Comments Add Comment

‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् ।

कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र उपचार गर्न सकियो भने ती मानिसहरु लामो समय बाँच्छन् ।

कोरोना महामारीमा नेपालको बाल मानसिक स्वस्थको क्षेत्रको अवस्थाबारे डा. कुँवरसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

कोभिड–१९ को महामारी कालमा बाल मानसिक स्वास्थ्यमा समस्या बढेको रिपोर्टहरु भएको छ । अहिले नेपाली बालबालिकाको मानसिक स्वास्थ्यको खास अवस्था कस्तो हो ?

बच्चाबच्चीलाई भावनात्मक र विकासन्मुख समस्या हुन्छ । त्यसलाई बुद्धिजन्य या ध्यानजन्य समस्या भनौं । त्यो सिकाइसँग सम्बन्धित हुन्छ ।

पहिला पहिला बुढापाकाहरुले ‘यो बच्चा बाख्रीको पुच्छर खाएको जस्तो छ’ भन्थे नि । त्यस्तो बच्चा चकचक गरिरहन्छ, एकठाउँमा बसिरहन सक्दैन । ध्यान केन्द्रित नहुने भएकाले यस्ता बच्चालाई पढ्न समस्या हुन्छ । यसलाई डिफेसिट हाइपर एक्टिभिटी डिसअर्डर (एडिएसडी) भनिन्छ ।

कोही बच्चा समूहमा घुलमिल हुने नसक्ने, एकोहोरो हुन्छन् । यो ‘अटिजम’ को समस्या हो । यसमा उमेर अनुसार बुद्धि विकास नहुने हुन्छ । कतिपय बच्चालाई ‘लर्निङ डिसाबिलिटी’ पनि हुन्छ । उनीहरु सिक्न सक्तैनन् । कोही बच्चालाई अक्षर नै चिन्न असाध्य गाह्रो हुन्छ । कसैलाई लेख्न गाह्रो हुन्छ । यी विकासका कुरा भए ।

डरको रोग पनि हुन्छ । डिप्रेसन बच्चालाई पनि हुन्छ । बच्चाहरुको रोग बुझ्न पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा बच्चाहरु रिसाउने, झगडा गर्ने, कराउने गर्छन् । चर्को हुँदै गयो भने बायोपोलर डिसअर्डर, सिजोफ्रेनिया जस्ता समस्या पनि देखिन्छ । त्यसमा भावना बदली हुने, भ्रमित हुने हुन्छ ।

गत वर्ष ५५ सय जना मानिसले आत्महत्या गरे । तीमध्ये २९० जना त १२ वर्षभन्दा कमका थिए । कोभिड महामारी अगाडि देशभर औसतमा दैनिक १३–१५ जनाले आत्महत्या गर्थे । अहिले यो यो दर १७–१९ जना पुगको रिपोर्ट आएको छ ।

सामाजिक सञ्जालको असरले ‘एनोरेक्सिया’ जस्ता रोग बढेका छन् । यस्ता रोग लागेका बच्चाहरुले आफू जति दुब्लो भएपनि मोटो नै छु भनेर सोच्छ र अझै दुब्लाउन प्रयास गर्छ । त्यो रोग पहिला पश्चिमा मुलुकहरुमा धेरै देखिन्थ्यो, अहिले हाम्रोमा बढेको छ

महाभूकम्पमा १० हजार मानिस मरे, त्यो धेरै हो । तर, हरेक वर्ष ५-६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । नौजवानहरु आत्महत्या गरिरहेका छन् । अर्को शब्दमा भन्दा हामीकहाँ हरेक वर्ष भूकम्प छ, जसलाई हामीले बेवास्ता गरेका छौं ।

ध्यान दिनुपर्ने कुरा के छ भने ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र उपचार गर्न सक्दा ती मानिस लामो समय बाँच्छन् । एउटा मानिस मानसिक समस्यामा पर्नेबितिकै उसको पूरै परिवारमा समस्या पर्छ । त्यसकारण, समयमै पहिचान गरेर मानसिक रोगको उपचार हुनु जरुरी छ ।

अहिले बालबालिका कडा किसिमको मानसिक समस्यामा छन् भन्ने कुरा हाम्रो समाजलाई कति थाहा छ ?

हाम्रो समाजले बच्चाहरुलाई पनि मानसिक समस्या हुन्छ भनेर बुझेकै छैन । बच्चाले किताब हेर्न र स्कुल जान मन गरेन भने उसलाई मानसिक समस्या भएको छ भनेर बुझ्ने परिवार छैन । त्यस्ता बच्चालाई समाजले ‘बेवकुफ, अटेरी’ भन्छ । अटेरी भनेर उसको रोगलाई नजरअन्दाज गर्ने परिवार धेरै छन् ।

बालबालिकामा मानसिक समस्या कति छ भनेर नेपालमा खासै अनुसन्धान भएको छैन । एउटा अध्ययनले १० प्रतिशतमा डिप्रेशन देखाएको थियो । त्यही अध्ययनमा २ प्रतिशत बालबालिकालाई ‘एञ्जाइटी’ छ भनिएको छ । अर्को एउटा अध्ययनले ५ प्रतिशत बालबालिकालाई मानसिक समस्या हुनसक्ने भनेको छ । एउटा अन्तर्राष्ट्रिय अध्ययनले १५ प्रतिशतदेखि २० प्रतिशत नेपाली बालबालिकामा मानसिक समस्या देखाएको छ । जबकि, ५ प्रतिशत बालबालिमा मानसिक समस्या हुनु भनेको असामान्य हो ।

हामीकहाँ बालबालिकालाई धेरै समस्या भएको त प्रष्टै छ, तर गहिराइमा गएर देखेनौं, बुझेनौं । बालबालिकामा मानसिक समस्या भनेको हामीलाई नयाँ जस्तो लाग्छ । यसको उपचार कान्ति बाल अस्पतालमा मात्र सुरु भएको छ । बिरामीलाई भर्ना गरेर राख्ने ठाउँ कम हँुदैछ । हामीले मानसिक उपचार देशव्यापी बनाउनुपर्छ भनेर लबिङ गरेपछि अहिले स्वास्थ्य मन्त्रालयले पनि सोच्न थालेको छ । मानसिक समस्या केही होइन भन्ने सोच फेरिदैछ ।

नेपालको जनसंख्याको करिब ४० प्रतिशत १८ वर्षमुनिका छन् । सरकारले मानसिक स्वास्थ्यका लागि बजेट छुट्याउँदा ४० प्रतिशत बालबालिकाको लागि छुट्याउनुपर्छ । जरो नै उखेल्यौं भने मानसिक रोग झाङ्गिन पाउँदैन ।

महामारीकालमा बालबालिकामा देखिएका मानसिक समस्या पहिलेको भन्दा फरक छन् ?

पहिलेभन्दा दोब्बर अभिभावक बालबालिका लिएर हामीकहाँ आइपुगेका छन् । यसले समस्या र चेतना पनि बढेको देखाउँछ । यो बेला धेरै बच्चाहरु डराउने, आत्तिने भएका छन् ।

अस्ति एकजना बच्चा बारम्बार हात धुने गरेको गर्‍यै भएकाले हामीकहाँ ल्याइएको थियो । डरको कारण बच्चाले त्यसो गरेको हो । धेरै बच्चाहरुलाई आफ्नो भन्दा आमा–बुवाको धेरै माया लाग्दो रहेछ । उहाँहरुलाई केही होला कि भन्ने डरले अत्तालिने गर्दा रहेछन् ।

अर्को डरलाग्दो समस्या, बच्चाहरु धेरै समय इन्टरनेटमा व्यस्त हुन्छन् । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको असरले ‘एनोरेक्सिया’ जस्ता रोग बढेका छन् । यस्ता रोग लागेका बच्चाहरुले आफू जति दुब्लो भएपनि मोटो नै छु भनेर सोच्छ र अझै दुब्लाउन प्रयास गर्छ । त्यो रोग पहिला पश्चिमा मुलुकहरुमा धेरै देखिन्थ्यो, अहिले हाम्रोमा बढेको छ । पहिला म यस्ता केस महिनामा एकाध हेर्थें, अहिले हप्तामा एउटा हेर्छु ।

सामाजिक सञ्जालका कारण बच्चाहरु धेरै सचेत भएका छन् । एउटा बच्चा एक महिनामै २० केजी दुब्लाएको थियो । खानै नखाए यस्ता समस्या भएका १० प्रतिशत बालबालिका मर्छन् पनि ।

साइबर बुलिङको कारण पनि बालबालिकालाई समस्या बढेको छ । निद्रा नलाग्ने समस्या भएका बालबालिका महामारीकालमा थपिएका छन् ।

अभिभावकहरु कसरी आफ्नो बच्चालाई मानसिक समस्या भएको पहिचान गरेर अस्पतालमा आउँछन् ?

कान्तिमा हामीले २०१५ मा क्लिनिक सुरु गरेका हौं । पहिलो ६ महिनामा ६०० बिरामी हेर्यौं । गत वर्ष ३ हजार तीन सयभन्दा बढी बिरामी हेर्यौं । यसरी आउने अधिकांश केस अन्य रोगका डाक्टरहरुबाट रेफर भएका हुन् । हामीकहाँ आउने बिरामी सबै वर्गका छन् । ५० प्रतिशतभन्दा बढी केस उपत्यका बाहिरका छन् ।

बालबालिकालाई सुरुवाती चरणको मानसिक समस्या देखिँदा टाउको दुख्ने, पेट दुख्ने र बेहोस हुने हुनसक्छ । त्यस्तो हुँदा अस्पताल लगिएका बालबालिका चिकित्सकबाट रेफर भएर हामीकहाँ आउँछन् ।

कहिलेकाहीँ स्कुलमा विद्यार्थीहरु बेहोस भएर लडेको समाचारमा सुनिन्छ । त्यो मानसिक तनावकै कारणले हुने समस्या हो । यस्ता केसका बिरामी धेरै जनरल डाक्टरकहाँ जान्छन् । त्यहाँ ठीक नभएपछि हामीकहाँ आउँछन् । अन्य डाक्टर, क्लिनिक, धामी–झाँक्री सबै भ्याएर हामीकहाँ आउने केस धेरै छ ।

इन्टरनेटको फाइदा पनि छ । डिप्रेसन, इञ्जाइटीबारे इन्टरनेटमा बुझेर आफ्ना बालबालिकालाई हामीकहाँ ल्याउने सचेत अभिभावक पनि छन् । तर, यो संख्या थोरै छ ।

बालबच्चालाई मानसिक समस्या भएको शंका गरेर अन्य चिकित्सकले तपाईंहरुकहाँ रेफर गर्ने अभिभावकको मनोविज्ञान कस्तो पाउनुहुन्छ ?

मानसिक समस्याप्रति घृणाभाव राख्ने गरिन्छ । धेरै अभिभावकलाई आफ्ना बच्चालाई यस्तो समस्या छ भन्दा विश्वास लाग्दैन । यस्तो हुनै सक्दैन भन्छन् । कति त मेरो बच्चालाई मानसिक समस्या छैन, अर्को डाक्टरले किन यहाँ पठाइदियो भनेर निहुँ खोज्छन् । हामी ठूलो मान्छेमा मानसिक समस्या छ कि भनेर डराउँछौ, बच्चामा छ कि भनेर झन् डराउँछौ ।

सबैले बुझ्नुपर्ने कुरा के हो भने मानसिक रोग अरु रोग जस्तै हो, समयमै उपचार भए ठीक हुन्छ । मानसिक रोग मानिसको कन्ट्रोलमा हुन्न । रोग हो उपचार गरे निको हुन्छ भनेर बुझ्नुपर्छ ।

अभिभावकको सोचाइ बच्चालाई कसरी राम्रो गराउने भन्ने नै हुन्छ, तर सामाजिक सोचको कारण लुकाउनु पर्ने अवस्थामा पुग्छन् । धेरै बच्चालाई मानसिक समस्या भएपनि यही सोचको कारण थाहा हुन्न ।

अभिभावकले आफ्नो बच्चा मानसिक रोग छ भनेर कसरी थाहा पाउने ?

बालबालिकाको व्यवहारमा उतारचढाव आयो, बोल्दै नबोल्ने बच्चा एकदम धेरै बोल्न थाल्यो, बोलिरहने बच्चा एकदम चुप र उदास रहन थाल्यो भने केही समस्या रहेको बुझ्नुपर्छ । साथीहरुसँग घुलमिल नगर्ने, झगडा गर्ने, रातभरी नसुत्ने र डर तनावको कुरा गर्ने भयो भने पनि मानसिक समस्या भएको बुझनुपर्छ ।

कुनै पनि कुरामा उत्साह मरिसकेको छ, सधैं निराश हुन्छ भने मानसिक समस्या छ कि भनेर शंका गर्नुपर्छ । अभिभावकलाई आफ्नो बच्चाको स्वभाव, व्यवहार थाहा हुन्छ । स्वभाव र व्यवहारमा परिवर्तन आउन थाल्यो भने समस्या छ भन्ने बुझ्नुपर्छ ।

कुनै बच्चामा आत्मघाती सोच पनि आउन सक्छ । बच्चाहरुको आत्महत्या यही सोचको परिणाम हो । त्यसैले आफ्ना बालबच्चाको स्वाभव, व्यवहार परिवर्तन भयो भने अभिभावक चनाखो भइहाल्नु पर्छ ।

बच्चामा देखिने मानसिक समस्या प्राकृतिक हो कि अन्य कुराको असर ?

बच्चा होस् या ठूलो मानिस, वंशाणुगत र वातावरणीय दुई कारणले मानसिक समस्यामा पर्छन् । वंशाणुगतमा परिवारको स्वास्थ्यको भूमिका हुन्छ । अभिभावकलाई डिप्रेशन छ भने बच्चालाई हुने सम्भावना धेरै हुन्छ ।

अनेक किसिमका तनाव छ भने पनि मानसिक समस्या देखिन्छ । यो वातावरणजनित समस्या हो ।

बालबालिकाको मानसिक समस्याको उपचार गराउन स्वास्थ्य संस्थाको अभाव रहेछ नि ?

मानसिक स्वास्थ्यको क्षेत्रमा समस्याहरु धेरै छन् । उपत्यका बाहिरका ठूला अस्पताल र मेडिकल कलेजहरु वयस्क मानिसको लागि साइक्याट्रिक्सको व्यवस्था छ । त्यहाँ बालबालिकाको पनि समस्या पहिचान गर्न सकिन्छ ।

मनोपरामर्शदाताको सहयोग पनि लिन सकिन्छ । मुख्य कुरा, चेतना र मानसिक रोगलाई हेर्ने दृष्टिकोण हो । मानिसहरुको दृष्टिकोण बदलियो भने उपचारको क्षेत्र बढ्छ ।

भिडियो / तस्वीर  : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment