News Summary
Generated by OK AI. Editorially reviewed.- बालबालिकामा दृष्टि विकास र समस्या पहिचान आवश्यक छ।
- दृष्टि समस्या भएमा परीक्षण र उपचारले समाधान गर्न सकिन्छ।
- समयमै उपचारले पढाइ र विकासमा सुधार ल्याउँछ।
के तपाईंको बच्चा पहिले पढाइमा राम्रो थियो तर अहिले उसको ग्रेड घट्दैछ ? के उसलाई अहिले पढ्नका लागि धेरै कर गर्नुपर्छ ? के तपाईंको बच्चाले सुनेको कुरा चाँडै बुझ्छ तर पढेको बुझ्न निकै समय लाग्छ ? के बच्चा औंला किताबमा राखेर मात्र पढ्न सक्छ ? के तपाईंको बच्चा उस्तै देखिने अक्षरहरू जस्तै- बी र डी, पी र क्यू, एम र डब्लु मा गडबड गर्छ ? के तपाईंको बच्चा निकै बिस्तारै पढ्छ ?
के तपाईंको बच्चाले देखेको कुरा धेरै बेर सम्झन सक्दैन? के तपाईंको बच्चाले पढ्दा एउटा आँखा हातले छोपेर पढ्छ ? के तपाईंको बच्चा पढ्दा जिउ, टाउको, हात वा खुट्टा हल्लाइराख्छ ? यी मध्ये कुनैपनि समस्या तपाईंको बच्चालाई छ भने, दृष्टिसम्बन्धी समस्या हुनसक्छ । विस्तृत दृष्टि परीक्षण तथा उचित उपचारले यस्ता समस्याहरू समाधान गर्न सकिन्छ ।
बालबालिकामा दृष्टिसम्बन्धी समस्या
बच्चा जन्मिँदा उसको दृष्टिको सम्पूर्ण विकास भइसकेको हुँदैन। जन्मपछि दृष्टिको परिपक्व विकासका लागि आँखाको स्वास्थ्य पूर् रूपमा ठिक हुनु आवश्यक हुन्छ । यसको अर्थ बच्चामा कुनै किसिमको दृष्टिदोष वा आँखामा कुनै अवरोध नभएको हुनुपर्छ ।
सामान्य रूपमा बच्चाले दुई महिनामा आमासँग आँखा जुधाउन सक्नुपर्छ, ३-४ महिनामा आमालाई देखेर हाँस्न सक्नुपर्छ र अगाडि कुनै वस्तु हल्लाउँदा त्यसलाई ट्र्याक गर्न सक्नुपर्छ । ६ महिनामा चिनिएको अनुहारलाई टाढाबाट पनि चिन्न सक्छ भने लगभग ५ वर्षको उमेरमा उसको दृष्टि वयस्कजस्तै परिपक्व हुनेगर्छ ।
यदि दृष्टि विकासमा कुनै अवरोध पुग्छ भने सम्पूर्ण बालविकासमा ढिलाइ हुन सक्छ, जस्तै दृष्टि कमजोर वा नदेख्ने बच्चा ढिलो हिँड्ने, ढिलो बोल्ने जस्ता समस्या देखिन्छन् । त्यसैले अभिभावकले आफ्नो बच्चाको दृष्टि विकास ठिक छ वा छैन भन्नेमा ध्यान दिनु आवश्यक छ।
बच्चा स्कुल जान थालेपछि उसले कक्षाकोठामा पछाडिको बेञ्चबाट अगाडि लेखिएका अक्षरहरू पढ्नुपर्छ । यदि उसले टाढाको लेखाइ देख्न सक्दैन भने, ऊ कक्षामा अरू साथीभन्दा पछाडि पर्न सक्छ। यस्तो अवस्थामा बच्चामा दृष्टिदोष हुन सक्छ, जसलाई चस्मा लगाएर सजिलै समाधान गर्न सकिन्छ।
यदि बच्चामा चस्मा लगाएर पनि समस्या भइरहेछ भने, दृष्टि प्रणालीको अन्य कमजोरीहरू हुन सक्छन् । दृष्टि प्रणाली भन्नाले केवल आँखा होइन, आँखाबाट प्राप्त हुने सूचनालाई नसाहरू मार्फत मस्तिष्कमा पुर्याउने र अन्य इन्द्रीयका संकेतहरूसँग मिलाएर प्रक्रिया गर्ने सम्पूर्ण प्रणालीलाई जनाइन्छ ।
उदाहरणका लागि, बच्चाले बोर्डमा लेखिएको कुरा पढेर आफ्नो कापीमा सार्दै छ भने, त्यहाँ धेरै कार्यहरू एकैसाथ भइरहेका हुन्छन् बोर्ड हेरेर अक्षर छुट्याउने, पढ्ने, बुझ्ने, सम्झने, टाढाबाट नजिकमा ध्यान फोकस गर्ने, अनि लेख्ने । यी सबै काम छिटोछरितो हुनका लागि बच्चाको दृष्टि स्पष्ट हुनुका साथै आँखाको मूभमेन्ट ठिक हुनु आवश्यक हुन्छ ।
साथै बोर्डमा लेखिएका अक्षर छुट्याउन सक्ने, पढेको कुरा क्रमबद्ध रूपमा सम्झन सक्ने र त्यसलाई ठिकसँग लेख्न सक्ने क्षमता हुनु जरुरी हुन्छ । यदि यिनमा समस्या छ भने पढाइमा कठिनाइ आउनु स्वाभाविक हो । यद्यपि सबै पढाइसम्बन्धी समस्या दृष्टि प्रणालीमा मात्र आधारित हुँदैनन् ।
केही समस्या मानसिक र बौद्धिक क्षमतासँग पनि सम्बन्धित हुन्छन् । तर, दृष्टि प्रणालीको कमजोरीले ती समस्यालाई थप बढावा दिन सक्छ । त्यसैले आँखासम्बन्धी समस्यालाई कम गर्न सकेमा, अन्य विशेषज्ञहरूको सहयोग आवश्यक पर्ने अवस्था कम हुन्छ र नतिजा पनि राम्रो आउँछ।
दृष्टि प्रणालीका केही लक्षण
दृष्टिदोष : टाढाको वस्तु धमिलो देखिने, बोर्डको लेखाइ नचिनिने जस्ता समस्या ।
दृश्य भेदभाव : उस्तै देखिने वस्तु वा अक्षर छुट्याउन गाह्रो हुन्छ, जस्तै बी-डी, पी-क्यू मा गडबडी, मिल्दोजुल्दो वस्तु छुट्याउन नसक्ने ।
दृश्य स्मृति : देखेका कुरा सम्झन गाह्रो, अक्षर वा शब्द सम्झन नसक्ने, बारम्बार बोर्ड हेर्नुपर्ने, वाचन वा हिज्जेमा कमजोरी ।
दृश्य-स्थानिक सम्बन्ध : वस्तुहरूबीचको स्थान बुझ्न नसक्ने, अक्षर उल्टो लेख्ने, लेखाइ अव्यवस्थित, पजल बुझ्न कठिन ।
दृश्य रूप स्थिरता : रङ, साइज, कोण परिवर्तन हुँदा पनि वस्तु नचिन्ने, जस्तै-: त्रिभुज घुमाएर देखाउँदा नचिन्ने ।
दृश्य आकृति–पृष्ठभूमि : पृष्ठभूमिबाट वस्तु छुट्याउन नसक्ने, भीडमा वस्तु नचिन्ने, लेखिएको ठाउँमा ध्यान दिन कठिन।
दृश्य समापन : अपूर्ण चित्र वा शब्द नचिन्ने, अस्पष्ट अक्षर पढ्न नसक्ने, छिटो पढ्न गाह्रो ।
दृश्य अनुक्रमण : शब्द वा अक्षरको क्रम नबुझ्ने, शब्द उल्टो पढ्ने, लाइन छुटाउने वा दोहोर्याउने ।
दृश्य-मोटर समन्वय : देखेको कुरा शरीरको चालसँग मिलाउन नसक्ने, लेखाइ फोहोर, चित्र कोर्न कठिनाइ, बल समात्न गाह्रो ।
यस्ता समस्या सामान्य बालबालिकामा १०–१५ प्रतिशतसम्म देखिन सक्छन् भने, डिस्लेक्सिया, अटिजम, सेरेब्रल पाल्सी, स्ट्रोक वा मस्तिष्क आघात भएका बालबालिकामा ६०–८० प्रतिशतमा देखिन्छन् ।
उपचार
यदि माथि उल्लेखित समस्या छ भने, सबैभन्दा पहिला दृष्टि परीक्षण गरिनुपर्छ । विशेषगरी भिजन थेरापीमा प्रशिक्षित व्यक्तिबाट परीक्षण गरेर कुन समस्या छ भनेर पहिचान गरी, उपयुक्त अभ्यासहरू सिकाइन्छ । केही विशेष चस्माको सहयोगले पनि समस्या कम गर्न सकिन्छ । साथै, आवश्यक भएमा बाल मनोचिकित्सक, स्पिच थेरापिस्ट, मोटर थेरापिस्ट आदिको सहयोग पनि लिन सकिन्छ ।
त्यसैलेआफैंले आफ्नो बच्चाका क्रियाकलापलाई नियाल्नुपर्छ, शिक्षकहरूसँग नियमित प्रतिक्रिया लिने, उनीहरूको उत्तरपुस्तिका वा कक्षामा गराइएका अभ्यास हेर्नुपर्छ ।
समस्या देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्ता समस्या समयमै समाधान गरेमा बच्चाको पढाइ सजिलो हुन्छ र उसको भविष्यमा सकारात्मक प्रभाव पर्छ ।
प्रतिक्रिया 4