Comments Add Comment
पोखराको सडकमा वर्ष दिनपछि कांग्रेस :

कांग्रेस जाग्यो, कम्युनिष्टका विरुद्ध लड्छौं

२९ मंसिर, पोखरा । चारतारे झण्डासहित नेपाली कांग्रेसका कार्यकर्ताको लस्कर पोखराको सडकमा एक वर्षपछि देखिएको छ ।

१४ मंसिर, २०७६ मा भएको उपनिर्वाचनका क्रममा सडकमा देखिएको कांग्रेस कार्यकर्ता सोमबार सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् र भनेका छन्, ‘कांग्रेस मरेको थिएन, सुतेको थियो । अब जाग्यो ।’ दमौलीको बुल्दी खोला पुल उद्घाटनको विवादमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आक्रमण गरेर यो सरकारले कांग्रेसलाई जगाउने काम गरेको कांग्रेस नेताहरुले बताएका छन् ।

कोभिड–१९ को संकटमा सरकार सत्तामा लिस्त भएको, भ्रस्टाचार र अनियमिततामा फसेको र वरिष्ठ नेतामाथि दुब्र्यवहार गरेको भन्दै कांग्रेसले पोखराको पृथ्वीचोकमा गरेको विरोध सभाको मुख्य वक्ता थिए, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी ।

पोखरा मानव अधिकार चोक, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर भएको आम सभालाई सम्बोधन गर्दै केसीले सरकारलाई चेतावनी दिए, ‘कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसले चौथो आन्दोलन सुरु ग¥यो ।’

राणा, पञ्चायत र राजा फाल्न आन्दोलन र संघर्ष गरेको कांग्रेसले अब कम्युनिस्ट सरकार फाल्न चौथो आन्दोलन थालेको उनको भनाइ थियो । ‘हामीले ३ पटक संघर्ष ग¥यौं, राणा हटाउन, पञ्चायत हटाउन र गणतन्त्र ल्याउन’ नेता केसीले भने, ‘अब हामी कम्युनिष्टका विरुद्ध लड्छौं, यो हाम्रो वार्मअप मात्र हो ।’

यो सभा कास्टिङमात्र भएको भन्दै केसीले अब पूरै दृश्य हेर्न तयार रहन सरकारलाई आग्रह गरे ।

नेता केसीले ओली नेतृत्वको सरकार दिनप्रतिदिन भ्रष्ट हुँदै गएको र नेकपाको पछिल्लो विवाद पनि कसले धेरै खाने भन्ने कुरामा भएको केसीको भनाइ थियो । वाइडबडी, न्यारोबडी, ३५ किलो सुन प्रकरण, ओम्नी प्रकरण, सुरक्षा मुद्रण खरिदबारे ७० करोड प्रकरणमा यो सरकार फसेको केसीको आरोप थियो ।

५० अर्ब लाग्ने भनिएको कोरोना भाइरसको खोप किन्दा पनि यो सरकारले भ्रष्टाचार गर्नेमा नेता केसीले शंका व्यक्त गरे । कम्युनिष्टहरुका कारण लोकतन्त्र धरापमा परेको भन्दै उनले लोकतन्त्र बचाउनकै लागि पनि आन्दोलन गर्नुपरेको बताए ।

लोकतन्त्रको जामा लगाएर ओली सरकार एकदलीय शासनतर्फ उन्मुख रहेको केसीको आरोप छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको आक्रमण सुनियोजित र शृंखलावद्ध भएको केसीको भनाइ थियो ।

सभामा पूर्वसभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले जनताबाट ५ वर्ष शासन गर्ने जनादेश लिएर भ्रष्टाचार लिन भएको बताए । उनले सरकार कति भ्रष्टचारमा लिस्त छ भन्ने कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले प्रस्ट पारेको दाबी गरे ।

कांग्रेस नेता यज्ञबहादुर थापाले नेकपा र अहिलेको सरकारले सुतेको बाघलाई ब्युँझाएको बताए ।

व्युँझिएको बाघ अब सडकमा गर्जिन थालेको बताउँदै थापाले अब सबै पाखा लाग्ने बताए । हिजो ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरु र आज हामीजस्तो कोही छैन भन्ने कम्युनिस्टहरु अब कांग्रेस सडकमा निस्किएकाले पाखा लाग्ने उनको भनाइ थियो ।

‘हिजो राजाको घोडा आयो बाटो छोडछोड भनिन्थ्यो अब काँग्रेसको घोडा आयो बाटो छोड छोड,’ थापाले भने, ‘राजा आऊ देश बचाऊ भन्ने प्रतिगमनकारी फ्याउराहरु पाखा लाग, जनताबाट निर्वाचित भएर संविधानको मर्यादाहरु पालना नगरी नेकपाका फ्याउराहरु पाखा लाग । सडकमा कांग्रेको घोडा दौडेपछि सबै पाखा लाग्ने दिन आयो ।’

पूर्वमन्त्री महादेव गुरुङले सरकार भ्रष्टाचार लिप्त हुँदा पनि चुप लागेर बस्ने कांग्रेसमाथि जनताले शंका गरिरहेको बताए ।

‘जनताले हामी पनि शंका गरिरहेका थिए । मलाई प्रश्न पनि गरिरहेका थिए, कांग्रेस नबोली बस्नुका पछाडिको कारण के छ,’ गुरुङले भने, ‘वरिष्ठ नेतालाई सरकारले अपमान गरेपछि कांग्रेस बल्ल जाग्न थाल्यो । अब कसैको केही लाग्दैन ।’

कास्की सभापति कृष्ण केसीले नेकपा सरकारले कांग्रेसलाई अझै मजबुत बनाउने काम गरेको बताए । योभन्दा अगाडि नै आन्दोलन निरन्तर खबरदारी गर्न कार्यक्रम ल्याउनुपर्नेमा एक/डेढ वर्षपछि भए पनि कांग्रेसले चेतेको कार्यकर्ताको भनाइ थियो । प्रतिपक्षमा रहेर पनि त्यो भूमिका निर्वाह गर्न नसकेको कांग्रेसका अगाडि जनताले अवसर नै अवसर दिएको नेता कार्यकर्ताको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment