Comments Add Comment

पौष १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’

शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।

योसँगै पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने चासो पनि छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।

यी दुबै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । जसलेगर्दा, यी दुबै चलचित्रलाई समस्या परेको थियो । मधुसुदनले भने–‘जुन चलचित्र रिलिज भैरहेको समयमा हल बन्द गर्नुपरेको थियो, अब शुक्रबारबाट हामी सोही चलचित्र चलाउने तयारीमा छौं । संभवत आमा र सेन्टी भाइरस नै रिलिज हुन्छन् होला ।’

उनका अनुसार, देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको मधुसुदनले जानकारी दिए ।

चलचित्र ‘आमा’का निर्देशक दिपेन्द्र के खनालले आफू हलमा चलचित्र हेर्नका लागि उत्साहित रहेको बताए । उनले भने–‘जुन चलचित्र रिलिज हुँदा हुँदै हल बन्द भएको थियो, सोही चलचित्र रिलिज गरेर हल सुचारु गर्ने बिषयमा चलचित्र विकास बोर्डमा केही समय अघि छलफल भएको थियो । म जुन चलचित्र रिलिज भएपनि शुक्रबार हलमा चलचित्र हेर्न जान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment