Comments Add Comment

देउवालाई भेट्दा चिनियाँ टोलीले पटकपटक सम्झियो बीपी कोइराला

देउवालाई चीन भ्रमणको निम्तो

१४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

भेटमा सहभागी कांग्रेसका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अनुसार चिनियाँ टोलीले नेपालका सबै पार्टीसँग मितेरीपूर्ण सम्बन्ध राख्ने बताएको थियो । सम्वादका क्रममा उनीहरुले कांग्रेस संस्थापक बीपी कोइरालालाई पटकपटक स्मरण गरेका थिए ।

पछिल्लो पटक हुम्लामा चीनले सीमा मिचेको भन्दै कांग्रेसले विरोध गरेको थियो । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले स्थलगत रिपोर्ट पेश गरेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र पठाएको थियो भने ग्लोबल टाइम्सले १० नोभेम्बरमा कांग्रेस भारत परस्त भएको र उसलै सीमा मिचेको अफवाह फैलाएको दाबी गरेको थियो ।

२८ कात्तिकमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ग्लोबल टाइम्सको समाचारको मात्र खण्डन गरेन, चिनियाँ दूतावासले पत्र लेखेर लगाएको आरोप आधारहीन र मैत्रीपूर्ण स्म्बन्धको गरिमा विपरीत भएको ठहर गरेको थियो । यो विवादका बेला नेपाल आएका चिनियाँ रक्षामन्त्रीले कांग्रेस नेताहरुसँग भेट समेत गरेका थिएनन् ।

तर सत्तारुढ नेकपामा फुट आएलगतै आएको चिनियाँ टोलीले देउवालाई भेट्नुका साथै सीमा विवादबारे सांकेतिक रुपमा बोलेका छन् । भट्टराईका अनुसार चिनियाँ टोलीले कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धबारे चर्चा गर्ने क्रममा नेपाल–चीन सीमासम्बन्धी प्रोटोकलको आधारशीला कांग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री बीपीकै पालामा तयार भएको बताएका थिए ।

कांग्रेस नेताहरुले ग्लोबल टाइम्सको पछिल्लो खबरतर्फ इंगित गर्दै चिनियाँ सञ्चारमाध्यममा आएको विषय उठाएका थिए । ‘उहाँहरुले कहिलेकाहीँ असमझदारी हुनसक्छ, यसलाई सम्वादबाट हल गर्न सकिन्छ भन्नुभएको छ,’ भट्टराईले भने ।

भट्टराईका अनुसार चिनियाँ टोलीले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा हुने कार्यक्रमका लागि देउवालाई निम्तोसमेत दिएको छ । ‘तपाईंले चीनको भ्रमण नगर्नु भएको पनि धेरै भएको छ । यसपटक जसरी पनि आउनुपर्छ भन्ने उहाँहरुको जोड थियो,’ भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment