Comments Add Comment

प्रधानमन्त्रीसँग निजी क्षेत्रको गुनासो : चन्दा आतंक बढ्यो, व्यवसायको वातावरण भएन

२५ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीले केही समययता चन्दा आतंक र उद्योग बन्द गराउने कार्य बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार साँझ नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटी व्यवसाय गर्ने वातावरण नभएको र व्यवसायीहरु पलायन भइरहेको गुनासो गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले केही समयदेखि विभिन्न माग राखी उद्योग बन्द गर्ने काम र जिल्लाका उद्यमी व्यवसायीबाट चन्दा आतङ्क बढेको गुनासो आएको भन्दै सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताए ।

बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेको भन्दै गोल्छाले कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकता रहेको धारणा राखे ।

कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको पनि अध्यक्ष गोल्छाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको बताए । ‘तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस्, के सहयोग गर्नुपर्छ म आफैं पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ’ महासंघका पदाधिकारीसँग ओलीले भने ।

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment