१७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा चितवन र मकवानपुरले जित हात पारेका छन् ।
शुक्रबार भएको समूह बी को खेलमा चितवनले ललितपुरलाई १ विकेटले र समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको छ प्र।
चितवनको रोमाञ्चक जित
प्रतीक श्रेष्ठ र गौतम केसीले नवौं विकेटका लागि ७६ रनको साझेदारी गरेपछि चितवनले ललितपुर विरुद्ध १ विकेटको रोमाञ्चक जित हात पारेको हो । उनीहरु दुबैले अर्धशतक प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । ललितपुरका विवेक थापा मगरले सर्वाधिक ४५ रन बनाए भने विपिन आचार्यले ३५ रन जोडे ।
अघिल्लो दिन त्रिविविरुद्ध दोहोरो शतक प्रहार गरेका आदिल खान २१ रन बनाएर आउट भए । बलिङमा चितवनका दीपेश श्रेष्ठले ३ विकेट लिए ।
१९७ रनको लक्ष्य पछ्याएको चितवनले ३७.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । चितवनका लागि प्रतीक श्रेष्ठले अविजित रहँदै सर्वाधिक ५७ रन बनाए । यस्तै दशौँ नम्बरमा ब्याटिङ गरेका गौतम केसीले आक्रामक ब्याटिङ गर्दै ५५ रन योगदान गरे । उनले २६ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे । ओपनर आकाश थापाले ४० रन जोडे ।
बलिङमा ललितपुरका सुमित झा र विपिन आचार्यले ३-३ विकेट लिए । समूह बी मा दुई खेल खेलिसकेको ललितपुरले एक जित र एक हारपछि २ अंक जोडेको छ ।
मकवानपुरको फराकिलो जित
शुक्रबारै मुलपानी क्रिकेट मैदानमा भएको समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो ।
मकवानपुरका लागि गौरब खड्काले सर्वाधिक ६० रन बनाए । यस्तै ओपनर बिशाल फुयालले ५४ र कप्तान रामनरेश गिरीले ४४ रन जोडे । बलिङमा नुवाकोटका अभिराज यादव, साकार रावत र अनुप श्रेष्ठले समान २ विकेट लिए ।
२६९ रनको लक्ष्य पछ्याएको नुवाकोटले २१.५ ओभरमा सबै विकेट गुमाएर ५५ रनमै अलआउट भयो । नुवाकोटका कप्तान राजेश रिमालले १५ र प्रमोद रेग्मीले ११ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ५ खेलाडी खाता नखोली आउट भए ।
नुवाकोटलाई सस्तैमा आउट गर्न मकवानपुरका लागि सुवर्न भट्ट र पियुष शर्माले ३-३ विकेट लिए । यस्तै रिजल ढकाल र कप्तान रामनरेश गिरीले समान २ विकेट लिए ।
प्रतिक्रिया 4