Comments Add Comment

हाइकिङ : घ्याम्पेडाँडाबाट रानीकोट उक्लिँदाको मस्ति

एकसाथ तीन धार्मिक गन्तब्यको यात्रा

१७ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको माहोल छ । घुमघाम गर्ने र रमाउने बहाना खोजीरहेकाहरुका लागि यो एउटा राम्रो मौका पनि हो । तपाईं पनि भोलीको शनिबार घुमघाममा बिताउने मुडमा हुनुहुन्छ भने यसपाली घ्याम्पेडाँडातिर पो बरालिने कि ?

भक्तपुरमा पर्ने घ्याम्पेडाँडा काठमाडौंवासीका लागि परिचित गन्तब्य हो । यहाँबाट करीव एक घण्टाको उकालो चढेपछि पुगिन्छ रानीकोट । रानीकोट भक्तपुरको गुण्डु र सिपाडोलका साथै काभ्रेको ¥यालेले छोएको क्षेत्र हो । शहरबाट निकै नजिक भए पनि २१ सय मिटर अग्लो यो चुचुरोको यात्रा सम्झनलायक बन्न सक्छ ।

पछिल्लो समय घ्याम्पेडाँडामा जीपलाइनसमेत निर्माणाधिन अवस्थामा छ । यसले यो गन्तब्यमा आकर्षण थप्ने छ । पिकनिक स्पटका रुपमा परिचित घ्याम्पेडाँडामा पछिल्लो समय होटेल व्यवसायी समेत आकर्षित भइरहेका छन् । स्तरीय रिसोर्टहरु खुलेका छन् ।

घ्याम्पेडाँडा नजिकै रहेको पाइलट बाबाको आश्रमले पनि यो गन्तव्यको महत्व बढाएको छ । रानीकोट एकसाथ तीन धार्मिक गन्तब्यको यात्रा गर्न सकिने स्थान हो । सूर्यविनायक मन्दिरको दर्शन गरी उकालो लागेपछि पाइलटबाबाको आश्रममा पुग्न सकिन्छ । सूर्यविनायक हुँदै डोलेश्वर महादेवको दर्शन गरी घ्याम्पेडाँडा निस्कन पनि सकिन्छ ।

कसरी पुग्ने ?

रानीकोट पुग्न सजिलो रुट भनेको सूर्यविनायक मन्दिरलाई दायाँ पारेर खनिएको मोटरबाटो पछ्याउनु हो । घना जंगलले घेरिएको यो बाटो कालोपत्रे भएको छ ।

सार्वजनिक सवारीबाट जाने हो भने सूर्यविनायक चोकमा झरेर सूर्यविनायक मन्दिर पछ्याउँदै जानुहोस । समय छ भने मन्दिर दर्शन पनि गर्नुहोस । भीडभाड नहुने समयमा मन्दिर दर्शनका लागि बढीमा आधा घण्टा छुट्याउँदा पर्याप्त हुन्छ ।

मन्दिर दर्शनपछि मोटरबाटो पछ्याउँदै उकालो लाग्न सक्नुहुन्छ । तर, अहिले यो बाटोमा धेरै सवारी गुड्छन् । बत्तिएर तिब्र गतिमा मोटरसाइकल चलाउने युवाहरुका कारण पैदलयात्रामा सावधानी अपनाउनुपर्छ ।

निजी सवारी साथमा छ भने घ्याम्पेडाँडासम्म त्यसमै पुग्न सकिन्छ । उकालो र घुमाउरो भएपनि यहाँ सजिलै बसहरुसमेत जाने गर्छन् । घ्याम्पेडाँडा पिकनिक स्पट हो । तर, व्यवस्थित नभएका कारण यो डाँडा फोहोर र कुरुप बन्दै गएको छ । घ्याम्पेडाँडामा एक उपयुक्त स्थान हेरि सवारी पार्किङ गर्न सकिन्छ । त्यसपछि रानीकोटको उकालो चढ्नुपर्छ । सूर्यविनायकदेखि घ्याम्पेडाँडासम्मको बाटो ४ किलोमिटर लामो छ । पैदल यात्रुलाई डेढ घण्टासम्म लाग्न सक्छ ।

जाँदाजाँदा बाटोमै पर्ने पाइलट बाबाको आश्रम छिर्न नर्बिसनुहोस । दृष्यावलोकनका लागि यो स्थान निकै उपयुक्त छ । घ्याम्पेडाँडाबाट रानीकोटको दुरी ३ किलोमिटर हो । घ्याम्पेडाँडामा सवारी राख्नेले त्यति मात्र पैदया यात्रा गरी रानीकोट पुग्न सक्छन् । सूर्यविनायकबाटै हिँड्नेका लागि भने यो हाइकिङका लागि पर्याप्त हुन्छ ।

लाकुरी भञ्ज्याङ चढेर रानीकोट हुँदै सूर्यविनायक झर्न सकिने रुटसमेत छ । तर, त्यो रुट लामो हुन सक्छ । लाकुरी भञ्ज्याङबाट रानीकोट डाँडैडाँडा मोटरसाइकल मात्र गुडाउन मिल्ने बाटो पनि छ । तर, अलि जोखिमपूर्ण हुन सक्छ ।

यो रुटमा सकभर पैदल हिँड्दा नै उपयुक्त हुन्छ । त्यसो त भक्तपुरको डोलेश्वर मन्दिर दर्शन गरी रानीकोट उकालो लाग्न समेत सकिन्छ । पदयात्राका दौरान मृग, बँदेल, कालिज देखिन सक्छ ।

खानपिनको योजना

रानीकोटमा पछिल्लो समय स्तरीय रिर्सोटहरु खुलेका छन् । तपाई आफ्नो बजेट हेरेर खानपिन योजना बनाउनुहोस । सामान्यतया घरमै खानेकुरा बनाएर परिवारका साथ दिनभर यात्रामा रमाउन सकिन्छ ।

एक रात बिताएरै फर्कन चाहनुहुन्छ भने पनि यहाँ रिसोर्टहरु खुलेका छन् । यहाँबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, चोयूसहित विभिन्न हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर शहरलाई नियाल्नसमेत यो डाँडा उपयुक्त छ । पछिल्लो समय घ्याम्पेडाँडादेखि नै रिर्सोटहरु खुलेका कारण यहाँ पाहुनाले पर्याप्त सेवा सुविधा पाउँछन् ।

रानीकोटमै भ्यूटावरबाट दृष्यावलोकन गर्न सकिने बाहेक यहाँ अन्य मानव निर्मित संरचना भने छैनन् । यो रुटको यात्राको मजा नै घना जंगल, चराचुरुंगीको चिरबीर र राजधानी शहरको दृष्यावलोकन हो ।

यात्राका दौरान काभ्रेको ¥याले क्षेत्रतिर निस्कनु भयो भने लोकल तरकारी किन्ने मौका मिल्न सक्छ । सम्भव भयो भने सिधै किसानको बारीबाट तरकारी किनेर ल्याउनुहोस, किसानले पनि उब्जनीको उचित मूल्य पाउनेछन् ।

रानीकोट यात्रामा थप एक प्रडक्ट जीपलाइन समेत थपिने क्रममा रहेको छ । रानीकोटगढी हावाघरमा माथिल्लो स्टेशन र पाइलटबाबा आश्रम पछाडीको नयाँ गाउँमा तल्लो स्टेशन रहने गरी यहाँ जीपलाइन निर्माण गरिएको छ ।

सञ्चालनमा भने आइसकेको छैन । जीपलाइन सञ्चालनमा आइसकेपछि रानीकोट पैदल यात्रा सकाएर झर्दा जीपलाइनको मज्जा लिन सकिन्छ ।

टिप्स

· चिसोमा जंगलको बाटो हिड्नुपर्ने हुँदा न्यायो कपडा लगाउनुहोस

· घरमा तताएको पानी आफैले बोक्नु राम्रो, नत्र मिनरल वाटर बोक्नु होस

· यो गन्तब्य परिवार (बालबालिका समेत)का साथ जाँदा पनि उपयुक्त छ । पारिवारिक गन्तब्यका रुपमा रमाउन सक्नु हुन्छ

· घ्याम्पेडाँडा पिकनिक स्पट हो । अलिबढी भिडभाड हुन्छ, अहिले त चर्को संगीतले ध्वनी प्रदुषण समेत हुन सक्छ । तर, रानीकोट डाँडामा तपाईले शान्ती भेटाउनु हुन्छ ।

· रानीकोट उकालो चढ्न सिँढी बनाइएको छ । झर्दा सजिलोका लागि लेक्ने लठ्ठी प्रयोग गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment