Comments Add Comment

१३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएकी ज्योत्सनिका

१५ पुस, काठमाडौं । लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित लमही क्रिकेट मैदानमा अहिले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ ।

अहिलेसम्म समूह ए को खेल समाप्त भइसकेको छ भने समूह बी को पनि २ खेल सकिएको छ । मंगलबार भएको समूह बी को पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई सहजै ५९ रनले पराजित गर्‍यो ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि गण्डकीले ब्याटिङ राम्रो गर्न नसक्दा पराजित हुन पुग्यो । उक्त खेलको नतिजा भन्दा पनि गण्डकी प्रदेशकी एक खेलाडीले सबैको ध्यान तान्यो । १३ वर्षको उमेरमै राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेपछि गण्डकीकी ज्योत्सनिका मरासिनीको चर्चा एकाएक बढेको छ । उनले आफूभन्दा दोब्बर बढी उमेरका दिदीहरु विरुद्ध क्रिकेट खेल्दै धेरै चर्चा बटुलिन् ।

उनलाई चर्चित बनाउने विषय उनको उमेर मात्र नभएर उनले मैदानमा गरेको प्रदर्शन पनि थियो । बलिङमा ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर १ विकेट लिएकी ज्योत्सनिकाले ब्याटिङमा अविजित ६ रन बनाइन् ।

खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सर्वाधिक २७ रन बनाउँदै वुमन् अफ म्याच चुनिएकी रेवती धामीको विकेट उनै ज्योत्सनिकाले लिएकी थिइन् ।

रेवतीले सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाउँदै इनिङ्स अगाडि बढाइरहेकी थिइन् । मञ्जु बोगटी, कविता कुँवर, डली भट्टजस्ता खेलाडीहरु आउट हुँदा पनि रेवतीले एक छेउबाट इनिङ्स सम्हालिरहेकी थिइन् ।

सातौं बलरको रुपमा बलिङ गरेकी ज्योत्सनिकाले १४ औं ओभरको अन्तिम बलमा उनै रेवतीलाई विकेटकिपर सोनिया थापाबाट क्याचआउट गराइन् । उनले ३ ओभर बलिङ गर्दा ११ बल डट राखेकी थिइन् भने कुनै बाउण्ड्री पनि दिइनन् ।

यस्तै सातौं नम्बरमै ब्याटिङ गरेकी उनले १४ बल खेल्दै अविजित ६ रन बनाइन् । गण्डकीका लागि सृष्टि पौडेलले मात्र ज्योत्सनिकाले भन्दा बढी रन बनाएकी थिइन् ।

गण्डकीले ३० ओभरमा ६ विकेट गुमाएर ४८ रन मात्र बनाएपछि सुदूरपश्चिमले सहजै खेल जित्यो । तर १३ वर्षीया यी किशोरी खेलाडीले भने धेरैको मन जितिन् । चर्चित लेगस्पिनर सन्दीप लामिछानेले समेत सामाजिक सञ्जालमा ज्योत्सनिकाको प्रशंसा गरेका छन् ।

धेरैले उनलाई नेपाली महिला क्रिकेटको भविष्य भनेका छन् । यस्ता खेलाडीहरुलाई अझ खेल्ने अवसर दिए नेपाली महिला क्रिकेटको भविष्य पनि राम्रो हुने उनीहरुको प्रतिक्रिया छ ।

खेलपछि प्रतिक्रिया दिँदै उनले आफ्नो प्रदर्शनबाट खुशी भएको बताइन् । अनुभवी खेलाडीसंग खेल्दा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा ज्योत्सनिकाले भनिन्,’राम्रो अनुभव भइरहेको छ । मलाई दिदीहरुले धेरै सपोर्ट गरिरहनुभएको छ । धेरै खुशी छु ।’

उनले घरमा पनि सबैले खेल्नमा सहयोग गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment