Comments Add Comment

कसले छाड्यो यी महिलालाई तीनकुनेमा ?

१ पुस, काठमाडौं । काठमाडौंस्थित तीनकुनेको व्यस्त सडक । सडकको छेउमा फुटपाथ । पुटपाथमा पनि मानिसको ओहोर-दोहोर बाक्लो छ । सडकको पश्चिमपट्टिको फुटपाथ छेउमै भिरालो जमिन छ । जहाँ एक अधवैशे महिला सुतिरहेकी छिन् ।

मोटोमाथि ब्ल्याङ्केट, ब्ल्याङ्केटमाथि उनी सुतेकी छिन् । उनको टाउकोमा सिरानी अडिएको छ । र, ब्ल्याङ्केट नै ओढेकी छिन् ।

ती महिलालाई सरिता खड्काले बाटो हिँड्दै गर्दा तीन दिनअघि देखिकी थिइन् । त्यतिबेला पनि ती महिलाको आसन उस्तै थियो । सरिताले भनिन्, ‘अफिसबाट फर्कंदै गर्दा साँझको आठ बजेतिर पुल छेउमा कपडाको थुप्रो र मान्छेजस्तै देखें । नजिकै पुगेर हेर्दा भर्खरै कसैले छोडेर गएको जस्तो देखिन्थ्यो ।’

महिलाको अनुहार गोरो छ । तर, दुब्लाएर कक्रक्क परेको । शरीरमा न्यानो कपडा लगाइएको थियो । ती महिला भने न हलचल गर्न सक्थिन्, न त केही बोल्न नै । सरिताले सोचिन्– कोही आफन्त आएर लैजालान् की ! अनि उनी बाटो लागिन् ।

तर, अर्को विहान पुग्दा पनि ती महिलाको अवस्था उस्तै थियो । सरिताले भनिन्, ‘मन थाम्न नसकेर डाइपर परिवर्तन गरिदिएँ अनि केही खाना र जुस खुवाइदिएँ ।’ ती महिलाले भने आफैं खानसमेत सक्दैनथिन् । किनकी उनलाई प्यारालाइसिसले गाँजेको छ ।

मंगलबार विहान पनि उनी नौ बजेसम्म उनै महिलाको छेउमा गएर बसिन् । खाना खुवाइन् । अहँ ! महिलालाई लिनको लागि कोही आफन्त आएनन् । सरिताले भनिन्, ‘बोलाउँदा पनि केही बोल्न सक्नुभएन । रोइमात्र रहनुभयो ।’ सरितालाई आपत आइलाग्यो– अब कहाँ लैजाने, कसलाई भन्ने ? यही आपतले सरिताले मानवसेवा आश्रमबारे जानकारी पाइन् ।

मानव सेवा आश्रमका संयोजक सुमन वर्तौलाले भने, ‘उहाँलाई अपरान्ह उद्धार गर्यौं तर वीर अस्पतालमा उपचार गराउँदा गराउँदै मंगलबार राति नै उहाँको मृत्यु भयो।’

बेवारिसे ती महिलाको प्रकृति हेर्दा कसैले अस्पताल वा घरबाटै लिएर छोडेको जस्तो देखिने सुमन बताउँछन् । उनले थपे, ‘महिलाको उमेर ४० देखि ४५ वर्षको जस्तो देखिन्छ । आफन्तले नै लिएर छोडेको हो की भन्ने अनुमान पनि छ ।’ तर, उनीहरुले पनि अहिलेसम्म आफन्त पत्ता लगाउन सकेका छैनन् ।

तीनकुनेमा देखिएको यो दृष्यले मानिसहरु हिंस्रक बन्दै गइरहेको देखाउँछ । मंसिर–पुसको चिसो जाडोमा आफ्नै अभिभावकलाई घरबाट निकालेर सडकमा लावारिस छोड्न कस्तो मानसिकताले काम गर्छ ? यो घटनाले मानवीयतामाथि निकै ठूलो प्रश्न चिन्ह पनि खडा गरेको छ ।

यो पनि पढ्नुहोस भोलि उठी कहाँ जाने केही थाहा छैन…

केही समयअघि आफ्नै परिवारबाट हेला भएपछि घर छोडेर खुलामञ्चमा निःशुल्क खाना कुरेर बसिरहेका एक वृद्धको समाचार अनलाइनखबरबाटै प्रकाशित भएको थियो । भर्खर जन्मिएको शिशुलाई फुटपाथ र झाडीमा फ्याँकिएको समाचार पनि पटक–पटक प्रकाशित गर्नुपरेको छ ।

दुई वर्षअघि वर्षअघि मानव सेवा आश्रमकै छेउमा क्यान्सर लागेको एक वृद्धलाई लिएर आफन्तले छोडेका थिए । उनको मुख सुन्निएको थियो र सिकिस्त विरामी थिए । यस्तो देखेपछि आश्रमले नै वृद्धाको स्याहार गर्न थाल्यो । सुमन भन्छन्, ‘कहिलेकाहीँ यस्ता केसहरु भेटिरहेका हुन्छन् ।

परिवार भएपछि आश्रमले लिँदैन भन्ने थाहा पाएर मानिसहरुले यस्तो गतिविधि गर्ने सुमनको भनाइ छ । तर, ती वृद्धा लामोसमय बाँच्न सकेनन् । परिवारले नै बोझको रुपमा लिएर आफन्तलाई जिउँदै सडकमा छोड्दिने जस्तो क्रूर निर्णय लिने गरेका सुमनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment