Comments Add Comment
भक्तपुर दुर्घटना :

मृतकका श्रीमानको प्रश्न : रियाको मृत्यु हुँदा अरुलाई किन केही भएन ?

२२ मंसिर, काठमाडौं । भक्तपुरमा आइतबार राति पानै १ बजे भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी ३० वर्षीया रिया श्रेष्ठको परिवारले दुर्घटना योजनाबद्ध भएको आशंका गरेको छ । त्यसको गम्भीर छानबिन गर्न माग गर्दै आमा सम्झनाले महानगरीय प्रहरी वृत्त, ठिमीमा किटानी जाहेरी पनि दिइसकेकी छन् ।

अनलाइनखबरसँग सम्पर्कमा आएका रियाका पति राजुले सवारी दुर्घटना हुँदा श्रीमती रियाको मृत्यु हुनु र अरु सबै सकुशल रहनु नै शंकाको मुख्य कुरा भएको बताए ।

‘रियाको चोट र गाडीमा हुने अन्यको अवस्था मात्रै हेर्दा पनि धेरै कुरा थाहा भइहाल्छ’, उनले अनलाइनखबरसँग भने, ‘अस्पताल लैजानुपर्नेमा चालकसहित सबै जना मध्यराति भागे भन्ने कुरामा पनि शंका गर्ने ठाउँ छ ।’

उनले प्रहरीलाई घटनाको सत्यतथ्य गम्भीर भएर अनुसन्धान गरिदिन पनि भनेका छन् । ‘म पेशाले सवारी चालक हुँ, मलाई अन्याय भएको छ, प्रहरीले हामी जस्ता नागरिकलाई पनि न्याय दिओस्’, उनले भनेका छन् ।

प्रहरीले भने तीब्र गतिमा रहेका कारण दुर्घटना भएको आशंका गर्दै रियाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर ज्यान गएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि, काठमाडौं मेडिकल कलेज, दुवाकोटले दिने पोष्टमार्टम रिपोर्टको आधारमा प्रहरीले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

यो पनि पढ्नुहोस भक्तपुर कार दुर्घटना : छोरीको हत्या आशंका गर्दै आमाले दिइन् जाहेरी

मृतकका पति राजुले घटनाबारे अनलाइनखबरसँग घटनाको बेलिविस्तार यसरी लगाएका छन् –

म पेशाले कन्टेनर चालक हुँ । श्रीमती ३० वर्षीया रिया र ७ वर्षको छोरासहित धुम्बाराही, पिपलबोटमा डेरा गरेर बस्थ्यौं । कामको सिलसिलामा म काठमाडौं बाहिर गइरहेको हुन्छु ।

श्रीमती रियाले कतै जानुपर्दा सधैँ मलाई भनेरै जान्थिन् । आइतबार राति म विराटनगरमा थिएँ । त्यो दिन मलाई रियाले केही पनि भनेकी थिइनन् ।

बरु नजिकै रहनु भएको सासु आमाले राति ९ बजे कल गर्दा ‘नेट पनि चलेको छैन, टिभी पनि छैन’ म सुतेँ, डिस्टर्ब नगर्नु भनेकी थिइन् । त्यसपछि केटाहरुले (दुर्घटनामा परेको कारका सवारी चालक रञ्जित कार्की लगायत) फकाइफुल्याइ लगे, कता केके गरे, थाहा छैन ।

अपहरण गरेर लगे कि फकाइफुल्याइ गरेर बलात्कार गर्न लगेका हुन्, घरबाट निस्किएको मलाई बिहान मात्र थाहा भयो । त्यो दिन छोरा पनि सासुआमाको पल्लो घरमा बसेको थियो ।

मध्यराति भएको घटना मैले बिहान साढे ९ बजे मात्रै खबर पाएँ । त्यसवेला गाडीमै सुतिरहेको थिएँ, खबर सुन्नेबित्तिकै अत्तालिँदै बिहानकै फ्लाइटबाट काठमाडौँं आएँ ।

उनले सासुको एटीएम कार्ड बोकेकी रहिछन् । त्यही आधारमा प्रहरीले परिवारमा फोन गरेको रहेछ ।

किटानी जाहेरीका मुख्य विपक्षी कार्कीलाई पनि भेटेँ । उसले अन्य तीन जना महिलासहित दिउँसै नगरकोट गएको भनेको छ । त्यहाँ दुई जनाले तोङ्बा खाएको रे । दुई जनाले जुस खाएर बसेको भन्छ ।

कार्कीले नगरकोट नै बसौं भनेर दबाब दिएको पनि रहेछ । अरु दुई जनामध्ये एक जनाले सोमबार बिहानै बुटवल जानुपर्ने भनेपछि ७ बजे फर्किएका रहेछन् । त्यहाँबाट फर्किएर रियालाई घरमा छाडिदिएका रहेछन् ।

तर, राति ९ बजेपछि के भयो थाहा छैन । उनलाई राति कति बजे घरबाट फेरि लगियो भन्ने पनि थाहा छैन ।

म पनि चालक भएको नाताले गाडीको अवस्थाले पनि अलिकति अनुमान लगाउन सक्छु, त्यत्रो दुर्घटनामा एक जनाको मृत्यु हुँदा कसरी अरु जस्ताको तस्तै रहन सक्छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment