Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आफ्नै ‘सुरक्षा इकाइ’

१ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै ‘सुरक्षा इकाइ’ बनाउने भएको छ । मंगलबार बालुवाटरमा बसेको विश्वविद्यालयको दशौं सभा (सिनेट)ले विश्वविद्यालयलाई आफ्नै सुरक्षा युनिट बनाउने कानुनी बाटो खुलेको छ ।

सिनेटले सुरक्षा युनिट सम्बन्धी प्रस्ताव सर्वसम्मत पास गरेपछि विश्वविद्यालयलाई ‘सुरक्षा इकाइ’ राख्ने बाटो खुलेको हो । विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा इकाइ’ बनाउन लागिएको छ विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

‘विश्वविद्यालयको आन्तरिक सुरक्षा र भौतिक सम्पत्तिको रक्षा गर्न ‘सुरक्षा इकाइ’ आवश्यक छ । सिनेटले ‘सुरक्षा इकाइ’ गठनको प्रस्ताव पास गरेको छ,’ सिंहले भने ।

योसँगै विश्वविद्यालयले अब १५ देखि २५ जनाको ‘सुरक्षा इकाइ’ बनाउने छ । ‘सुरक्षा इकाइ’ले विश्वविद्यालयको भौतिक सम्पत्तिको संरक्षण, क्याम्पस तथा प्रशासनिक निकायमा सुरक्षा प्रदान गर्नेछ ।

इकाइमा सैन्य तालिम प्राप्त र ५० वर्ष उमेरमुनिका जनशक्ति राखिने छ । पूर्व नेपाल आर्मी, नेपाल प्रहरी, भारतीय सेना वा जुनसुकै देशमा मान्यता प्राप्त सुरक्षा संगठनमा काम गरेका र युवा जनशक्तिलाई ‘सुरक्षा इकाइ’मा भर्ना गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयमा अहिले पनि काम गरिरहेका पाले र कार्यालय सहयोगीहरु छन् । तर, ती जनशक्ति विश्वविद्यालयले नियुक्त गरेका नभइ क्याम्पस तथा दोस्रो निकायले करार सम्झौता गरेका हुन् ।

विश्वविद्यालयले शिक्षण अस्पताल खोल्दै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी भएकाले सुर्खेतलाई रेफ्रल हस्पिटल बनाउने गरी अत्याधुनिक शिक्षण अस्पताल सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ ।

नयाँ शैक्षिक सत्रदेखि नै पठनपाठन गर्नेगरी विश्वविद्यालयले थप चारवटा संकाय पनि सञ्चालन गर्न लागेको उपकुलपति सिंहले जानकारी दिए ।

उपकुलपति सिंहका अनुसार स्वास्थ्य विज्ञान, कृषि तथा वन विज्ञान संकाय, अनुसन्धान र विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान सीप तथा प्रविधि शिक्षालय थपिने भएका छन् ।

जसमध्ये स्वास्थ्य विज्ञान संकायतर्फ नयाँ शैक्षिक सत्रदेखि वीपीएच, बीएससी नर्सिङ र बीए नर्सिङ र कृषि तथा बन विज्ञान संकायतर्फ वीएससी एजीको पठनपाठन गरिनेछ ।
पहिलो वर्ष स्नातक तहमा चार वर्षे कार्यक्रम अन्तरगत बीएससी एजी, वीपीएच, बीएससी नर्सिङ र वीए नर्सिङको पढाइ हुने छ । शिक्षण अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले आगामी दुई वर्षभित्र स्नातकोत्तर तहमा एमबीबीएससमेत सुरु गर्ने छ ।

हाल विश्वविद्यालयमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन र विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायको पठनपाठन हुँदै आएको छ । योसँगै अब विश्वविद्यालयमा ८ वटा संकायको पठनपाठन हुनेछ ।

अध्ययन, अनुसन्धान, अस्पताल र कृषि तथा वन विज्ञानलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमै अत्याधुनिक प्रयोगशालाहरु निर्माण गरिने उपकुलपति सिंहले जानकारी दिए ।
त्यस्तै अनुसन्धान विकास केन्द्र  र कर्णाली आदिवासी ज्ञान सिप तथा प्रविधि शिक्षालयले पनि पठनपाठन गर्नेछन् । यी दुवै संकाय नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेका हुन् ।

नयाँ दरबन्दी स्वीकृत

संकाय थप भएसँगै विश्वविद्यालयले १७१ जना नयाँ दरबन्दी पनि स्वीकृत गरेको छ । थपिएका विषयमा ९४ जना र यसअघि विभिन्न संकायमा ७७ जना गरी कुल १७१ जनाको नयाँ दरबन्दी स्वीकृत गरिएको उपकुलपति सिंहले जानकारी दिए ।

यसअघि विश्वविद्यालयमा ३१९ जनाको दरबन्दी स्वीकृत थियो । दरबन्दी कम हुँदा स्वीकृति गरेर विश्वविद्यालयको कार्यकारी समितिले ७७ जनालाई आन्तरिक स्रोतबाट सेवा सुविधा दिने गरी दरबन्दी सिर्जना गरेको थियो ।

तर उनीहरुलाई आन्तरिक स्रोत नभई सरकारबाट प्राप्त रकमबाट सेवा सुविधा दिइँदै आएको थियो । जसका कारण विश्वविद्यालयका नाममा वर्षेनी करोडौ रुपैयाँ बेरुजु आउने गरेको थियो ।

यस्तै बैठकले विश्वविद्यालयमा उपप्राध्यापकले ५० वर्षसम्म सेवा प्रवेश पाउने बाटो खुलाएको छ । यसअघि विश्वविद्यालयमा सहप्राध्यापक र प्राध्यापकले मात्रै ५० वर्ष उमेरसम्म सेवा प्रवेश पाउने कानुनी प्रावधान थियो ।

बैठकले विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुलाई बहुमुखी प्रणालीमा लैजाने निर्णयसमेत बैठकले गरेको छ । आंगिक क्याम्पसमा विविध विषयको पठनपाठन हुने भएकाले आंगिक क्याम्पसको यसअघिको नाममा बहुमुखी शब्द थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment