ वर्ष उमेर समूहमा महिलाभन्दा पुरुष बढी खुसी पाइएको हो ।

अध्ययनअनुसार १५–२४ वर्ष उमेर समूहका युवतीहरु ६८ प्रतिशत र युवाहरु ६९.६ प्रतिशतले ज्यादै वा केही हदसम्म खुसी व्यक्त गरेका छन् । यस्तै १५–४९ वर्ष उमेर समूहका महिलाहरु ६२.४ प्रतिशत तथा पुरुष ६४.७ प्रतिशतले ज्यादै वा केही हदसम्म खुसी व्यक्त गरेका छन् ।

यस्तै १५–२४ वर्ष उमेर समूहका ५०.१ प्रतिशत युवती तथा ५६.४ प्रतिशत युवाले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेको पाइएको छ । १५–४९ वर्ष उमेर समूहमा ४५.४ प्रतिशत महिला तथा ५२.५ प्रतिशत पुरुषले अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेका छन् ।

महिलाभन्दा पुरुषले चार गुणा बढी मदिरा पिउँछन्

मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनबारे समेत अध्ययन गरिएको थियो, जसमा महिलाको तुलनामा पुरुषले मदिरा र सुर्तिजन्य पदार्थ धेरै गुणा बढी सेवन गर्ने गरेको पाइएको छ ।

१५–४९ वर्ष उमेर समूहमा ९.१ प्रतिशत महिला र ४०.६ प्रतिशत पुरुषले ले कम्तीमा महिनामा एक पटक दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । यही उमेर समूहका ७.९ प्रतिशत पुरुष र ५.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन बताएका छन् ।

कसरी गरिएको थियो अध्ययन ?

सर्वेक्षणमा तथ्याङ्क संकलनका लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएका थिए। यसरी छानिएका जम्मा १२,८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।

प्रत्येक परिवारमा भएका १५-४९ वर्ष उमेर समूहका महिला, १५-४९ वर्ष उमेर समूहका पुरुष, ५-१७ वर्ष उमेर समूहका बालबालिकातथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो ।

तथ्याङ्क संकलनका लागि पारिवारिक प्रश्नावली, १५-४९ वर्ष उमेर समूहका महिला तथा पुरुषको व्यक्तिगत प्रश्नावली, ५(१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली छुट्टाछुट्टै भरिएको थियो ।

हेर्नुहोस् केन्द्रीय तथ्याङ्क विभागको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment