+
+

मनकामना केबलकार एकसाता बन्द हुने

रासस रासस
२०७७ पुष १३ गते ११:५७
फाइल तस्वीर

१३ पुस, मुग्लिन । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताए ।

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उनको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिए । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ । सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?