Comments Add Comment

सरकारी राहत प्याकेज उपयोग भए अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री

२७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड-१९को महामारीको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ -नाफिज)को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नुपर्ने बताए ।

सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने दावी समेत गरे । सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु पर्याप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

यस्तै कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सरकारले के कस्ता निर्णय गर्नुपर्छ भनेर स्पष्ट सुझाव दिन समेत निजी क्षेत्रसँग आग्रह गरे । निजी क्षेत्र उत्साह र आत्मविश्वासको साथमा अगाडि बढेमा सरकारले हात र साथ दिन तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

उनले कोभिड-१९को खोप आपूर्तिका लागि आवश्यक पर्ने स्रोतका विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि दिए । ‘आर्थिक जिवनलाई कसरी पूर्ववत अवस्थामा फर्काउन सक्छौं भन्ने गम्भिर प्रश्न हामीबीच छ । स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्दै आर्थिक क्रियाकलाप सुचारु गर्नतर्फ हामीले ध्यान दिएका छौं,’ उनले भने,’उनले भने,’ अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन अहिलेदेखि तयारी आवश्यक छ ।’ उनले उत्पादनका हरेक क्षेत्रलाई उत्साहित नतुल्याई अगाडि बढ्न नसकिने पनि बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायीक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए ।

कोभिडको बीचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दावी गभर्नर अधिकारीको छ ।

उनले आर्थिक वृद्धिबाहेक अन्य सूचांकहरु नकरात्मक नरहेको र  बाहृय क्षेत्रको स्थिती निकै राम्रो रहेको बताए ।

‘गत वर्षको तुलनामा आयात पनि घटेकेा छ । जुन खालको त्रास थियो, त्योभन्दा राम्रो अवस्था देखिएको छ,’ उनले भने,’तरलताको हिसाबमा हामी सोचेभन्दा राम्रो स्थितिमा छौं ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्रको सुधारका लागि सरकारले स्वेतपत्र जारी गर्नुपर्ने बताए ।

यस्तै निजी क्षेत्रलाई प्रवर्द्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीतिनियम ल्याउनुपर्ने माग समेत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको कारण व्यवसाय बन्द हुने अथवा क्षमता अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताए । त्यसैले बन्द उद्योग व्यवसायलाई पुनस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए  ।

ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको पनि बताए ।  विगतको आरोप चिर्दै निजी क्षेत्रका तीन वटै संगठन एक भएर अगाडि बढ्ने निर्णय भएको उनले बताए ।

‘निजी क्षेत्रका छाता संगठन आ-आफ्नै स्वार्थका लागि काम गर्ने गरेको आरोप थियो । तर, निर्वाचनपछि हामी तीनवटै संस्था एक भएर अगाडि बढ्ने निर्णय गरेका छौं,’ उनले भने ।

उनले विगतमा महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर अगाडि बढेको बताए ।

यस्तै, ढकालले कोभिडका कारण नेपालमा भई रहेको व्यवसाय बन्द भएको र आफ्नो क्षमतामा नचलेको अवस्था रहेको बताए । ‘ती सबै उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन पर्ने चूनौती आएको छ,’ उनले भने ।

कोभिडको कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन सक्दा देशमा लाखौं मानिसहरुले रोजगारी गुमाउनुपरेको पनि उद्योगी व्यवसायीहरुले बताए । त्यसैले रोजगारीको सिर्जना गर्नका लागि पनि सरकारबाट व्यवसायीक वातावरण निर्माणको अपेक्षा गरिएको उद्योगी व्यवसायीहरुको भनाई छ  ।

उद्योगी पवन गोल्यानले कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको बताएका छन् ।

बैंक तथा वित्तीय परिसंघ संस्थाका अध्यक्ष समेत रहेका गोल्यानले महामारीको समयमा अर्थतन्त्रको भार लिए पनि सबैले बैंक तथा वित्तीय संस्थालाई सबैले गाली गर्ने गरेको बताए ।

‘नेपालका सबै वित्तीय कम्पनीहरु पारदर्शी हिसाबले काम गर्छन्, तर, पनि सबैले यही क्षेत्रलाई गाली गर्ने गर्छन,’ उनले भने ।

यस्तै, बैंक तथा वित्तीय संस्था क्षेत्रको कानुन बनाउँदा यही क्षेत्रसँगको सहकार्यमा बनाउँदा कार्यान्वयमा सहजता तथा प्रभावकारी देखिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment