Comments Add Comment

छोडेर जानेले घर पाउँदैन, सूर्य चिह्न हाम्रै हो : पाण्डे

निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा नेता सुरेन्द्र पाण्डे । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मंगलबार बबरमहलमा बसेको स्थायी कमिटी र केन्द्रीय समिति बैठक नै आधिकारिक भएको दाबी गरेका छन् ।

२८७ केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर बुधबार निर्वाचन आयोग पुगेका पाण्डेले प्रचण्ड–माधव समूह नै आधिकारिक भएको र सूर्य चिह्न आफूहरूले पाउने बताएका छन् ।

प्रस्तुत छ, केन्द्रीय सदस्यहरूको हस्ताक्षर सहित निर्वाचन आयोग पुगेका पाण्डेसँगको कुराकानीः

निर्वाचन आयोगमा आउनुको उद्धेश्य के हो ?

नेकपाको हिजो बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी गराउन आएका हौं । अहिले नेकपाभित्र उत्पन्न परिस्थितिको बारेमा त्यसमा आवश्यक सम्पूर्ण कागजातहरू, निर्णयहरू, यसभन्दा अगाडि भएका सबै डकुमेन्टहरू पनि हामीले निर्वाचन आयोग समक्ष प्रस्तुत गरेका छौं ।

निर्वाचन आयोग संवैधानिक निकाय भएको हुनाले निष्पक्षता, तथ्य र कानूनको आधारमा निर्णय गर्छ भन्ने कुरा सहित आफ्नो डकुमेन्टहरू प्रस्तुत गरेका छौं ।

पत्रमा हस्ताक्षर कति जनाको छ ?

हस्ताक्षर २८७ जनाको छ । अनुपस्थित तीन जनाको निवेदन पनि ल्याएका छौं । केही मान्छे बाटोमा आउँदै भएको हुनाले २९० जनाको बुझाएका हौं । पाँच गते निर्णय गरेर सात गते नै बैठक बस्नुपर्दा सबै आइसक्नु भएको छैन । सम्भवत् भोलिको बैठकमा उहाँहरू उपस्थिति हुनुहोला । भोलि बैठकमा उपस्थित भएपछि उहाँहरूको दस्तखतसहित दस्तावेज पेश गर्नेछौं ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकता हुँदा केन्द्रीय सदस्य संख्या ४४१ थियो । त्यस अन्य पार्टीबाट आउनु भएको चार व्यक्तिहरू थपिनु भएपछि ४४५ भयो । त्यसमध्ये तीन जनाको मृत्यु भएपछि ४४२ जना रहनु भयो । पाँच जना संवैधानिक नियुक्तिमा जानुभयो । अग्निप्रसाद सापकोटा सभामुख, धर्मनाथ यादव र तिलक परियार प्रदेश प्रमुख भएर जानुभयो । समिम मियाँ अन्सारी मुस्लिम आयोग र विष्णु चौधरी थारु आयोगमा जानुभयो । महेन्द्रबहादुर पाण्डे, डा. वंशीधर मिश्र र डा. युवराज खतिवडा राजदूत हुनुभयो ।

४४२ मा ८ जना कम भएपछि ४३४ जनालाई पार्टी विधानले आधिकारिक निर्णयकर्ताको रुपमा व्यवस्था गरेको छ । ४३४ मध्ये २९० भनेको झण्डै ७० प्रतिशत हो । त्यसहिसाबले पनि हिजो बबरमहलमा बसेको बैठक नै आधिकारिक हो ।

यहाँले बबरमहलको बैठकलाई आधिकारिक भन्नुभयो । नेकपा अध्यक्ष ओलीको नेतृत्व बालुवाटारमा बसेको बैठक चाहिँ के हो त ?

एउटा अनौपचारिक जानकारी अनुसार त्यहाँ ११३ जना भेला हुनुभएको थियो रे । त्यो संख्या न बैठकका लागि कोरम पुग्छ न बहुमत हुन्छ । त्यो संख्याले कुनै निर्णय गर्न पाउने कुरै भएन ।

त्यसो हुनाले कमरेड माधव र कमरेड प्रचण्डले नेतृत्व गरेको पार्टी नै आधिकारिक पार्टी हो ।

एउटा अध्यक्ष र महासचिवको हस्ताक्षर विनाको दस्तावेजले आधिकारिकता पाउँछ र ?

पार्टीको निर्णय गर्ने विधि के हो भने अध्यक्ष र महासचिवले होइन केन्द्रीय कमिटीको बहुमत सदस्यले गर्ने हो । हाम्रो विधानमा बहुमत केन्द्रीय सदस्यले गर्ने निर्णय नै अन्तिम हुने व्यवस्था छ ।

पार्टी एकता गर्दा नेतृत्वले गर्ने अहिले बहुमत केन्द्रीय सदस्यको निर्णय नै अन्तिम हुन्छ भन्न मिल्छ र ?

४४१ केन्द्रीय सदस्यकै तीनपुस्ते विवरणसहित दर्ता भएको छ । त्यतिबेला पनि अध्यक्ष र महासचिवको हस्ताक्षर बुझाएको होइन । निर्वाचन कानूनमा केन्द्रीय समितिमा थपिएका प्रत्येक व्यक्तिको विवरण बुझाउनुपर्ने प्रावधान छ ।

अन्यथा त्यो संख्या कायम नहुने व्यवस्था छ ।

दुई समूहले अलगअलग बैठक बोलाए । तर पार्टी टुक्रिएको घोषणा गर्न सकेनन्, किन ?

चोइटिएकै अवस्था हो । त्यो विन्दुमा पुगिसकेको अवस्था छैन । तर त्यो दिशामा अगाडि बढिसक्यो ।

पार्टी फुटिसक्यो ?

करिब करिब त्यस्तै देखिन्छ ।

सूर्य चिह्न कसले पाउँछ ?

हामीले पाउँछौं, त्यसमा कुनै विमति छैन । आजसम्मका नजिर छ, छोडेर जानेले घर पाउँदैन । अर्को घर बनाउनुपर्छ ।

तर पार्टी कार्यालयमा तालाबन्दी भइसकेको रहेछ !

त्यो त के ठूलो कुरा भयो र ? उहाँहरूको सरकार छ, प्रशासन छ । ताला लगाउँदैमा अर्काको घर आफ्नो हुँदैन नि । सम्पत्ति भागबन्दा गर्ने पनि विधि छ, कानून छ । कसैले बलको आधारमा ताला लगाएर सम्पत्ति आफ्नो हुन्छ र ? दाजुभाइको झगडा पनि त्यो हुन्छ र ? हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment