Comments Add Comment

गौतमबुद्ध कप : राप्ती अपराजित रहँदै च्याम्पियन

३० मंसिर, काठमाडौं । विनोद भण्डारीको कप्तानीमा रहेको टिम राप्तीले चितवनमा सम्पन्न गौतम बुद्ध कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा करण केसीको कप्तानीमा रहेको टिम नारायणीलाई ९ रनले पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो । प्रतियोगिताअघि नरायणीको कप्तान पारस खड्कालाई तोकिएपनि उनी एक दिनअघि कोरोना संक्रमित भएपछि चितवन गएनन् । पहिलो खेलमा सुवास खकुरेलले नारायणीको कप्तानी गरेका थिए । तर उनी पनि घाइते भएपछि करण केसीले नारायणीको कप्तानी गरेका हुन् ।

बागमती प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा तीन टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा राप्तीले लिगमा बागमती र नारायणीलाई हराएको थियो भने फाइनलमा पनि नारायणीलाई नै पराजित गर्दै उपाधि जितेको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको छेउमा रहेको नमुना क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । १४३ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

कुशल भुर्तेल र कप्तान विनोदको उत्कृष्ट ब्याटिङमा राप्तीले राम्रो स्कोर बनाएको थियो । कुशलले ३१ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ४२ रन बनाए । यस्तै विनोदले आक्रमक ब्याटिङ गर्दै ३३ रन जोडे । उनले २१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यसैगरी सुमित महर्जनले २२, अमित श्रेषठले १८ र शरद भेषावकरले १० रन बनाए ।

बलिङमा नारायणीका स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट बाँडे । शाहब आलमले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने सुशन भारीले ४ ओभरमा ११ रन मात्र खर्चेर २ विकेट लिए । करणले १ विकेट लिए । राप्तीका दुई खेलाडी रनआउट भए ।

लक्ष्य पछ्याउने क्रममा नारायणीले राजु रिजालले दोस्रो ओभरमै गुमायो । राजुल ६ रनमै आउट भए । तर दोस्रो विकेटका लागि रित गौतम र इशान पाण्डेले अर्धशतकीय साझेदारी गर्दै केही आशा जगाएका थिए । यी दुईले ५१ रनको साझेदारी गरे । इशान र रित दुवैले समान २७ रन बनाए । त्यसपछि आएका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए तर जितसम्म पुर्‍याउन सकेनन् । आरिफले ३१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । अन्य बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । सन्दीप जोरा र किशवर महतोले खाता खोल्न सकेनन् भने सुशन भारी र कप्तान करण समान १ रन तथा सिद्धान्त लोहनी ६ रन बनाएर आउट भए ।

नारायणीलाई जितसम्म पुग्नबाट रोक्न राप्तीका बलरले उत्कृष्ट प्रदर्शन गरे । राप्तीका अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै भुवन कार्कीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया र कमल सिंह भारीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment