२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका ३ खेलहरु २०२१ मार्चमा घरेलु मैदानमै खेल्ने भएको छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटको रुपमा रहेको एसियन छनोट अन्तर्गत समूह बीमा रहेको नेपालले मार्च २५ मा चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्नेछ ।
एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले मार्च ३० मा अष्ट्रेलियासँग खेल्नेछ भने जुन ७ मा जोर्डनसँग खेल्नेछ ।
एसियाली क्षेत्रको दोस्रो चरणको खेलहरु २०२० को मार्च र अप्रिलमा तय थियो तर कोरोना महामारीले गर्दा अक्टोबर नोभेम्बरसम्मको लागि छनोट खेलहरु स्थगित गरिएको थियो । कोरोना कारण फेरि एएफसीले छनोटका खेलहरु २०२१ मा सारेको हो ।
समूह बीमा नेपालले ५ खेल खेलिसक्दा जम्मा एक खेलमात्र जितेको छ । चाइनिज ताइपेइलाई उसैको मैदानमा २-० ले हराएको नेपालले कुवेतसँग दुवै खेल हारेको थियो भने अष्ट्रेलिया र जोर्डनसँग पनि पराजित भएको थियो ।
विश्वकप छनोटको खेलका लागि तयारी गर्न अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प डिसेम्बर १२ देखि सुरु गर्दैछ । त्यसका लागि एन्फाले ५८ खेलाडीलाई बोलाइसकेको छ ।
स्विडिस प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि एन्फाले उनको राजीनामा स्वीकृत गर्दै बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।
कालीन नहुँदा नेपालले नोभेम्बरमा बंगलादेशसंग उसैको मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा पनि बालगोपालले नै प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4