Comments Add Comment

कर्णालीमाथि एपीएफको सहज जित

दाङ । साविकको विजेता एपीएफले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह ए मा रहेको विभागीय टोली एपीएफले शनिबार भएको दोस्रो खेलमा कर्णाली प्रदेशलाई २०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २३५ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा सबै विकेट गुमाएर ३१ रनमै अलआउट भयो ।

कर्णालीका कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कप्तान लक्ष्मी रिमालले बनाएको ६ रन नै कर्णालीको इनिङ्समा व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै दीक्षा पुरीले अविजित रहँदै ५ बनाइन् ।

बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट लिइन् । उनले ३.१ ओभर बलिङ गर्दै  २ मेडन राख्दै २ रन मात्र खर्चेर ५ विकेट लिइन् । यस्तै राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १-१ विकेट लिए ।

त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर पूरै मात्र ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सीता राना मगरले कप्तानी पारी खेलिन् । टिमका लागि सर्वाधिक रन बनाएकी उनले ५९ बल खेल्दै  ८ चौकासहित ६८ रन बनाइन् । यस्तै सितालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनर ब्याटर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी थिइन् । कर्णालीले अतरिक्तबाट नै ६७ रन खर्चिदाँ एपीएफले उच्च स्कोर बनाएको थियो ।

बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १ विकेट लिन सफल भएका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेशसंग तथा दोस्रोले खेलमा एपीएफले प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment