Comments Add Comment

नेपाली भाषा साहित्यका पुजारी माइकल हट

सन् १९९१ मा माइकल हटको अनुवाद र सम्पादनमा “हिमालयन भ्याइसेस” को प्रकाशन भएपछि नेपाली साहित्य र साहित्यकारको वृत्तमा उनको नाम विशेष चर्चाको विषय भयो । तर उनले त्यसको प्रकाशन अघि नै नेपाल आएर आफ्नो अनुसन्धानका कामहरु र लेखकहरुसँग सम्पर्क गरिसकेका थिए । कैयन् लेखक साहित्यकारहरु उनीसँग भेट्न लालायित भए, आफ्नो रचना अनुवादका लागि वा उनले सम्पादन र अनुवाद गर्न लागेको पुस्तकमा आफ्नो रचना समावेश गराउन सकिन्छ कि आशा र उम्मेदकासाथ ।

मैले पनि उनलाई भेट्न इच्छा गरें र नेपालमा उनका पहिलो पहिलो मित्र अभि सुवेदी मार्फत् उनी नेपाल आएको, काठमाडौं गेष्ट हाउसमा बसेको पत्ता लगाएर समय लिएर भेट्न गएँ । म त्यतिखेर विभिन्न साहित्यिक पत्रिका अखवारहरुमा कोलम लेख्ने गर्थें र उनीसँग यौटा सानो अन्तरवार्ता पनि लिएको थिएँ । अन्तरवार्ता वाहेक उनले केही साहित्यकारहरुले फलानो फलानो चाहीं हिमालयन भ्याईसेस मा छुट्न हुँदैन भनेको कुरा पनि वताएका थिए । मैले भने त्यो पक्ष र दृष्टिकोणबाट केही भनिंन । पछि पनि भनिंन, कहिल्यै भनिंन । उनीसँग मित्रता भयो र आजसम्म कायम छ, एक प्रकारले घनिष्ठ नै ।

उनी त्यसपछि जतिपल्ट नेपाल आए, आउनु अघि मलाई “आउँदैछु” भन्ने व्यहोराको चिट्ठी लेख्थे । हामी भेटघाट गर्थ्यौं । मेरो जेठो दाइले पनि एकपल्ट भेट्नु भयो । मेरो परिवार सबैसँग उनको भेट भयो । मेरो जेठो छोरा र उनको छोराबीच केही समय पत्राचार पनि भएको थियो ।

गोविन्द गिरी प्रेरणा

म सन् १९९२ मा भाग्य अजमाउन बेलायतको लण्डन पुगें । मैले त्यहाँ भेट्नुपर्नेको लिष्टमा निश्चित रुपले माइकल हटलाई राखें । बेलायत बसाइँको क्रममा एकदिन उनले युनिभर्सिटी अफ लण्डनको स्कूल अफ साउथ एशियन स्टडिजको आफ्नो कक्षमा निम्ता गरे । उनले भनेका थिए, “मेरा विद्यार्थीहरु मूल नेपाली भाषी नेपालीले कसरी नेपाली बोल्छन् त्यो अनुभव गर्न चाहन्छन् ।”

म त्यसका लागि तयार भएँ र उनको निम्तो मान्न पुगें । उनले आफ्नो त्यहाँको कोठामा भएको पुस्तक सङ्कलनबाट महाकवि देवकोटाको बारेमा वेद मेहताले लेखेको “इण्डियन समर” को अंश तथा डम मोरेले आफ्नो किताबमा देवकोटाबारे लेखेको अंश फोटोकपी गरेर दिए । त्यसदिन त्यहाँ उपस्थित बेलायती विद्यार्थीहरुसँग म मूल नेपाली भाषी नेपालीले बीलेर, उनीहरुसँग सम्वाद गरेर केही घण्टा बिताएँ । साथै उनीसँग त्यहाँको क्याफ्टेरियामा बिहानीको खाना पनि खाएँ ।

त्यसदिन उनले भनेका थिए-“अमेरिकाको यौटा विश्वविद्यालयले आफ्नो पत्रिकाको नेपाल विशेष निकाल्दैछ, तपाईंको कथा “प्रवेश” मैले अनुवाद गरिसकेको छु, त्यो त त्यसमा जान्छ, हिमालयन भ्वाइसेसमा नगए पनि, बरु यौटा समीक्षात्मक लेख लेख्न सक्नुहुन्छ भने त्यो राख्न मन छ ।”

मैले हुन्छ त भनें, तर लेख्न सकिनँ । पठाउन सकिनँ ।

मिशिगन स्टेट युनिभर्सिटीबाट प्रकाशित हुने त्यो पत्रिका “जर्नल अफ साउथ एशियन लिटरेचर” वर्ष २९ अङ्क १ नेपाल विशेषको रुपमा प्रकाशित भयो । नेपाली साहित्यलाई अमेरिका र विश्वका मुलुकमा चिनारी गराउन यो अङ्कले ठूलो काम गरेको छ ।

माइकल हट र अभि सुवेदीको संयुक्त लेखनमा प्रकाशित भयो, बेलायतको टिच योरसेल्फ सिरिजको “टिच योरसेल्फ नेपाली ।” यो पुस्तक लेखनसँग अचानक म पनि जोडिएको थिएँ । खासमा त्यो पुस्तकको फाइनल गर्न माइकल हट काठमाडौं आउँदै थिए, उनले आफू आउने भनेर चिट्ठी लेखेका थिए । म सदा झैं उनी आएपछि उनी नियमित रुपले बस्ने गरेको काठमाडौं गेष्ट हाउसमा भेट्न गएँ ।

उनले आफू “टिच योरसेल्फ नेपाली” फाइनल गर्न काठमाडौं आएको, तर फाइनल गर्नका लागि अभि सुवेदी नभएकाले समस्या भएको बताए । अभि सुवेदी जापान फाउण्डेसनको वृत्ती पाएर जापान उडिसकेका थिए । मैले सकेको मद्दत गर्छु भनें । मेरो कुरा सुनेर उनी निकै खुशी भए र भने, “प्रकाशकसँग अभि सुवेदी र मेरो सम्झौता भएकाले कितावको कभरमा तपाईंको नाम राख्न मिल्दैन, तर म पुस्तकभित्र तपाईबाट पाएको सहयोग उल्लेख गर्छु ।”

त्यसमा मेरो भन्नु केही छैन । म तपाईंलाई सहयोग गर्छु भनें । अनि केही दिन काठमाडौं गेष्ट हाउसमा त्यो पुस्तकको फाइनल गर्ने काममा मैले सहयोग गरें । उनले केही अस्पष्ट भएको नेपाली नाताको शव्दावली बेलायतबाट चिट्ठीमा पनि सोधेर पठाए । मैले त्यसको पनि जवाफ दिएँ । उनले फाइनल काम सकिएपछि खाममा मलाई त्यस वापत रकम पनि उपलब्ध गराएका थिए, जसलाई मैले सहर्ष स्वीकारेको थिएँ ।

एकपल्ट उनी नेपाल आएको अवसरमा उनको सिफारिसमा बेलायती राजदूतले आफ्नो निवासमा रात्री भोजनका लागि म र मेरी श्रीमतीलाई निम्ता गरेका थिए । त्यसै दिन उनीसँग मार्टिन चौतारीमा कुराकानी र छलफल थियो । त्यो कार्यक्रमपछि हामी रात्री भोजका लागि राजदूत निवास गएका थियौं । त्यस बेला थाहा भएको थियो, ती बेलायती राजदूतलाई नेपालमा राजदूत भएर आउँदै गर्दा माइकलले नेपाली भाषा पढाएका रहेछन् ।

विसं २०५५ सालको असारमा पनि माइकल नेपाल पुगेका थिए । त्यस वर्षको भानु जयन्तीका लागि चुँदी रम्घा जाने निम्तो ब्रतराज आचार्य मार्फत मैले पाएको थिएँ । मलाई लाग्यो, नेपाली भाषा साहित्यका पुजारी माइकल हटलाई भानुको जन्मस्थल लैजान पाए हुने । मैले माइकललाई सोधें, उनी जान इच्छुक देखिएपछि ब्रतराज आचार्यसमक्ष कुरा राखें । उनले सहर्ष ममार्फत निम्तो दिए । यसरी उनी भानु जयन्तीका लागि भानुको जन्मथलो चुँदी रम्घा पुग्ने पहिलो विदेशी पाहुना बन्न पुगे ।

यदाकदा उनको अनुवादलाई लिएर उनको आलोचना पनि हुने गरेको छ । विषेश गरी तारानाथ शर्मा उनको अनुवादलाई लिएर आक्रामक भएका थिए

काठमाडौंबाट जाने टोलीमा कमल दीक्षित पनि थिए र हामी निर्वाचन आयोगको जीपमा आयोगका सदस्य रामचन्द्र पौडेल सहित एकसाथ तनहुँ गएका थियौं र उनले पनि चुँदीको स्कूलको बेञ्चीमा सुतेर रात बिताएका थिए । अनि भानु जयन्ती कार्यक्रममा भानुको जन्मघर लगायत माथि डाँडासम्म पैदल वर्षामा रुझ्दै भिज्दै प्रभातफेरिमा सामेल हुनुका साथै पछि मूल कार्यक्रममा नेपाली भाषामा भाषण गरेर उपस्थित सबैलाई चकित तुल्याइदिएका थिए ।

माइकल हटले नेपाली साहित्यका महाकवि देवकोटाको “मुना मदन”, लीलबहादुर क्षेत्रीको “बसाइँ” कृति अनुवाद गरेका छन् । “बसाइँ” को अनुवाद अमेरिकाको कोलम्विया विश्वविद्यालयले प्रकाशित गरेको थियो पहिलोपल्ट, पछि नेपालबाट पनि प्रकाशित भएको छ ।

माइकल हटले “हिमालयन भ्वाइसेस” का अतिरिक्त “नेपाल इन द नाइन्टिज”, “मोडर्न लिटरेरी नेपाली”, भूटानी शरणार्थीहरुको बारेमा “अनविकमिङ सिटिजन्स”, माओवादी द्वन्द्वको विषयमा “हिमालयन पिपुल्स वार” लगायतका पुस्तकहरु लेखेका छन् ।

उनले भूपि शेरचनको जीवनीमूलक कृति “द लाइफ अफ भूपि शेरचन: पोयट्री एण्ड पोलिटिक्स इन पोष्ट-राना नेपाल” पनि लेखेका छन् । पछिल्लो समय निकै मेहनतका साथ नेपालको महाभूकम्पले नेपाली साहित्यमा कस्तो पारेको छ, त्यसको अध्ययन गरेका छन् । उनले तरुण पुस्ताका चर्चित उपन्यासकार बुद्धी सागरको “कर्णाली ब्लूज”को पनि अङ्ग्रेजीमा अनुवाद गरेका छन् ।

हुन त यदाकदा उनको अनुवादलाई लिएर उनको आलोचना पनि हुने गरेको छ । विषेश गरी तारानाथ शर्मा उनको अनुवादलाई लिएर आक्रामक भएका थिए । हुन त अनुवाद भनेको अनुवादै हो, मूल कृति जस्तो हुन सक्दैन । राम्रो साहित्यको अनुवादै हुन सक्दैन, कविता त झन् अनुवादै हुन सक्दैन भन्ने मत पनि पाइन्छ । तर विश्वमा साहित्यहरु अनुवाद हुन्छन्, प्रकाशित हुन्छन् । ती अनुवादले न्यूनतम रुपमा जुन भाषाबाट प्रकाशित भएको हो त्यो भाषाको साहित्यको चिनारी दिन्छन् । विश्वभरिका अङ्ग्रेजीभाषीहरुलाई नेपाली साहित्यको चिनारी दिन माइकल हटका अनुवादले ठूलो योगदान पुर्याएका छन् । त्यसमाथि नेपाली साहित्यको विषयमा उनले लेखेका कृतिहरुले झन् ठूलो योगदान पुर्याएका छन् ।

११ अक्टोवर १९५७ मा जन्मेका माइकल हटले नेपाली भाषा र साहित्यमा पिएचडी गरेका हुन् । उनी स्कूल अफ साउथ एशिएन स्टडिजमा पोष्ट डक्टरल फेलो, लेक्चरर, प्रोफेसरसम्म भए भने हेड अफ द डिपार्टमेण्ट अफ ल्याङ्ग्वेज एण्ड कल्चर, डिन अफ त फ्याकल्टी अफ अफ ल्याङ्ग्वेज एण्ड कल्चर, डाइरेक्टर अफ साउथ एशिया इन्स्टिच्यूट लगायतका पदमा आसिन रहे र आफ्नो ३३ वर्षे सेवाकालपछि २५ सेप्टेम्वर २०२० मा उनले अवकास लिए ।

उनको नेपाली भाषा साहित्यप्रतिको माया, अविच्छिन्न लगाव र प्रतिवध्दता अतुलनीय छ । यो बेग्लै कुरा हो, उनको योगदान अनुरुप नेपालका सरकारी निकायहरुबाट उस्तो मान, सम्मान, पुरस्कार पाएका छैनन् । उनले पाएको उल्लेखनीय पुरस्कारमा “नई देरुख अन्तरराष्ट्रिय पुरस्कार” हो ।

नेपाली भाषा साहित्यमा समर्पित माइकल हटजस्ता प्रतिभा विश्वमा विरलै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment