Comments Add Comment

मोटोपन, मान्छे र मन

मोटो मानिसमा कोरोना हुने खतरा बढी हुन्छ भनेर अनुसन्धानले भन्छ । यद्यपि, मोटोले खानपिनमा ध्यान दिने हो भने जिउ घटन सक्छ भन्ने अनेक उदाहरण छन् हामीसँग । जीवनभर स्वस्थ्य भएर बाँच्ने कि स्वादमा ध्यान दिने भन्ने त आफैं विचार गर्ने कि !

झण्डै दुई वर्षअघि राज नाम गरेका एक पत्रकारलाई भेट्दा मैले भनेको थिएँ, ‘तपार्ईंभन्दा अघि त तपाईंको भुँडी हिँड्दोरहेछ । कमर त कमरा भएछ । यस्तो त स्वास्थ्यलाई खतरा हुन्छ है !’

उनको जवाफ थियो, ‘अँ मलाई पनि थाहा छ । तौल घटाउन कोसिस गर्दैछु ।’

एक वर्षपछि उनीसँग फेरि जम्काभेट हुँदा देखें, ठूलो भुँडी त स्याप्पै घटेछ । कमर त कमरा (कोठा) बाट पुनः कम्मर नै भएछ । उनलाई हेर्दा त उनको उमेर नै पाँच–सात वर्ष कम भएजस्तो लाग्यो । मैले भनेँ, ‘तपाईंले के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि कतै गएर शल्यक्रिया गरेर आउनुभएको त होइन पेटको ?’

ठट्टा गरेर भनेको यो प्रश्नलाई राजले गम्भीर भएर जवाफ दिए, ‘होइन होइन, मैले मेरो भुँडी वरिपरिको पन्ध्र किलो त योग, हिँडाई र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदो रहेछ । तर एकचोटी बोसो लागेपछि त घट्न पो गाह्रो हुने रहेछ । तर जब मैले अनुभव गरें कि मेरो लुगा त कसिएर लगाउनै नहुने भए, जब अलिकता हिँड्दा स्वाँ–स्वाँ हुन थाल्यो । अनि त तौल घटाउने निर्णय गरेर कसिएर लागेपछि सफल पनि भएँ ।’

त्यसैगरी पारू श्रेष्ठ (३५ वर्षीया) एक महिलाको पनि आफ्नो तौल ७५ किलोबाट ६० किलो (१० महिनाभित्र) झारेकी थिइन् । उनी विवाहभन्दा अघि ५६ किलो थिइन् । तर एक बच्चा पाएपछि चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त फैलिँदै गयो । उनका बुबा ३० वर्ष नपुग्दै मधुमेहले बितेका रहेछन् । आमा र बहिनी दुवै मधुमेहको औषधि गरिरहेकाले उनी पनि मधुमेहको बिरामी हुने सम्भावना भएकोले मैले भनेँ, ‘पारूजी तपाईं त होशियार हुनुपर्छ है । तपाईंको परिवारमा मधुमेह छ । तपाईं यसरी नै मोटाउनुभयो भने तपाईंलाई पनि त्यो हुन सक्छ । तपाईंको छोरा छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ्य नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्योबाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनुहुन्न ।’

‘के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरि चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरीथरीका चकलेट छन् । यताउति गर्यो हात त त्यसैमा जान्छ’ पारूले भनेकी थिइन् । तर एकदिन पारूले मलाई खुशी भएर भनिन्, ‘मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले ४० हजार लिएर ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे, मात्रै दुई हप्तामा । उनीहरूले खाने कुराको चार्ट र केही औषधि पनि दिन्छन् रे ।’

पारूको खुशीलाई काट्दै मैले भनें, ‘पारूजी, त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कुनै औषधि छैन, जसले जादुको छडीझैं तपाईंको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने विचार त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्लाको प्रयोग बढी गर्नुस् । चकलेट नखानोस् र व्यायाम गर्नुस् । त्यो ४० हजारचाहिँ राख्नोस् र तपाईंको तौल कम भएपछि कुनै राम्रो काममा प्रयोग गर्नुहोला ।’

पारूजीलाई कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर पनि खान सकिन्छ भन्ने कुरा सिकाउनु थियो । एकदिन घरमै बोलाएर ख्वाउनु पर्यो भनेर बोलाएँ । ‘कोदो र फापर त मीठो पो हुँदो रहेछ’ रोटीसँग गोलभेंडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापर किनिन् र त्यसलाई आफ्नो दैनिक भोजनका अङ्ग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारीचाहिँ अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् ।

दुई महिनापछि त उनको तौल पाँच किलो कम भयो । अनुहारको छालमा चमक आयो । त्यसपछि त्यही क्रम अगाडि बढाउँदै गएपछि अर्को छ महिनामा उनको तौल दश किलो कम भयो । पारूले भनिन्, ‘तपाईंले मेरो ४० हजार त बचाउनुभयो नै, मलाई जीवनभरिको ज्ञान दिनुभयो ।’

उनको तौल कम भएकोमा म खुशी भएँ । प्रायः मानिसहरूलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ । किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर बियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यती नै मज्जमसँग घटाउन गाह्रो हुन्छ । किनभने कि त त्यस्तो खाने कुरा खानेलाई ‘खाने कुरालाई नाइँ‘ भन्न साह्रै गाह्रो हुन्छ । साथै व्यायाम, योग त झनै गाह्रो चिज । यसका लागि त कडा अनुशासन चाहिन्छ र प्रायः हामीहरू मध्ये थोरैलाई मात्र अनुशासन हुन्छ ।

बियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि हामी भविष्यको असीम दुखाइ पनि बिर्सिन्छौं ।

मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छन् । स्वास्थ्य त चौपट नै हुन्छ । तर पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला !

मेरा एकजना मित्र छन् । उनलाई ‘गाउट’ छ । समय–समयमा उनलाई यस्तो दुःख्छ कि उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटी त गाउटले चिसो पानीमा डुबाएर नै बस्नुपरेको थियो रे । तर बियर देखेपछि त कसोकसो मन चञ्चल भइहाल्ने उनी बताउँछिन् । ‘यसो सात–आठ दिन नपिएपछि दुखाइ कम हुन्छ भने त बियरले तानिहाल्छ ।’

यस्तो किसिमको मानिसहरूलाई चाहिँ सायद भगवानले आएर मात्रै मन परिवर्तन गर्न सक्छ । कति जना मानिसहरू यस्तै खाना र बियरबाट हुने मोटोपनको कारणले उच्च रक्तचाप भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु तेल हालेको खान छोड्दैनन् । वास्तवमा उनीहरूले विस्तारै आत्महत्या गरिरहेका हुन्छन् र पनि जिब्रोलाई तह लगाउन सक्दैनन् ।

असी किलोग्राम तौल भएकी शिला मेरो घरमा आएकी थिइन् । घुँडा दुख्ने समस्यामा केही योगासन सिक्न सकिन्छ कि भनेर । मैले उनलाई भनेकी थिएँ, ‘योगासन र व्यायामले तिमीलाई फाइदा गर्छ त तिम्रो खानेकुरा पनि परिवर्तत गर्नुपर्छ ।’

‘लौन केके खाने सिकाइदिनुस् न’ भन्दा मैले घरमा कोदो र फापरको रोटी र सुप बनाएर प्लेटमा राखेर खान दिँदा उनले भनिन्, ‘यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ ।’ उनको कुराले हाँस त उठ्यो तर दुःख पनि लाग्यो । घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी उनको तौल दुई वर्ष पछि पनि घटेको छैन । अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुखाइले गर्दा धेरै हिँड्न सक्दिनन् र उनी हिँड्दा चाहिँ घ्याम्पो नै जस्तो देखिन्छिन् । तर उनलाई खानाको विषयमा मैले भन्न छोडिसकेको छु । किनभने जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागको छैन भने हामी जस्ताले जति भाषण दिए पनि जति लेखे पनि फाइदा छैन ।

मध्यम वर्गीय परिवारमा मात्र होइन गाउँका मानिसहरूमा पनि विभिन्न किसिमका चाउचाउ, चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छन् । स्वास्थ्य त चौपट नै हुन्छ । तर पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment