Comments Add Comment

लगानी बोर्डमा चार ठूला परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश

३० मंसिर, काठमाडौं । लगानी बोर्डले सहजीकरण गरिरहेकामध्ये चारवटा ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेश गरेका छन् ।

बीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्राइट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको लागि विकासकर्ता कम्पनी फ्ल्यास फ्राइट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो प्रालिले मंगलबार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको छ । यसका लागि लगानी बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ मंसिर १५ मा समभदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसैगरी, विराटनगरमा निर्माण हुने मल्टी मोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक र सर्राफ समूहले समेत पनि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डको कार्यालय समक्ष पेश गरेका छन् । बोर्डको कार्यालय र कम्पनीहरु विकासकर्ता कम्पनीबीच २०७६ असार २ मा यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

चाइना-नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डस्ट्रियल पार्कले सोमबार बोर्डको कार्यालय समक्ष विस्तृत परियोजना प्रतिवेदन पेश गरेको छ । २०७६ साउन १७ मा सम्पन्न लगानी बोर्डको ३९औं बैठकले उक्त परियोजना निर्माणको लागि ५५.६१ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको थियो । उक्त परियोजना ल्हासा इकोनमेमिाक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ जिङ जोइन्ट क्रिसयन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कर्पोरेसन र मक क्लिन इन्डस्टि्रयल पार्कको संयूक्त लगानीमा झापाको दमकमा निर्माण हुन लागेको छ ।

त्यसैगरी बीरेठाँटी-मुक्तिनाथ केवलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शनले गत मंसिर १४ मा बोर्ड कार्यालय समक्ष पेश गरेको छ । कुल ८०.१६ किमि लामो प्रस्तावित केवलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ सम्मको हुनेछ ।

लगानी बोर्ड कार्यालयको समन्वयमा बोर्ड कार्यालय, नेपाल विद्युत प्राधिकरण र होङ्सी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारीहरुबीच उक्त परियोजनाको लागि आवश्यक विद्युत प्रसारणलाईन निर्माणमा देखिएका समस्या समाधानको लागि छलफल भएको छ ।

उक्त छलफलमा विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाको लागि प्रसारण लाइन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला परियोजनाले रोजगारी लगायत देशको समग्र आर्थिक विकासमा उल्लेख्य योगदान पुग्याउने उल्लेख गर्दै यस्ता परियोजनाहरुको कर्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो प्रयास गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment