
१३ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् ।
संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए ।
संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’
कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले भने, ‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ । त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’
अदालतको फैसला नआउँदासम्म संसद विघटनको विरोधमा आन्दोलन गरिराख्ने उनले बताए । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थप कार्यक्रम तय गर्न सक्ने तर, कांग्रेसले एक्लै आन्दोलन गर्ने देउवाले जानकारी दिए ।
प्रतिक्रिया 4