Comments Add Comment

प्रधानमन्त्रीको धपेडी : सर्वदलीय बैठक बोलाएर भवन उदघाटनमा जाने हतारो

बालुवाटारबाट फर्केका नेता भन्छन्- प्रधानमन्त्रीमा रियलाइजेसन देखिएन

२३ मसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका थिए । तर, महत्वपूर्ण राजनीतिक बैठक नसकिँदै प्रधानमन्त्रीलाई कीर्तिपुरमा एउटा धार्मिक तथा सामाजिक समूहको कार्यक्रममा जान हतार पर्‍यो ।

बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक डाकिएको थियो । तर, दिउँसो १ बजे चोभारमा सुलक्षण कीर्ति बिहारको आयोजनामा ज्येष्ठ नागरिक भवन उदघाटन गर्न पुग्नुपर्ने प्रधानमन्त्रीको कार्यक्रम थियो ।

बालुवाटारमा सर्वदलीय बैठक तीनघण्टा लम्बियो । कीर्तिपुरमा आयोजकहरु प्रधानमन्त्री कतिखेर आउलान् भनेर छटपटिइरहेका थिए । यता बालुवाटारमा प्रधानमन्त्रीले छटपटिँदै भन्न थाले, मलाई अर्को जरुरी कार्यक्रममा जान ढीला भयो, अब छोट्याऔं ।

मंगलबारको बैठकमा सहभागी नेताहरु आफैं निरुत्तरित बनेर फर्केका छन्, आखिर प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव नेपाललगायतका सत्तारुढ नेताहरुलाई समेत राखेर किन सर्वदलीय बैठक डाकेका होलान् ?

मुलुकले भोगिरहेका समस्याबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले सबै नेताहरुको कुरा सुन्नसमेत भ्याएनन् । समयको व्यवस्थापन गर्ने मामिलामा प्रधानमन्त्रीको सचिवालय कति कमजोर रहेछ भन्ने त्यहाँ छताछुल्ल भयो । एउटा भवन उदघाटनका लागि समेत दौडनुपर्ने प्रधानमन्त्रीको धपेडी प्रत्यक्ष अनुभूत गरेर दलका नेताहरु बालुवाटारबाट फर्किए ।

मंगलबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा झण्डै सात महिनापछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको हो । अघिल्लो तय भएको बैठक मंगलबार ११ बजेदेखि तीन घण्टा बढी चलेको थियो ।

नेपाली भूमि मिचेर भारतले चीन जोड्ने सडक बनाएपछि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसयता सर्वदलीय छलफल हुन सकेको थिएन । कोरोनालगायत विभिन्न कारणले सर्वदलीय बैठक बोलाउन विलम्ब भएको ओलीले प्रष्टीकरण दिएका थिए ।

‘प्रधानमन्त्रीमा रियलाइजेसन देखिएन’

सर्वदलीय बैठकमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरेका थिए । सरकारले गरेका राम्रा कामहरु विपक्षीले नदेखेको उनको गुनासो थियो ।

सरकारले जनताको अपेक्षा अनुरुप काम गरेको छैन भन्ने अलिकति पनि रियलाइजेसन प्रधानमन्त्रीमा नदेखिएको सर्वदलीय बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीजीको आजको विश्लेषण गराइले मलाई के लाग्यो भने उहाँको सोच र सूचना एकदमै सीमित छ । उहाँले वालुवाटारलाई नै देश ठान्नुभयो । उहाँले जनताको दुःख कष्टलाई बुझ्न सक्नुभएको छैन । जनतामा हाहाकार छ, उहाँले सुन्न, देख्न सक्नुभएको छैन ।’

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज सापकोटाले पनि प्रधानमन्त्रीमा आफूले कुनै परिवर्तन नपाएको बताए । देशमा बढ्दो बेतिथि र भ्रष्टाचारप्रति प्रधानमन्त्रीमा खासै स्वीकारोक्ति नदेखिएको र सरकारले ठीक काम गरिरहेको प्रधानमन्त्रीलाई परेको उनले सुनाए ।

सरकारमाथि सामुहिक प्रहार

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई बोलाइएको सर्वदलीय छलफलमा नेताहरुले सरकारको कार्यशैलीबारे खुलेर आलोचना गरेका थिए ।

सर्वदलीय बैठक शुरु गर्दै प्रधानमन्त्री ओलीले छलफलको विषय राखेका थिए । ‘मूलतः दुईवटा विषयमा छलफल गर्न तपाईहरुलाई अपर्झट खबर गरेको हुँ । आउनुभयो, संविधान र प्रणाली जोगाउन छलफल गर्नुपर्नेभयो’, प्रधानमन्त्री ओलीले भने ।

कोभिड महामारी रोकथाममा सरकारले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसमा साझा प्रयासको खाँचो रहेको बैठकमा बताए । महामारी रोकथाम गर्न अहिलेसम्म भएका प्रयासबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कोरोना महामारीले विश्व नै आक्रान्त भइरहेका बेला हामी पनि अछुतो छैनौं । तर, खोप चाँडै बन्नेमा विश्वस्त छु, त्यसलाई नेपाल ल्याउने तयारी भइरहेको छयसमा तपाईहरुको सहयोग चाहिन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत भयो । उपसभापति विमलेन्द्र निधिले देश र सरकारको अवस्था बुझ्न कांग्रेसले धेरै दुःख नै गर्न नपरेको भन्दै व्यङ्ग्य गरे, ‘दुई अध्यक्षको अभिव्यक्ति र पत्रहरु हेरेपछि कांग्रेसले दुःखै गर्नुपर्दैन, सरकार र नेकपाको बारेमा बुझ्न ।’

निधिले यसो भनिरहँदा नेकपाका बरिष्ठ नेताहरुले मौन रहेर सुनिरहेका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले ओली सरकारकै कार्यशैलीका कारण देशमा संविधानविरोधीहरुलाई मलजल पुगिरहेको भन्दै तनहुँमा आफूमाथि भएको दुव्र्यवहारको चर्चा गरे । सरकार भ्रष्टाचारमा डुबेको नेता पौडेलले आरोप लगाए । नेमकिपाका नेताले पनि भष्टाचार बढेको भन्दै सरकारको आलोचना गरे ।

नेकपाका सबै नेता मौन

बैठकमा प्रधानमन्त्री ओलीले बोलिसकेपछि प्रचण्डतिर फकर्ंदै तपाइँ पनि बोल्नुहुन्छ ? भनेर सोधेका थिए । तर, प्रचण्डले बोलेनन् । ‘नबोलौं, तपाइँले कुरा राखिहाल्नु भयो । यस्तो छलफलले निरन्तरता पायो भने फेरि अर्कोपटक कुरा राखौंला’, प्रचण्डको जवाफ थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम कसैले पनि बोलेनन् । विपक्षीले सरकारको आलोचना गरेको चुपचाप सुनिरहे ।

छलफलमा सहभागी नेता सुवास नेम्वाङका अनुसार, विपक्षी दलका नेताहरुमा सरकारप्रति आक्रोश देखिए पनि संविधान र प्रणाली जोगाउनेबारे भने समान धारणा थियो । ‘सरकारको कार्यशैलीप्रति असन्तुष्टि स्वभाविकै हो, तर उहाँहरुले संविधान र प्रणाली जोगाउन एकजुट हुने समान धारणा राख्नुभएको छ’, नेम्वाङले भने ।

संविधान जोगाउन एकमत

सर्वदलीय बैठकमा सहभागी नेताहरुले सरकारको कडा आलोचना गरे पनि संविधान र प्रणाली जोगाउन भने एकठाउँमा उभिन तयार रहेको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा अहिले प्रतिक्रियावादीहरुले टाउको उठाउन थालेको बताएका थिए । साथै, मोरङमा विप्लव समूहले शिक्षकको हत्या गरेको घटना पनि प्रधानमन्त्रीले बैठकमा स्मरण गरे ।

संविधान र प्रणाली जोगाउन प्रधानमन्त्री भन्दा आफूहरु गम्भीर रहेको नेताहरुको भनाइ थियो । जनता समाजवादी पार्टी -जसपा) का अध्यक्ष महन्थ ठाकुरले जनताको माग पूरा गर्न नसकेकैले राजसंस्था अन्त्य भएकाले फेरि पुनस्र्थापना हुने कल्पनासमेत गर्न नसकिने तर्क गरेका थिए ।

ठाकुरले बैठकमा भने, ‘अहिले कष्ट छ भन्दैमा पुरानो शक्ति दबाइ हुन्छ र ?’ हिन्दू राष्ट्रका सन्दर्भमा पनि ठाकुर कडारुपमै प्रस्तुत भए, ‘म आफैं हिन्दू हुँ । तर, राज्यको धर्म हुन्छ र ? राज्यको धर्म हुँदैन भनेरै धर्म निरपेक्षता राखिएको हो नि । यस्तो माग राखेर गरिएको सडकको प्रदर्शन स्वीकार्य छैन ।’

बैठकमा जनता समाजवादी पार्टीका अर्का नेता उपेन्द्र यादवले पनि बोलेका थिए । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको यादवको टिप्पणी थियो ।

राप्रपा नेता दीपक बोहोराले अहिले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा देशभर भइरहेको प्रदर्शन स्वतःस्फूर्त भए पनि आफ्नो दलको समर्थन रहेको बैठकमा बताएका थिए । तथापि बोहोराले वर्तमान संविधानप्रति भने प्रतिवद्धता जनाएका थिए ।

अन्त्यमा, छलफलमा उठेका प्रश्नहरुको छोटो जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्था र संविधान संघर्षको साझा प्रतिफल भएको बुझ्न आग्रह गरे । ‘सरकारसँग असन्तुष्टि हुन सक्छ, तर त्यसको आक्रोश र असन्तुष्टिले प्रणाली भत्कने, संविधान नै नरहने हुन चाहिँ भएन’, प्रधानमन्त्री ओलीले आलोचना र सुझावहरुलाई सकारात्मक रुपमा लिइने बताए । भवन उदघाटनमा जान हतारमा रहेका प्रधानमन्त्रीले फेरि चाँडै बोलाउँछु भन्दै बैठकको अन्त्य गरे ।

विपक्षी नेताहरुले पनि प्रधानमन्त्री ओलीले यसरी बैठक बोलाउनु सकारात्मक नै भएको प्रतिक्रिया दिएका छन् । तर, ओली सरकारको वास्तविक अवस्था यो बैठकमा शायद सत्तापक्षका सबै नेताले महसुस गरेको हुनुपर्ने विपक्षीको तर्क छ ।

 

जनकराज शर्मा, महासचिव, राष्ट्रिय जनमोर्चा

प्रधानमन्त्रीले दुईवटा विषयमा राय बुझ्न बोलाउनुभएको रहेछ । पहिलो, आन्दोलनका उपलब्धीहरुमाथि प्रतिगामी शक्तिहरुबाट भइरहेको आक्रमण । दोस्रो, कोभिड-१९ को व्यवस्थापनमा कसरी जाने ?

उहाँले सुरुमा विषयबस्तु राख्नुभयो र दलहरुको धारणा माग्नुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोल्नुभएन, वरिष्ठ रामचन्द्र पौडेलले बोल्नुहुन्छ भनेर उहाँ हिँड्नुभयो । कांग्रेसका अरु नेताहरुले बोल्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बोल्नुभयो । छलफल लम्बिएपछि आयोजकले नै छोटो गरौं भन्न थाल्नुभयो र प्रधानमन्त्रीले रुलिङ गर्दै अरुलाई बोल्न समय दिनुभयो ।

हामीले जुन प्रकारले गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रतिगामी शक्तिहरुबाट आक्रमण भएको छ, यसको उद्देश्य भनेको हिन्दु राष्ट्र र संक्रिय राजतन्त्र फर्काउने नै हो । र, योभन्दा पनि महत्वपूर्ण प्रश्न जनताले किनारा लगाइसकेको शक्तिका पछाडि यस्तो उपस्थिति किन भन्ने हो ।

हाम्रो ठम्याइमा सरकारका गलत र जनविरोधी क्रियाकलापका कारण जनतामा असन्तुष्टि देखिएको छ । सरकारले सुशासन र विकास दिन सकेन । सरकारको भ्रष्ट नीति छरपष्ट भएको छ, सरकार आफैंले भ्रष्टाचारलाई प्रोत्साहन गरेजस्तो भएको छ । सरकार माफियाहरुबाट परिचालन भएको छ । हिजो चुनावमा भ्रष्टहरुबाट चन्दा लिएकाले उनीहरुकै चंगुलमा फसेको छ । सत्तारुढ दल आन्तरिक कलहमा अल्मलिएको छ । जनताप्रति आफ्नो दायित्वबाट विमुख भएको छ । विदेशी हस्तक्षेप बढ्यो ।

छलफलका क्रममा कांग्रेसका केही नेताहरुले सरकार नैतिकरुपमा असफल भएको छ, विकल्प खोजी गर्नुपर्छ भन्ने आशय व्यक्त भएको थियो । तर, हामीले के भन्यौं भने सरकारको विकल्प खोज्ने भनेको मिलिजुली सरकारको हो, जुन योभन्दा पनि गएगुज्रिएको हुन्छ । जनताले पाँच वर्षका लागि दुईतिहाई नजिक बहुमत दिएको नेकपा सरकारको विकल्प छैन, प्रधानमन्त्री ओलीजी हुने कि अरु कोही हुने उहाँहरुको आफ्नो पार्टीको आन्तरिक विषय रहृयो ।

हामीले हात्र होइन, राप्रपाबाहेक सबै दलका नेताहरुले जनतामा देखिएको निराशा र असन्तुष्टिको कारण सरकार र सत्तारुढ दलको हो भनेका छन् ।

सबैको कुरा सुनेपछि प्रधानमन्त्रीले बोल्नुभयो । उहाँले यस्तो सरसल्लाह भइरहनुपर्ने तर विविध कारणले हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा केही कमजोरी भयो होला त भन्नुभयो तर सरकारले राम्रो काम गर्न नसकेकै कारण प्रतिगामी शक्तिहरुले टाउको उठाएको हो भनेर हामीले भनेको स्वीकार गर्नु भएन । सरकारले गरेका राम्रो कामको चर्चा पनि गर्नुस् । सरकारका राम्रो कामलाई पनि राम्रो भन्न नसक्ने र आलोचना मात्र गर्ने हो भने प्रतिगामी शक्तिहरुले टाउको उठाउँछन् भन्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment