Comments Add Comment

न्याय माग्दै नवराज विकका बा–आमा काठमाडौंमा

१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् ।

जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए ।

यो पनि पढ्नुहोस इतिहासकै क्रूर जातीय नरसंहारको इतिवृत्तान्त

उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।

हत्याको घटनामा संलग्नलाई एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न काठमाडौं आइपुगेको नवराजकी आमा उर्मिलाले बताइन् । विहीबार साँझ काठमाडौं आएका उनीहरुले शुक्रबार विहान माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । मृतकका अभिभावकले रुँदै आफूहरुलाई न्याय दिनका लागि बिलौना गरेका थिए ।

नवराजका बुवा मुनलालले भने, ‘के हामीले पनि उनीहरुलाई गएर मारौँ अनि धरौटीमा निस्कौँ ? त्यस्तो गर्न मिल्छ ?’ मृतक परिवारका अभिभावकले सबै जना आफ्नो पक्षमा लडिरहेकाले न्यायको आशा चाहिँ बाँकी रहेको बताए ।

सर्वोच्चमा प्रतिवादीको निवेदन

थुनामा रहेका १७ जना प्रतिवादीले आफूलाई रिहाइ गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आफूहरुलाई रिहाइ गरेर कानुनी कारवाही अगाडि बढाइयोस् भन्दै सर्वोच्चमा निवेदन परेको हो ।

उच्च अदालतमा बाझिएको मतको विषयमा शुक्रबारलाई पेसी तोकिए पनि प्रतिवादीको निवदनको विषयमा पनि सँगै सुनुवाइ हुने सर्वोच्चले बताएपछि बहस सरेको अधिवक्ता त्रिलोकचन्द्र विश्वास विकेले बताए । थुनामा रहेका अन्य ११ जनाका निवेदन पनि आइसकेपछि बहस हुने सर्वोच्चलाई उदृत गर्दै विकेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment