Comments Add Comment

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ  

२५ मंसिर, विराटनगर । मोरङको धनपालनाथ गाउँपालिकामा बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका– ५ कि २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना ५ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

तर मिलापत्र गराउन मुख्य भूमिका खेलेका जनप्रतिनिधिलाई भने प्रहरीले पक्राउ गरेको छैन । स्थानीयका अनुसार मिलापत्र गराउन भूमिका खेल्ने जनप्रतिनिधि गाउँ आसपासमै छन् ।

भदौ २४ गते बेलबारी नगरपालिका– ८ का सुरेशकुमार खवासले धानबालीमा युरिया हाल्न सँगै लगी युवतीलाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाको भोलिपल्ट बसेको स्थानीय भद्रभलादमीको भेलाले पीडित पक्षलाई ५ लाख रुपैयाँ दिने गरी मिलापत्र गरेको थियो ।

तर मिलापत्र अनुसार रकम नपाएपछि पीडित पक्षले २४ असोजमा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीले बुधबार बलात्कारमा संलग्नको आरोप लागेका युवकलाई पक्राउ गरेको छ । मिलापत्र गराएको आरोपमा बिहीबार धनपालथान गाउँपालिका– ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका– १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका – ८ का ५३ वर्षीय मथालु खवास पक्राउ परेका छन् ।

धनपालथान गाउँपालिका –५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवास पनि मिलापत्र गराउने भेलामा सहभागी रहेको एक स्थानीय बताउँछन् ।

पीडित युवती धनपालथान– ५ कि वडा सदस्य खवासको घरमा बस्थिन् भने आरोपी युवक वडा सदस्य प्रवीणको बुहारीका भाइ हुन् ।

कसरी भयो मिलापत्र ?

गत २४ भदौमा धनपालथान गाउँपालिका– ५ नहर छेउ धानबालीमा युरिया मल छर्न जाँदा बेलबारी नगरपालिका– ८ का ३३ वर्षीय सुरेश खवासले युवतीलाई साथी लिएर गएका थिए ।

त्यस क्रममा युवतीमाथि बलात्कार भएको भन्दै भोलिपल्छ युवतीका परिवारका सदस्य उजुरी दिन प्रहरी कार्यालय जाने तयारी थियो । तर गाउँको घटना गाउँमै मिलाउने भन्दै २५ गते बिहान भद्र भलादमीको बैठक बसेको थियो ।

बलात्कार मुद्दामा मिलापत्र गराउन बसेको बैठकमा केटा पक्षबाट ५–७ जना आएका थिए । पीडित युवती बस्ने घर पीडककै आफन्तको भएका कारण पैसा दिएर मिलाउने पक्षमा सबै लागि परेका थिए ।

एक स्थानीयका अनुसार छलफलमा दुईजनाको विवाह गराइदिने विषय उठ्यो । तर सुरेश विवाहित भएका कारण उनका आफन्त मानेनन् । युवतीको विवाहका लागि बिहे खर्च र क्षतिपूर्ति बापत ५ लाख रुपैयाँ दिने गरी मिलापत्र भएको थियो ।

२५ गते बसेको भद्र भलादमीको बैठकले ९ असोजभित्र पैसा दिने भाकासहित मिलापत्र गर्‍यो । तर मिलापत्रअनुसार पीडित परिवारले रकम पाएन । २५ भदौमा बैठक राख्न भूमिका खेलेकी वडा सदस्य नेपालदेवी खवासको घरमा फेरि छलफल तय भयो । छलफलमा पीडक पक्षलाई बोलाइयो । तर उनीहरु आएनन् । उनीहरुले आज–भोलि पैसा दिन टार्दै गएपछि पीडित पक्षले २५ असोजमा प्रहरीले घटनाबारे जानकारी पाएको थियो ।

किशोरीलाई बोलाएर सोधपुछ गरेपछि इलाका प्रहरी कार्यालय रंगेलीले जाहेरी लिएर अनुसन्धान सुरु गरेको थियो । केही दिनअघि अनलाइनखबरको सम्पर्कमा आएका युवतीका मामा नयन्द्रनारायणले समाजले प्रहरीमा जान नदिएका कारण ढिलो गरी उजुरी गरेको बताए ।

जाहेरी परेको एक महिनापछि प्रहरीले भेलामा सहभागीमध्ये ६ जनालाई पक्राउ गरेको हो । मिलापत्र गराउन संलग्न अरु मानिसहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनलोम खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment