Comments Add Comment

लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा

उपाधिका लागि एपीएफसँग खेल्ने

१८ पुस, दाङ । घरेलु टोली लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दाङको लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा विभागीय टोली एपीएफसंग उपाधि भेट पक्का गरेको हो । शनिबारै भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

लमही क्रिकेट मैदानमा लुम्बिनीले  दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८.५ ओभर खेल्दै बिना क्षति पूरा गर्‍यो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले अविजित २६ रन बनाइन् भने काजल श्रेष्ठ २२ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४.१ ओभरमा ५२ रन जोड्दा सबै विकेट गुमाएको थियो । लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

संगिता राई र निग्मा तामाङले २-२ तथा कप्तान रुविना क्षेत्रीले १ विकेट लिइन् ।

प्रतियोगिताको उपाधिका लागि आइतबार एपीएफ र प्रदेश १ बीच फाइनल खेल हुनेछ । विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उप -विजेताले ३ लाख पाउनेछन् । सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् ।

यस्तै  सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment