Comments Add Comment

शिक्षक हत्या प्रकरण : मिक्लाजुङमा प्रहरी–सशस्त्रको संयुक्त सर्च अपरेशन जारी

२५ मंसिर, काठमाडौं । मोरङको मिक्लाजुङमा मंगलबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको प्रकरणपछि अपराधस्थल आसपासको जंगलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती बढाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन जारी राखिएको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीका अनुसार समूहका सदस्यहरु जंगलमा लुकेको हुनसक्ने आशंकामा खोजी जारी राखिएको हो ।

‘अपराध भएपछि अपराधस्थलको वस्तुस्थितिसहित अन्य कुरा बुझ्न सर्च गर्नु नियमित प्रक्रिया नै हो’, कार्कीले अनलाइनखबरसँग भने, ‘त्यसमाथि समूहका सदस्यहरु अझै जंगलमा पनि लुकेको हुनसक्ने भएकाले खोजी जारी राखिएको हो ।’

घटनाको जिम्मेवारी विप्लव समूहले लिइसकेको अवस्थामा सोही समूहतर्फ केन्द्रित भएर अनुसन्धान जारी राखिएको मोरङ प्रहरी बताउँछ । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का भन्छन्, ‘घटनामा संलग्न व्यक्तिको पहिचान गरेर उनीहरुको खोजी गरिरहेका छौं ।’

मोरङमा एसपी खड्काले जिम्मेवारी सम्हालेलगत्तै प्रहरीले समूहविरुद्ध आक्रामक कारबाही अघि बढाएको थियो ।

एक अधिकारीका अनुसार समूहले पछिल्लो समय मोरङमा सैन्यतर्फ ठूलो क्षति व्यहोरेको थियो । त्यसक्रममा सुराकी दिएको आरोपमा समूहले मिक्लाजुङ–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठलाई अपहरणपछि घाँटी रेटेर हत्या गरेको हो ।

घटनापछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । तीन वटा सुरक्षा निकायको प्रमुख सहभागी बैठकले विप्लव समूह व्यक्तिहत्यातर्फ केन्द्रित भएको निष्कर्ष निकाल्दै समूहप्रति थप निर्मम बन्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment