Comments Add Comment

एसियाली छनोट जितेमा नेपालले यू-१९ विश्वकप खेल्न पाउने

फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । सन् २०२२ मा वेस्ट इन्डिजमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुनका लागि नेपाली युवा टोलीले एसियाली क्षेत्रीय छनोट जित्नुपर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई वर्षपछि हुने युवा विश्वकपको लागि आइतबार रोडम्याप सार्वजनिक गरेको हो । जस अन्तर्गत विभिन्न क्षेत्रको छनोटमा कुल ३३ टिमले प्रतिस्पर्धा गर्नेछन् र ५ टिम विश्वकपका लागि छनोट हुनेछन् । ११ टिम भने यसअघि नै विश्वकपका लागि तय भइसकेका छन् ।

नेपालले विश्वकप पुग्नका लागि यूएईमा हुने एसिया छनोट जित्नुपर्नेछ । जसमा नेपाल, यूएई, मलेसिया र एसिया छनोट अन्तर्गत डिभिजन २ बाट आउने दुई टिमले प्रतिस्पर्धा गर्नेछ । आसीसीले उक्त प्रतियोगिताको मित भने घोषणा गरेको छैन । उक्त प्रतियोगिताको विजेता टिमले विश्वकपमा छनोट हुनेछ ।

एसिया डिभिजन २ मा भुटान, हङकङ, ओमान, कतार, साउदी अरबिया, सिंगापुर र थाइल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै अमेरिका, अफ्रिका, युरोप र इस्ट एसिया क्षेत्रबाट पनि एक एक टिम विश्वकपमा छनोट हुनेछ ।

अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बावेले भने सिधै विश्वकपमा स्थान पक्का गरिसकेका छन् । टेष्ट राष्ट्रमध्ये आयरल्यान्डको यू-१९ टोलीले भने यूरोप छनोट खेल्नुपर्ने भएको छ ।

नेपालको यू१९ टोलीले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो । दक्षिण अफ्रिकामा भएको पछिल्लो विश्वकपमा भने नेपाल छनोट हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment