Comments Add Comment

मास्क नलगाएर सेल्फी खिच्ने राष्ट्रपति माथि ४ लाख रुपैयाँ जरिमाना

कानुन सबैलाई समानरुपमा लागू हुनुपर्दछ । ठूलालाई चैन, सानालाई ऐन हुने हाम्रो देशमा यो कुरा लागू नहुन सक्छ । तर दक्षिण अमेरिकी मुलुक चिलीका राष्ट्रपतिले भने कोरोनाको बेला सानो एउटा नियम तोडेका कारण ठूलो जरिमाना तिर्नुपरेको छ ।

कोरोना भाइरस महामारीका बेला मास्क लगाउनुपर्ने नियम विपरीत समुद्री तटमा बाहिरी मानिसहरुसँग मास्क नलगाइकन सेल्फी खिचेको अभियोगमा चिलीका राष्ट्रपति सेबास्टियन पिनोरामाथि सरकारले ३५ सय डलर अर्थात् झण्डै ४ लाख रुपैयाँ बराबरको रकम जरिमाना गरेको हो ।

चिलीमा सार्वजनिक स्थानहरुमा मास्क लगाउनुपर्ने कठोर नियम छ र नियम उल्लंघन गर्नेमाथि जरिमाना तथा जेल सजायसमेत हुने गर्दछ ।

राष्ट्रपति पिनेराले उक्त घटनाप्रति माफी मागेका छन् ।

काचागुआ सहरस्थित आफ्नो घर नजिकैको समुद्री तटमा हिँडिरहेको बेला एकजना परिचित महिलाले आफूलाई रोकेर सँगै फोटो खिचौँ भनेर भनेको र आफूले उनको अनुरोध स्विकार गरेको उनको भनाइ छ ।

तस्वीरमा पनि ती महिला र राष्ट्रपति सँगै दायाँवायाँ उभिएको देखिन्छ । दुवै जनाले मास्क लगाएका छैनन् ।

चिलीका राष्ट्रपति पिनेरा पटक पटक विवादमा आउने गरेका छन् । गत वर्ष सरकार विरोधी आन्दोलन चलिरहेको बेला पिज्जा पार्टी गरेको तस्वीर सार्वजनिक भएको थियो भने पछि आन्दोलनको केन्द्र रहेको चोकमा गएर तस्वीर खिचाएका थिए ।

चिलीमा हालसम्म कोरोना भाइरसबाट ५ लाख ८१ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १६ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment