Comments Add Comment

फिल्मी कलाकार खेल्दा बढ्यो लोकदोहोरी भिडियोको बजेट

केही बर्ष अघिसम्म नेपाली चलचित्रमा काम गर्ने कलाकारहरु लोकगीत भनेपछि नाक खुम्च्याउथे । लोकगीतको भिडियोमा काम गर्नका लागि आएको अफर उनीहरुले ठाडै अस्विकार गर्ने गरेका थिए । तर, समय बदलियो ।

चलचित्रका गीतमा पनि लोकगीत पर्यावाची जस्तै बन्यो । दीपकराज गिरी, अनमोल केसी, निखिल उप्रेती, पल शाह जस्ता कलाकारले अभिनय गरेको चलचित्रमा पनि लोकगीत पर्यावाची बनेको छ । यसैले पनि चलचित्रका कलाकारहरुमा लोकगीतप्रतिको मोह बढेको पाइन्छ ।

अझ, लकडाउनपछि त चलचित्रको काम नै ठप्प हुँदा कामविहिन भएका धेरै चलचित्रका अनुहारहरुका लागि लोकगीतको भिडियो आम्दानीको मुख्य श्रोत बनेको छ । यसैले त होला, नायक राजेश हमाल, पल शाह, दिलिप रायमाझी, पुष्प खड्कादेखि केकी अधिकारी, वर्षा सिवाकोटी जस्ता चलचित्रका कलाकारले लोकगीतमा निर्धक्क काम गरिरहेका छन् ।

लकडाउनयता लोकदोहोरी गीतको निर्माण कमी आएपनि निर्देशक, कलाकार, प्राविधिकको व्यस्तता भने लोभलाग्दो छ । तर, चलचित्रका कलाकारले अभिनय गर्दा लोकगीतको बजेट पनि पहिलेको तुलनामा डबल भएको पाइन्छ ।

लोकदोहोरी गीतको भिडियोमा निर्माणमा व्यस्त रहेका निर्देशक काजिश श्रेष्ठ भन्छन्–‘फिल्ममा राम्रो क्रेज बनाएका कलाकारहरुले अहिले निरन्तर लोकदोहोरी भिडियोमा काम गरिरहेका छन् । उनीहरु लोकदोहारी प्रेमी बनेका छन् ।’ काजिशको जस्तै तर्क अर्का सफल भिडियो निर्देशक प्रकाश भट्टको पनि छ । उनले, चलचित्रका कलाकारको आकर्षण लोकदोहोरी भिडियोमा बढेको बताए ।

महंगो पारिश्रमिक मुख्य कारण
लोकदोहोरी गीतमा चलचित्रका कलाकारको आकर्षण बढ्नुको पछाडि केही कारण छन् । जसमा पहिलो कारण त पारिश्रमिक नै हो । चलचित्रमा काम नभएको समयमा कलाकारहरुले मागेकै पारिश्रमिक पाउने भएपछि दोहोरीमा काम गरेका हुन् । भिडियो निर्देशक प्रकाश भट्टले अनलाइनखबरसँग भने–‘बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि लगानीकर्ताले दिल खोलेर खर्च गरेका छन् । जसलेगर्दा, दोहोरी गीतको भिडियो पनि स्तरिय बन्न थालेका छन् । अर्कोतिर, चलचित्रका धेरै कलाकार खाली हुँदा लोकदोहारीमा काम गरिरहेका हुन् । मुख्यकुरा, त पारिश्रमिक नै हो ।’

प्रकाशले गीतसंगीतलाई चलचित्र, आधुनिक, लोकदोहोरी भनेर बर्गीकरण गर्नु नै गलत भएको बताए । हरेक गीतमा लोकभाका नै प्रयोग हुने भएकाले पनि सबै गीतसंगीतलाई एउटै दृष्टिकोणले हेर्नुपर्ने तर्क प्रकाशको छ ।

यस्तै, निर्देशक काजिश श्रेष्ठ लोकगीतको भिडियोमा चलचित्रका मात्र नभएर आधुनिक गीतका भिडियोमा नाम चलेका कलाकार पनि देखिन थालेको बताउँछन् ।

कलाकारकै कारण लगानी बढ्यो !

लोकदोहोरी भिडियोको औषत लगानी ३ देखि ५ लाख रहेको निर्देशकहरु बताउँछन् । ५ लाख रुपैयाँसम्ममा राम्रो भिडियो तयार हुन्छ । तर, पछिल्लो समय भने लोकदोहोरी भिडियोको लगानी ह्वात्तै बढेको छ ।
भिडियो निर्देशकहरुको भनाईलाई मान्ने हो भने चलचित्रका चलेका कलाकारहरुले लोकदोहोरी भिडियोमा अभिनय गरेको एक लाख बढी पारिश्रमिक लिन्छन् ।

कलाकारको पारिश्रमिककै कारण लोकदोहोरी भिडियोमा लगानी ५ देखि १०–१२ लाखसम्म हुने गरेको छ ।

निर्देशक काजिश श्रेष्ठले ‘सल्लैको धुप राम्रो’ बोलको लोकदोहोरी गीतमा ८ लाख रुपैयाँ लगानी भएको बताए । यो भिडियोमा नायक राजेश हमाल, मोडल दुर्गेश थापा, गरिमा शर्मा लगायतको अभिनय छ । तर, यो भिडियोलाई हेर्ने दर्शकको संख्या ७ लाख वरिपरी छ । यसैले पनि निर्माताले गीतको भिडियोमा गरेको महंगो लगानी बालुवामा पानी भएको छ ।

निर्देशक काजिश श्रेष्ठले आफूले लकडाउनपछि १० लाखसम्मको बजेटका भिडियोमा काम गरेको बताए । यस्तै, अर्का दोहोरी भिडियो निर्देशक शिव विक ३ देखि ५ लाखसम्म लोकदोहोरी भिडियो बन्ने भएतापनि अहिले लगानी बढेर १५ लाखसम्म पुगेको बताउँछन् ।

फेरिए मोडल
लोकदोहोरी गीतमा केही समय अघिसम्म अञ्जली अधिकारी, करिष्मा ढकाल लगायतका मोडलको माग बढी थियो । तर, अहिले चलचित्रका कलाकारको आकर्षण बढ्नु, टिकटकबाट आएका प्रतिभाहरुले पनि स्थान पाउनु आदि कारणले उनीहरुको एक छत्र राज भने तोडिएको छ । पुरुष मोडलहरुमा प्रकाश सपुत, दुर्गेस थापा, विमल अधिकारी लगायतको माग बढेको छ । तर, यी मोडलहरुले खेलेका भिडियोले पनि भ्यूज नपाएर निर्माताले लामो सुस्केरा हालेर बस्नु परेको अवस्था भने छ ।

लगानी उठाउनै सकस
गीतसंगीतको अडियो बलियो नभएसम्म गीत चल्दैन । भिडियोमा जती खर्च गरेपनि कमजोर अडियोको धरातलमा टेकेर लगानी उठाउँछु भनेर सोच्नु, असंभव जस्तै हो । यसैले पनि कुनै पनि गीतसंगीतको अडियोमा सर्जकले मिहिनेत गर्न आवश्यक छ ।

तर, हिजोआज केही दिन भाइरल हुने, टिकटकमा चल्ने खालका गीत खोज्दै लगानीकर्ता हिड्न थालेपछि गीतसंगीतको स्तरमा त ह्यास आएको छ नै, गीतसंगीत पनि खहरे खोला जस्तै भएका छन् । यो कुरा भिडियो निर्देशकहरु पनि स्विकार गर्छन् ।

भिडियो निर्देशक भट्ट भन्छन्–‘एक वा दुई वटा बाहेक अरु भिडियोको लगानी फिर्ता भएजस्तो लाग्दैन । बरु भाइरल भएका बच्चाहरुले गाएको गीतबाट लगानी उठेको छ । मौलिक गीतहरुबाट लगानी उठेको होला । तर, प्रतिस्पर्धामा जाने भिडियो, फिल्मी पारामा बनाईएको भिडियोबाट लगानी उठेको जस्तो लाग्दैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment