Comments Add Comment

टी-२० सिरिजमा अष्ट्रेलियाको सान्त्वना जित

२३ मंसिर, काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्ध तेस्रो टी-२० जित्दै तीन खेलको सिरिजमा सान्त्वना जित हात पारेको छ ।

यसअघि नै लगातार दुई खेल हार्दै सिरिज गुमाइसकेको अष्ट्रेलियाले तेस्रो टी-२० मा भारतलाई १२ रनले पराजित गरेको हो ।

पहिलो र दोस्रो खेल जितेको भारतले टी-२० सिरिज भने २-१ ले जितेको छ । त्यसअघि अष्ट्रेलियाले ओडिआई सिरिज २-१ ले नै जितेको थियो ।

हारपछि भारतको टी-२० अन्तर्राष्ट्रियमा १० खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ । पछिल्लो पटक भारत २०१९ डिसेम्बरमा वेष्ट इन्डिजसँग पराजित भएको थियो ।

सिड्नी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८६ रन बनाएको थियो । जवाफमा भारतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनायो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रन बनाए । उनले ६१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै शिखर धवनले २८ र हार्दिक पाण्ड्याले २० रन जोडे । शार्दुल ठाकुरले अविजित १७ रन बनाए ।

भारतलाई जितसम्म पग्नबाट रोक्न अष्ट्रेलियाका लागि बलर मेचल स्वेप्सनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । स्वेप्सनको टी-२० करियरमै यो उत्कृष्ट बलिङ हो । यस्तै ग्लेन म्याक्सवेल सिन एबोट एन्ड्रयु ताये र एडम जाम्पाले समान १ विकेट लिए ।

त्यसअघि ओपनर तथा विकेटकिपर म्याथ्यु वेड र ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि अष्ट्रेलियाले १८६ रन बनाएको थियो । वेडले ५३ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ८० रन बनाए । म्याक्सवेलले ३६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ५४ रन जोडे । यस्तै स्टिभ स्मिथले २४ रन बनाए ।

भारतका लागि वासिङ्गटन सुन्दरले २ तथा टी नटराजन र शार्दुल ठाकुरले समान १ विकेट लिए ।

अष्ट्रेलिया र भारतबीचको चार खेलको टेष्ट सिरिज डिसेम्बर १७ मा एडेलेइडमा शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment