Comments Add Comment

बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विन्सिङ अन्यौलमा

१४ पुस, काठमाडौंं । बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको संक्रमण देखिएको हो की भन्ने आशंका गरिएको छ । तर, जिन सिक्विन्सिङ नगरिकन भाइरसको स्वरुप थाहा नपाइने भएकाले त्यसबारे निर्क्यौल गर्न समय लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

जिन सिक्विनिङको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ । तर, त्यसका लागि कुनै निर्णय भइनसकेको प्रयोशालाकी निर्देशक डा. रुणा झा बताउँछिन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्विनिङको लागि आवश्यक पुर्वाधार नभएकाले तत्कालै सिक्विनिङ गर्न सम्भवन नभएको हो । ‘जिन सिक्विनिङको लागि के गर्ने भनेर डब्लुएचओसँग छलफल गरिरहेका छौं तर, कुनै निष्कर्ष निकालिएको छैन’, उनले भनिन्, ‘गर्ने कि नगर्ने र गर्दा कहाँ गर्ने भन्ने विषयमा छलफलमा जारी छ ।’

यसअघि सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालसँग सहकार्य गरेर राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) गत अगस्टमा जिन सिक्विनिङ अध्ययन गरेको थियो । त्यसवेलाको अध्ययनले नेपालमा देखिएको कोरोना भाइरसको प्रकृति भारतमा देखिएकोसँग मिल्दोजल्दो भएको देखाएको थियो ।

अहिले पनि आफ्नो प्रयोगशालामा जिन सिक्विनिङ गर्न सकिने सिएमडिएनका निर्देशक डा. समिरमणि दिक्षित बताउँछन् । ‘हामीलाई जिन सिक्विनिङ गर्न प्रस्ताव आएको छैन, आए नतिजा दिन तयार छौं’, डाक्टर दिक्षितले भने, ‘हामीसँग रिएजेण्ट र जनशक्ति सबै छ ।’

पुस महिनामा बेलायतबाट आएका १९३ जना नै क्वारेन्टिनमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डे बताउँछन् । उनीहरुमध्ये कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ ।

पाण्डेका अनुसार मंगलबार मात्रै बेलायतबाट फर्किएका १४ जनाको कोभिड परीक्षण गरिएको थियो, जसमध्ये १२ जनाको नेगेटिभ आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी छ । ‘अहिले कसैलाई पनि लक्षण देखिएको छैन, तैपनि बेलायतबाट आएकाले हामी परीक्षण गर्छौँ’, डाक्टर पाण्डेले भने, ‘हामीले क्वारेन्टिनमा बसेका सबैलाई स्वास्थ्यमा समस्या आए खबर गर्न भनेका छौँ ।’

नयाँ किसिमको कोरोना भाइरस प्रवेश गरेको खण्डमा सतर्क हुपर्ने भएपनि अत्तालिनु नपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । ‘कोरोना भाइरसको नयाँ स्वरुप बेलायतमा मात्र होइन, अन्य देशमा अनेक स्वरुपमा पनि हुनसक्छ’, भाइरोलोजिस्ट समेत रहेका डाक्टर दिक्षित भन्छन्, ‘यो अन्य नयाँ भाइरस नभएर कोरोनाकै अर्को स्वरुप हो, त्यसैले धेरै अत्तालिनु पर्दैन ।’

उनका अनुसार कोरोना भाइरस फैलिएको लामो समय भएकाले नयाँ स्वरुपमा परिवर्तन हुनु सामान्य जस्तै हो । बेलायतमा देखिएको भन्दा फरक किसिमको स्वरुपमा देखिए पनि अनौठो नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘भाइरसहरुले रुप परिवर्तन गर्‍यो भन्दैमा अत्तालिनु जरुरी छैन तर सतर्क भने रहनुपर्छ ।’

डाक्टर दिक्षितले भनेझैँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पनि नयाँ स्वरुपको यो भाइरस छिटो फैलिने बताएपनि यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा केही भनिसकेको छैन ।

सीडीसीको ‘इम्पिलेकेसन्स अफ इमरजिङ सार्स कोभिड टु भेरियन्ट’ नामक अध्ययनले भाइरसमा देखिएको संरचनामा परिवर्तन (म्युटेशन) भएसँगै यो नयाँ प्रकारको कोरोना भाइरस छिटो फैलिने थाहा भएको हो ।

संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी पनि लामो समयसम्म महामारी फैलिएपछि भाइरसले संरचना परिवर्तन गर्नु सामान्य जस्तै रहेको बताउँछन् । नेपालमा पनि भाइरसले रुप परिवर्तन गरेको हुनसक्ने उनको आशंका छ । भन्छन्, ‘बेलायतमा देखिएको भन्दा नयाँ स्वरुपको भाइरस पनि देखिन सक्छ, त्यसैले जिन सिक्विनिङ गर्न तत्काल आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment