Comments Add Comment

भक्तपुर दुर्घटना : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, साढे ११ लाख क्षतिपूर्ति दिइने

फाइल तस्वीर

३ पुस, काठमाडौं । भक्तपुर दुर्घटना प्रकरणमा महिलाको मृत्युमाथि परिवारले गरेको आशंका अनुसन्धानबाट पुष्टि नभएको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले पनि ३० वर्षीया रिया श्रेष्ठको दुर्घटनामा ठोक्किएका कारण मृत्यु भएको निष्कर्ष निकालेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, कौशलटारमा २१ मंसिरमा बा ८ च ४७५६ नम्बरको कार दुर्घटना हुँदा २१ मंसिरमा श्रेष्ठको मृत्यु भएको थियो भने कार चालक रञ्जित कार्कीसहित अन्य दुई जना भने सामान्य घाइते भएका थिए ।

भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरी का आधारमा अनुसन्धान गर्दा शंकास्पद विषयहरु भेटिएनन् । त्यसपछि दुवै पक्षले छलफल गरेर मृतक श्रेष्ठकी ७ वर्षीय छोराको नाममा क्षतिपूर्ति रकम जम्मा गर्ने गरी सहमति भएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत ५ लाख २५ हजार रुपैयाँसहित बच्चाको पढाइका लागि थप ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ खातामा जम्मा गरिदिने सहमति भएको छ ।

दुर्घटनामा कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्षति पुगेको थियो । यत्रो दुर्घटना हुँदा अरुलाई केही नहुनु शंकास्पद भएको मृतकका पति राजुले दाबी गरेका थिए ।

तर, अनुसन्धान अधिकृतहरुले भने कार्कीले घटनापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको बताएका छन् । मृत्यु भइसकेको थाहा पाएपछि भाग्नु चाहिँ चालक कार्कीलगायतको गल्ती भएको प्रहरीको भनाइ छ ।

महिलाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको प्रहरीको निष्कर्ष छ । दुवै जनाले मादक पदार्थ सेवन गरेको आशंका गरिए पनि समयमै परीक्षण गर्न नपाउँदा पुष्टि नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटना भएका वेला रञ्जित र रिया नगरकोट गएर फर्किएका थिए । घर फर्किइसकेपछि राधेराधेबाट दुई जना साथीले बोलाएपछि उनीहरु लिन गएका थिए । त्यसक्रममा फर्किँदा दुर्घटना भएको हो ।

चालक कार्कीले कार तीव्र गतिमा रहेको जस्तो लागेपछि मिटरमा हेर्दा अचानक अगाडि गाईको बाच्छा देखेको बताएका छन्, जसलाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएको कार्कीको दाबी छ ।

सवारी ज्यान सम्बन्धी कसूरमा कार्की अझै थुनामा छन् । कानुनतः २५ दिन अगावै यस किसिमको मुद्दाको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment