Comments Add Comment

फेसबुक र गुगलले समाचारका लागि पैसा बुझाउनुपर्ने नियम ल्याउँदै अस्ट्रेलिया

Photo Credit : REUTERS

२४ मंसिर, काठमाडौं । अस्ट्रेलियाले फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याउने भएको छ । अस्ट्रेलियाले मंगलबार उक्त योजनाबारे निर्णय गरेको हो । स्वत्रन्त्र पत्रकारिताको संरक्षणका लागि विश्वभरमा नै यो पहिलो कदम हो । इन्टरनेट कम्पनीहरुले भने यो योजनाको विरोध गर्दै आएका छन् ।

यसै साता संसद्मा पेस हुन गइरहेको यो प्रस्तावअनुसार ठूला प्रविधि कम्पनीहरुले स्थानीय सञ्चारमाध्यमहरुसँग आफ्नो प्लेटफर्ममा देखिने समाचारको कति पैसा बुझाउनुपर्ने भन्ने विषयमा वार्ता गर्नुपर्नेछ । यदि उनीहरुको बीचमा कुनै सम्झौता हुन नसके सरकारी मध्यस्थकर्ताले उनीहरुको विषयमा निर्णय गर्नेछ ।

‘यो निकै ठूलो परिवर्तन हो । यो विश्वकै पहिलो हो र अहिले विश्वले अस्ट्रेलियामा यस्तो परिवर्तन कसरी होला भन्नेमा चासो दिइरहेका छन्’, अस्ट्रेलियाका डिपार्टमेन्ट ट्रेजरीका ट्रिएजर जोस फ्राइडेनबर्गले बताए ।

प्रविधि कम्पनीहरुले भने यसअघि नै यस किसिमको योजनाको विरोध गर्दै आएका थिए । गत अगष्टमा अमेरिकी प्रविधि कम्पनीहरुले अस्ट्रेलियाले यो नियम ल्याए आफूहरुले अस्ट्रेलियामा दिँदै आएको सेवा नै रोकिदिने चेतावनी दिएका थिए ।

पछिल्लो समय प्रत्यक्षरुपमा विज्ञापनदाताहरुको सहयोगमा चलिरहेका सञ्चारमाध्यमहरु आम्दानी घटेसँगै समस्यामा देखिएका छन् । यस्तोमा अस्ट्रेलियाले सञ्चारमाध्यमहरुको संरक्षणको लागि नयाँ योजना ल्याएको हो । फेसबुकले अस्ट्रेलियाको यो योजना आफूहरुले नियालिरहेको र सञ्चारमाध्यमहरुको संरक्षणको पक्षमा आफूहरु सकारात्मक रहेको बताएको छ । गुगलले भने अस्ट्रेलियाको योजनाको पूरा विवरण हेर्न बाँकी रहेको बताएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment