Comments Add Comment

चित्र र शब्दको नौलो प्रयोग : ‘हाम्रा कवि र साहित्यकार’

काठमाडौं । चित्रकार सुरेश कुमार द्यःलाले बनाएका विभिन्न साहित्यकारका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरू समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता संग्रह प्रकाशित भएको छ । यस संग्रहमा भानुभक्तदेखि सरूभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरू छन् ।

साहित्यकारका सिर्जनामा पाइने भाव र उनीहरूका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमारलाई लाग्छ । त्यसै अनुरूप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए । मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्रमाथि कविता नै लेखे । तिनै चित्र र कविताहरू यस पुस्तकमा हेर्न र पढ्न पाइन्छ । संग्रहमा भानुभक्त आचार्यदेखि सरूभक्त र स्वयम् कवि मञ्जुल लगायत ५५ कवि तथा साहित्यकारहरू समेटिएका छन् ।

पुस्तकको एकातिर उदास आखाँभित्र विद्रोह बोकेकी पारिजातको विशिष्ट मुहारचित्र हेर्दै अर्कोपट्टि यही मुहारचित्रमा आधारित ‘माथि शैलुङमा’ कविता पढ्दा पाठकहरूलाई कला समिश्रणको नौलो अनुभव जस्तो लाग्छ । यसरी बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलाहरूलाई हेर्दै पढ्दै गरिरहँदाको अनुभूति सिनेमाजस्तो लाग्छ ।

पुस्तकमा चित्र र शब्दको प्रयोग गरेर कलाको रोचक प्रयोग गरिएको छ । ‘हाम्रा कवि र साहित्यकार’ कवि र चित्रकारको संगमले नयाँ आयाम ल्याउन सक्दोरहेछ भन्ने उदाहरण दिने पुस्तक बनेको छ । नेपाली साहित्यका उहिलेदेखि अहिलेसम्मका कवि र साहित्यकारसँग परिचय गराउने यस किताबको मूल्य २ सय ७५ रूपैयाँ तोकिएको छ । पुस्तक ‘वी रिड’ प्रकाशनले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment