Comments Add Comment

असन्तुष्ट राइडरले गरे पठाओको कार्यालयमा तोडफोड

१३ पुस, काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।

उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।

उनीहरुको मागपछि कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लखाखको दुर्घटना बिमा पनि गर्ने घोषणा गरिसकेको छ । तर, कमिसन घटाउने लगायतका मागमा कम्पनी सहमत भएको छैन ।

पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए ।

त्यहाँ रहेका २६ जनालाई नियन्त्रणमा लिएर संलग्नहरुको स्क्रिनिङ भइरहेको उनले बताए ।

राइडरहरुले कारवाही स्वरुप निलम्बन गर्दा पहिल्यै जानकारी दिइनुपर्ने, कम्पनीको केयर सेन्टरको फोन टोल फ्रि हुनुपर्ने लगायतका माग पनि राखेका थिए ।
यो पनि पढ्नुहोस कम्पनी कमिसन घटाउन माग गर्दै पठाओ राइडरहरू आन्दोलनको तयारीमा

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment