
६ पुस, काठमाडौं । बेलायतमा कोरानेा भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अर्थात् फरक किसिमको भाइरसको कारण धेरै मानिसहरु संक्रमित बनेका छन् ।
कोरोनाको नयाँ प्रकारको कारण बेलायतमा एकैदिनमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । नयाँ किसिमको भाइरस देखिएसँगै बेलायतमाथि धेरै मुलुकहरुले यात्रामा प्रतिबन्धको निर्णय गरेका छन् ।
त्यस्तै संक्रमण नियन्त्रणको लागि बेलायतमा पनि सामाजिक गतिविधिमा कडा प्रतिबन्ध लगाइएको छ । नयाँ किसिमको भाइरस बेलायतमा निकै छिटो फैलिएको छ ।
बेलायतको सरकारका सल्लाहकारहरुका अनुसार नयाँ प्रकारको भाइरस निकै संक्रामक देखिएको छ । भाइरसले निरन्तर आफ्नो रुप बदल्ने गर्छ । त्यसैले भाइरसको व्यवहारमा पनि परिवर्तन आउने गरेको छ । भाइरसको यस किसिमको स्वभावबारे वैज्ञानिकहरुले पनि अध्ययन गर्दै आएका छन् ।
बेलायतमा नयाँ प्रकारको कोरोना भेटिएसँगै बेलायतमाथि युरोपका आयरल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, नेदल्याण्ड्स र बेल्जियमले बेलायतसँगको हवाई उडानमा रोक लगाएका छन् । फ्रान्सले भने बेलायतबाट आउने/जाने सामग्रीमा पनि रोक लगाउने निर्णय गरेको छ ।
पछिल्लो अवस्थालाई ध्यानमा राख्दै युरोपेली संघले एक बैठक बोलाएको छ । उक्त बैठकमा नयाँ किसिमको भाइरसबाट बच्न कस्तो कदम चाल्ने हो भन्ने विषयमा चर्चा हुनेछ । अहिले बेलायतको दक्षिण-पूर्वी क्षेत्रमा नयाँ प्रकारको भाइरस तीव्र गतिमा फैलिरहेको छ ।
नयाँ संक्रमणलाई ध्यानमा राख्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार लण्डनसहित केही अन्य क्षेत्रमा चौथो करणको कडा प्रतिबन्धको घोषणा गरेका थिए । साथै क्रिसमसमा प्रतिबन्ध केही कम गर्ने योजना पनि फिर्ता लिएका थिए ।
प्रतिक्रिया 4