
२८ मंसिर, काठमाडौं । बहराइनले चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि अुनमति दिएको छ । गत साता यूएईले यो खोपबारे केही जानकारी सार्वजनिक गरेको थियो । यूएईका अनुसार सिनोफर्मको यो खोप ८६ प्रतिशत प्रभावकारी देखिएको थियो । यूएईले पूर्ण विवरण नदिए पनि यो खोपको प्रभावकारिताबारे सार्वजनिक भएको यो पहिलो जानकारी हो ।
बहराइनले यसअघि नै फाइजर र बायोएनटेकले संयुक्तरुपमा विकास गरेको कोरोना खोप प्रयोगको अनुमति दिइसकेको छ । बहराइनले मुलुकमा सिनोफर्मको खोप परीक्षणका लागि सात हजार सात सय मानिसहरुले हस्ताक्षर गरिसकेको बताएको छ । बहराइनले यसअघि आफ्ना सबै नागरिकलाई कोरोना खोप निःशुल्क दिने बताएको थियो । तर, उसले अहिलेसम्म आफ्नो खोप कार्यक्रमबारे कुनै जानकारी भने दिएको छैन ।
सिनोफर्मले आफ्नो कोरोना खोपको अहिले विभिन्न १० मुलुकमा अन्तिम चरणको परीक्षण गरिरहेको छ । कम्पनीले विकास गरेको यो खोप यसअघि प्रयोग भइसकेको प्रविधिमा आधारित छ । जसको कारण यो खोप सुरक्षित हुने विशेषज्ञहरुले बताएका छन् । यो खोपमा मृत कोरोना भाइरसको प्रयोग गरिएको छ । जसको सहयोगमा हाम्रो शरीरले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता विकास गर्नेछ । यसअघि पोलियो खोपमा पनि सोही प्रविधिको प्रयोग गरिएको थियो ।
स्रोत : एपी
प्रतिक्रिया 4