+

बालबालिकालाई सबैभन्दा प्रभावित पार्ने झाडापखाला, कसरी बचाउने ?

२०८२ असार  ११ गते १३:५५ २०८२ असार ११ गते १३:५५
Shares
बालबालिकालाई सबैभन्दा प्रभावित पार्ने झाडापखाला, कसरी बचाउने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका विभिन्न क्षेत्रमा गर्मीको समयमा झाडापखालाको प्रकोप बढ्दै गएको छ।
  • बालबालिकामा गम्भीर डिहाइड्रेसनको जोखिम बढेकाले तुरुन्तै उपचार आवश्यक छ।
  • झाडापखालाको मुख्य कारण रोटा भाइरस हो, जसको खोप उपलब्ध छ।

गर्मीको आगमनसँगै नेपालका विभिन्न क्षेत्रमा बालबालिकाहरूमा झाडापखालाको प्रकोप बढ्दो छ । विशेषगरी तराईका जिल्लाहरूमा यो रोगले बालबालिकालाई बढी प्रभावित गरिरहेको छ ।

अस्पतालहरूमा हरेक दिन सयौं बालबालिकाहरू झाडापखालाको बिरामी भएर पुग्छन् । यीमध्ये धेरैजसो गम्भीर डिहाइड्रेसन (जलवियाेजन) को अवस्थामा हुन्छन्, जसले समयमै उपचार नपाएमा ज्यानै जोखिममा पार्न सक्छ ।

झाडापखाला के हो ?

झाडापखाला एक यस्तो अवस्था हो, जसमा २४ घण्टाभित्र तीन वा सोभन्दा बढी पटक पातलो र पानीजस्तो दिसा हुन्छ । यो रोग प्रायः भाइरस, ब्याक्टेरिया वा परजीवीको संक्रमणका कारण हुन्छ । यो संक्रमणबाट कुनै उमेर अछुतो हुँदैन । तुलनात्मक रुपमा बालबालिकामा संक्रमणले छिट्टै असर गर्छ ।

विशेषगरी रोटा भाइरस झाडापखालाको प्रमुख कारण मानिन्छ, जसले साना बालबालिकालाई बढी प्रभावित गर्छ । उनीहरूको शरीरमा पानीको मात्रा कम हुन्छ ।  रोग प्रतिरोधी क्षमता पनि पूर्णरूपमा विकसित भइसकेको हुँदैन ।

उच्च तापक्रम र वर्षा भइरहने वातावरणमा ब्याक्टेरिया र भाइरसको वृद्धि तीव्र हुन्छ । खानेकुरा चाँडै बिग्रन्छ, पानीका स्रोतहरू दूषित हुन्छन् । यस्तोमा बालबालिकाले खेल्ने क्रममा वा खाना खाँदा हात वा पानी सफा नहुँदा यो रोगको जोखिम बढ्छ ।

गर्मीमा बढी सक्रिय हुन्छन् किटाणु

गर्मीमा झाडापखालाको प्रकोप बढ्नुको मुख्य कारण वातावरणीय परिवर्तन हो । तापक्रम बढ्दा खानेकुरा र पानीमा ब्याक्टेरिया, भाइरस र झिँगाको वृद्धि हुन्छ । खुल्ला ठाउँमा राखिएको खाना झिँगाले दूषित बनाउँछ ।

ग्रामीण क्षेत्रमा सफा पानीको अभाव र शौचालयको उचित व्यवस्थापन नहुँदा त्यहा फैलिएको जीवाणु र किटाणुको संक्रमणले महामारीको रूप लिन सक्छ । त्यसैले, गर्मीको समयमा विशेष सावधानी अपनाउनु जरुरी छ ।

गर्मीमा पसिनाका कारण शरीरमा पानीको कमी हुने र पर्याप्त पानी नपिउँदा डिहाइड्रेसनको जोखिम पनि बढ्छ।

लक्षण

सुरुवाती संकेत

-बच्चाहरूमा बारम्बार पातलो दिसा हुनु

– वान्ता हुनु

– पानी पिउन नचाहनु

– खानामा अरुचि

गम्भीर संकेत

– बच्चाको मुख, आँखा वा छाला सुख्खा देखिनु

– पिसाब कम हुनु वा नआउनु

– बच्चा सुस्त हुनु

– टाउकोकाे तालु धस्नु

– चिच्याएर रुनु

–  बेहोस हुनु

यस्तो गम्भीर अवस्थामा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुग्नुपर्छ । यी लक्षणहरू मध्ये दुई वा सोभन्दा बढी देखिएमा ढिलाइ गर्नुहुँदैन, किनभने डिहाइड्रेसनले बालबालिकाको ज्यानै लिन सक्छ ।

उपचार

झाडापखालाको उपचार समयमै सुरु गर्नु अत्यावश्यक छ । सबैभन्दा पहिलो र प्रभावकारी उपचार हो – ओआरएस (पुनर्जलिय उपचार) अर्थात् र जीवनजल पर्याप्त मात्रामा पिउनु । यो जीवनरक्षक पेय पदार्थ हो जसले शरीरमा हराएको पानी र लवणको मात्रा पूर्ति गर्छ ।

घरमा पुनर्जलिय उपचार सामाग्री बनाउने हाे भने एक लिटर उमालेर सेलाएकाे पानीमा ६ चम्चा चिनी र आधा चम्चा नुन मिसाउन सकिन्छ । बजारमा रेडिमेड ओआरएस पनि उपलब्ध हुन्छ, जुन स्वास्थ्य केन्द्रहरूमा निःशुल्क पाइन्छ । बच्चालाई बारम्बार सानो–सानो मात्रामा ओआरएस दिनुपर्छ ।

यसबाहेक, जिंक ट्याब्लेटको प्रयोग पनि झाडापखालाको उपचारमा प्रभावकारी छ । १४ दिनसम्म जिंक ट्याब्लेट खुवाउँदा पाचन प्रणाली सुध्रिन्छ र रोग पुनः बल्झिने सम्भावना कम हुन्छ ।

यदि बच्चामा गम्भीर डिहाइड्रेसनको लक्षण देखिन्छ भने अस्पतालमा सलाइन चढाउनुपर्ने हुन्छ । ब्याक्टेरियल संक्रमण पुष्टि भएमा मात्र चिकित्सकको सल्लाहमा एन्टिबायोटिक प्रयोग गरिन्छ । भाइरल झाडापखालाको उपचारमा प्रोबायोटिक्सले पनि सहयोग गर्छ ।

रोटा भाइरसको खोप

रोटा भाइरस झाडापखालाको प्रमुख कारण हो । यो भाइरसविरुद्धको खोप नेपालमा निःशुल्क उपलब्ध छ । ६ हप्तादेखि ६ महिनाको उमेरमा लगाइन्छ । यो खोपले झाडापखालाको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ।

त्यस्तै, दादुराको खोपले पनि झाडापखालासँग सम्बन्धित जटिलताहरूबाट बचाउँछ ।

झाडापखाला सम्बन्धी केही गलत धारणा

समाजमा झाडापखालाबारे केही गलत धारणाहरू छन्, जसले उपचारमा ढिलाइ गर्न सक्छ । कतिपयले ‘झाडापखाला तातोले हुन्छ, नुहाउँदा ठिक हुन्छ’ भन्ने विश्वास गर्छन् ।
यो गलत हो । झाडापखाला भाइरस वा ब्याक्टेरियाको कारणले हुन्छ र नुहाउँदैमा ठिक हुँदैन ।

अर्काे गलत भ्रम हो, ‘झाडापखालमा खाना बन्द गरेर पेट सफा गर्नुपर्छ ।’

झाडापखालामा बच्चालाई पोषणयुक्त खाना र तरल पदार्थ दिनु आवश्यक हुन्छ । यस्ता भ्रमहरुले बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, त्यसैले चिकित्सकको सल्लाह
लिनु उत्तम हुन्छ । सामान्य लक्षणमा जीवनजल पानी खुवाउँदा छिटै निको हुनसक्छ ।

जीवनजलले झाडापखाला रोक्ने मात्र होइन, यसले शरीरलाई ऊर्जा दिने पनि काम गर्छ । त्यसैले गर्मीयाममा शरीरलाई निर्जलीकरण हुन नदिन सामान्य व्यक्तिले पनि यसलाई ‘इनर्जी ड्रिंक’को रुपमा प्रयोग गर्न सक्छन् ।

झाडापखालाबाट कसरी बच्ने ?

झाडापखालाबाट बच्न सजिलो तर प्रभावकारी उपायहरू अपनाउन सकिन्छ ।

– सबैभन्दा महत्त्वपूर्ण कुरा हो

– सफा पानीको प्रयोग ।

–  उमालेको वा फिल्टर गरिएको पानी मात्र बच्चालाई पिउन दिनुपर्छ ।

– खाना बनाउन, खुवाउन वा खानुअघि साबुनपानीले हात राम्ररी धुनुपर्छ ।

–  खुल्ला ठाउँमा राखिएको वा झिँगाले बसेको खाना बच्चालाई दिनु हुँदैन ।

– फलफूल राम्ररी पखालेर मात्र खुवाउनुपर्छ ।

– बासी खाना वा फ्रिजमा राखिएको चिसो खाना राम्ररी तताएर मात्र बच्चालाई दिनुपर्छ ।

– आमाको दूध बालबालिकाका लागि पहिलो खोपजस्तै हो ।

– जीवनको पहिलो ६ महिनासम्म बच्चालाई केवल स्तनपान गराउनुपर्छ ।

– त्यसपछि पूरक आहार सुरु गरे पनि कम्तीमा दुई वर्षसम्म स्तनपान जारी राख्नुपर्छ ।

– रोटा भाइरसविरुद्धको खोप ६ हप्तादेखि ६ महिनाभित्र अनिवार्य लगाउनुपर्छ ।

यसबाहेक घर र शौचालयको सरसफाइमा ध्यान दिने, खुल्ला ठाउँमा दिसा नगर्ने र शौचालयको उचित प्रयोगले पनि झाडापखालाको जोखिम कम गर्छ ।

झाडापखला बालबालिका
डा. अरुण कुमार सिंह
लेखक
डा. अरुण कुमार सिंह
बालरोग विशेषज्ञ

एसोसिएट प्रोफेसर समेत रहेका डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बालबालिकालाई सबैभन्दा प्रभावित पार्ने झाडापखाला, कसरी बचाउने ?

बालबालिकालाई सबैभन्दा प्रभावित पार्ने झाडापखाला, कसरी बचाउने ?

गर्भावस्थाको चौथो महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको चौथो महिना, के गर्ने, के नगर्ने ?

कुन खाना कति समय राखेपछि सड्ने प्रक्रिया सुरु हुन्छ ?

कुन खाना कति समय राखेपछि सड्ने प्रक्रिया सुरु हुन्छ ?

उच्च जोखिम गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

उच्च जोखिम गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

गर्भावस्थाको पाँचौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पाँचौं महिना, के गर्ने, के नगर्ने ?

लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ? यसले के संकेत गर्छ ?

लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ? यसले के संकेत गर्छ ?