+
+

नेपाल इन्फ्रास्ट्रक्चर बैंक : इतिहासकै ठूलो आईपीओ यही पुसमा !

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ४ गते १२:१८

४ पुस, काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै नेपालका अन्य बैंकहरुको भन्दा ठूलो पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) स्थापना गरिएको दुई वर्ष पुग्न लागेको छ । पूर्वाधार विकासलाई गति दिने मुख्य उद्देश्य लिएको इन्फ्रास्ट्रक्चर बैंकले २८ माघ २०७५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएर २०७५ फागुन २२ बाट वित्तीय कारोबार शुरु गरेको थियो ।

सानो निक्षेप नलिने यो बैंकले हालसम्म ८ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । यसमध्ये धेरै कर्जा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको छ ।

कोरोना महामारीबीच पनि जलविधुत् परियोजनाहरुमा कर्जाको माग भएको बैंकले जनाएको छ । बैंकका अनुसार, जलविद्युत् पछि सौर्य ऊर्जा, सिमेन्ट र होटल उद्योगमा लगानीको माग छ ।

यो बैंकले हालसम्म ११० मेगावाटका चारवटा जलविद्युत् आयोजनामा ५ अर्ब ४० करोड र २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा एक अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै, सिमेन्ट उद्योगमा एक अर्ब ५० करोड र निर्माणाधीन पाँचतारे होटलमा ४५ करोड रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे गत वर्षको करिब ४ अर्ब लगानी पाइपलाइनमा रहेको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब हाराहारी लगानी माग भएको छ ।

पूर्वाधार विकासलाई गति दिन र विकासका अन्य क्षेत्रमा हुने वित्तीय अभाव न्यून गर्न सरकार, बाणिज्य बैंकहरु, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, सार्वजनिक तथा निजी कम्पनी र प्रतिष्ठित व्यवसायीहरु समेतको लगानीमा निफ्रा स्थापना भएको हो ।

बैंकको पुँजी तथा सम्पत्ति

निफ्राको अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ छ । चुक्ता पुँजी भने २० अर्ब तोकिएको छ । चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेकोमा सर्वसाधारणलाई आठ अर्ब रुपैयाँको साधारण सेयर जारी गरी चुक्ता पुँजी २० अर्ब पुग्ने भएको हो ।

बैंकमा सरकारसहित संस्थापक सेयरनीहरुको स्वामित्व ६० प्रतिशत छ । आईपीओ जारी भएपछि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुग्नेछ । यो बैंकले एक करोड रुपैयाँभन्दा कम निक्षेप लिँदैन ।

अहिले पुँजी निकै ठूलो भएका कारण निक्षेप संकलनमा बैंकले ध्यान दिएको छैन । यो बैंकले गत असार मसान्तसम्म १२ अर्ब ९४ करोड ४२ लाख ७९ हजार १२१ रुपैयाँ विभिन्न वाणिज्य बैंकमा निक्षेप राखेको थियो । सो अवधीसम्म सरकारी ऋणपत्रमा १२ करोड २७ लाख रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

चालु आवमा थप २५ करोड २४ लाख ५४ हजार ३२० रुपैयाँ मुद्दती र ४५ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी रहेको छ । बैंकले कुल सम्पत्ति ८२ करोड बढाएको छ । अघिल्लो आवको कुल सम्पत्ति १३ खर्ब १५ अर्ब रुपैयाँ बढेर बढेर १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

हाइड्रो, सोलार, सडक, सुरुङ, होटेल, केवलकार, एम्युजमेन्ट पार्क, रिक्रियशन सेन्टर, शिक्षा, स्वास्थ्य, एयरपोर्ट, मेडिकल कलेज, अस्पताल, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार, सिमेन्ट, सहरी विकास, सूचना तथा सञ्चार प्रविधि, वातावरण मैत्री परियोजना, ठोस फोहोर मैला व्यवस्थापन, खानेपानी, सिंचाइ, कृषि पूर्वाधार यो बैंकका लगानीका क्षेत्र हुन् ।

हालसम्मकै ठूलो आईपीओ

इन्फ्रास्ट्रचर बैंक २० अर्ब चुक्ता पुँजी तोकिएको बैंक हो । अहिले यसको चुक्ता पुँजी ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँमात्रै छ । बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ पुँजी सर्वसाधारणलाई सेयर दिएर पुर्याउनु पर्नेछ ।

यसका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डकाे अनुमति पर्खाइमा छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । हालसम्मकै ठूलो यो आईपीओ यही पुसको अन्त्यसम्ममा सर्वसाधारणका लागि खुला हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?