Comments Add Comment

डा. महेशराज पन्त र सूर्य सुवेदीलाई प्रज्ञाको मानार्थ सदस्य

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रोफेसर डा. सूर्यप्रसाद सुवेदीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले मानार्थ सदस्यता दिने निर्णय गरेको छ ।

प्रतिष्ठानको काठमाडौँमा सम्पन्न ३५औं प्राज्ञसभाले इतिहासकार महेशराज पन्त र प्रोफेसर डा. सूर्यप्रसाद सुवेदीलाई मानार्थ सदस्यता दिने निर्णय गरेको छ । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत डा. सुवेदी काठमाडौँको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका व्यक्ति हुन् ।

हालसम्म प्रतिष्ठानमा धनशमसेर जबरा, धरणीधर कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, शम्भुप्रसाद मिश्र, सिद्धिमुनी शाक्य र तेजरत्न कंसाकार मानार्थ प्राज्ञमा नियुक्त भएका छन् भने २०५१ सालपछि कालीदाश श्रेष्ठ, जनकलाल शर्मा, दुर्गालाल श्रेष्ठ, नातिकाजी श्रेष्ठ, बदरीनाथ भट्टराई, सुन्दर झा शास्त्री र केशव दुवाडीले मानार्थ सदस्यको सम्मान पाएका छन् । जसमध्ये तेजरत्न कंसाकार, कालीदाश श्रेष्ठ र दुर्गालाल श्रेष्ठ मात्र हाल जीवित छन् ।

यसैगरी, प्रतिष्ठानले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । जसअनुसार रु. दुई लाखको ‘नेपाल सामाजिक शास्त्र संस्कृति दर्शनशास्त्र पुरस्कार’ वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, रु. एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले रु. दुई–दुई लाख राशीको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालंकार सम्मान’ चीनका प्रा. वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले गत आवको खर्च पारित गर्दै चालु आवका लागि १९ करोड ५० लाखको बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । बैठकमा कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमको योजनाबारे सभामा छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment